सदस्यसँग ‘पैँचो’ माग्दै सहकारी

सिर्जना पन्त, बागलुङ

सहकारीले समुह मार्फत घर–घरमा आफुले उपभोग गरेर बचेको वस्तु बेच्नुपर्छ भनेर अभियान थालेपछि रायडाँडा गाउँमा नुन, तेल र चिनी चियापत्ती खान पुग्ने पैसा करेसाबारीबाटै प्राप्त हुन थालेको छ ।

हरेक सहकारी सदस्यमैत्री बन्नुपर्छ । सदस्यहरुको सुख दुःखको साथी बन्नुपर्छ । संंकटमा साथ दिने, अप्ठ्यारो अवस्थामा हात दिने र समस्याको जंघारहरु तार्ने । अनि सहकारीका सदस्यहरु पनि समुदाय प्रति उत्तिकै जिम्मेवार र उत्तरदायी बन्नुपर्छ । यसको सुरुवाती ऐतिहासिक पृष्ठभुमी खोज्यौ भने पनि यस्तै भावना, मर्म र आवश्यकताको गठजोडबाट सहकारी जन्मिएको पाइन्छ ।

तर, आजको दिनमा पनि सहकारीहरुका बारेमा गुनासो र आलोचना सुनिन्छ–‘सहकारी संस्था सहकारीको मुल्य मान्यता अनुसार चलेनन्, सहकारीको मर्म अनुसार काम गरेनन्, यो गुनासो समय समयमा सहकारीका अभियान्ताहरुलेनै भन्ने गर्छन् ।’ हुन पनि कृषि, सूचना, सञ्चार, बहुउद्देश्यीय र दुग्ध भनेर दर्ता भएका अधिकाशं सहकारीहरु बचत र ऋणको कारोबारमा मात्र सिमित रहेका उदाहरण प्रशस्त छन् ।

यस्तै, सहकारीको भिडमा दुई वर्ष पहिले मात्र बागलुङ नगरपालिकामा दर्ता भइ सञ्चालनमा आएको जैविक सहकारी संस्थाले आफ्ना सदस्यहरुको लागि मात्र होइन, समुदाय स्तरमा केही फरक हिसावले काम गरिरहेको छ । २०७५ साल मंसिरमा दर्ता भएको सहकारीमा अहिले ४ सय १८ जना सेयर सदस्य छन् । बागलुङ नगरपालिका कार्यक्षेत्र रहेको सहकारीको मुख्य कार्यालय बागलुङ नगरपालिका–११ रायडाँडामा छ ।

सहकारीले रायडाँडामा एउटा बाख्रा फर्म सञ्चालनमा ल्याएको छ । अहिले फर्ममा खरिजातका ३२ वटा बाख्रा छन् । सहकारीको कार्यालयमै संकलन केन्द्र राखेर सहकारीले स्थानीय उत्पादनको संकलन गर्दै आएको छ । जसलाई सहकारीको बागलुङ बजारमा रहेको जैविक सहकारी बिक्री केन्द्रबाट बिक्री बितरण गर्दै आएको संस्थाका व्यवस्थापक मिलन केसी बताउँनुहुन्छ ।

सहकारीले सदस्यहरुलाई बिभिन्न समुहमा विभाजन गरेको छ । ५२ वटा समुहमा विभाजित संस्थाका सदस्यहरुले आफ्नो घर टोलमा उत्पादन भएका वस्तुलाई सहकारीको संकलन केन्द्र सम्म ल्याउँछन् । तरकारी, फलफुल, दाल, कोदो, मकै, दुध घ्यू जस्ता आफुले उत्पादन गरेका सबै चिज संकलन केन्द्रमा ल्याउन आव्हान गर्दछ । सदस्यसँगै गाउँलेले उत्पादन गरेका बाको र ढकायोको सिन्की, बेसार, आलु, साग, काउली, पीडालु, फर्सी, इसामगोली, लसुन, प्याज, मह, दुध, घ्यू, भाँगो, अदुवा, च्याउँ, सिलम, चम्सुर, टिमुर र सिल्टिमुर समेत सहकारीको बिक्री केन्द्रबाट बिक्री बितरण हुँदै आएको छ ।

सहकारीले सदस्यले उत्पादन गरेका वस्तु बिक्री मात्र होइन, उनीहरुलाई बिउँ, मल, दाना, चापट र सम्पूर्ण सामग्री उपलब्ध समेत गराउँदै आएको छ । ‘व्यक्तिले बजारमा आएर खरिद गर्दा महंगो पर्न सक्छ,’ सहकारीका व्यवस्थापक मिलन केसी भन्नुहुन्छ ‘संस्थागत रुपमा खरिद गरेर सदस्यलाई उपलब्ध गराउँदा केही सस्तो पर्न जान्छ ।’ सदस्यलाई आवश्यक पर्ने वस्तु उपलब्ध गराउने र उनीहरुको उत्पादन आँफुले लिएर ‘सहकारी पैँचो’ कार्यक्रम गरिरहेको उहाँको भनाई छ ।

भारतीय सेनाबाट ८ वर्ष पहिले पेन्सन सहित नेपाल फर्किएका थमबहादुर थापाले बसाइ सराईको कारण गाउँ रित्तिएको देखेपछि गाउँको बजार सम्म सहज पहुँच बनाएर थप बसाइ सराई रोक्नको लागि आफ्नै अध्यक्षतामा सहकारी सञ्चालन गरिएको बताउँनुहुन्छ । ‘अप्ठ्यारो बाटो, उत्पादन भएका बस्तुहरु गाउँमै कुहिएर, सडेर जाने, खाने मान्छे छैन,’ थापा भन्नुहुन्छ, ‘गाउँलाई बजारसम्म जोडेर स्थानीय उत्पादनलाई सहज बजारीकण गराउँदै गाउँलेलाई आत्मनिर्भर बनाउनको लागि सहकारी सञ्चालन गर्ने निधो गरेका थियौं ।’

गाउँमा उत्पादन भएको एक मुठो साग, १ माना घ्यू र २ पाथी आलु बोकेर बजार खोज्न गाउँलेलाई सम्भव नभएकाले यो समस्यालाई अवसरमा बदल्ने गरी भिन्न सहकारीको सोचमा पुगेको थापा बताउँनहुन्छ । ‘सहकारीले मुठी देखि पाथी सम्म संकलन केन्द्रमा संकलन गरी किसानलाई उत्साहित बनाएको छ,’उहाँले भन्नुभयो । सहकारीले समुह मार्फत घर–घरमा आफुले उपभोग गरेर बचेको वस्तु बेच्नुपर्छ भनेर अभियान थालेपछि नुन, तेल र चिनी चियापत्ती खान पुग्ने पैसा करेसाबारीबाटै प्राप्त हुन थालेको थापाको भनाई छ । आजभोली गाउँलेहरु एक मुठा साग र एक माना बेसार लिएर पनि बिक्रीका लागि संकलन केन्द्र आउन थालेको उहाँको भनाई छ ।

सहकारीले रायडाँडाको मात्र होइन, जिल्लाको ताराखोला र पाण्डवखानीको उत्पादनलाई समेत बिक्री केन्द्रबाट बिक्री गर्छ । जैविक सहकारी संस्थाले संकलन गरेका स्थानीय उत्पादनहरु चितवनको मिसन कृषि घरमा समेत पाइने थापाको भनाई छ ।

सहकारीले रायडाँडाको बाँझो जमिनलाई हरियाली बनाउँने तयारी गरेको छ । अघिल्लो आर्थिक वर्षमा ८० वटा किबीको बिरुवा, ४० ओटा ओखर र २ सय घाँसका बिरुवा रोपेको छ । २० वर्षको लागि रायडाँडाका विभिन्न ठाउँमा सहकारीले ३ सय रोपनी जग्गा भाँडामा लिएको छ । सहकारीले यसै आर्थिक वर्षमा लगाउने गरी ६ सय वटा टिमुरको बिरुवा समेत तयार गरेको छ ।

अहिले सहकारीले रायडाँडाको रामतोला र आप्रेमा पनि संकलन केन्द्र खोल्ने तयारी गरिरहेको छ । पाडापाडी फर्म, लोकल कुखुरा, विस्तारै सुन्तला र कागतीका बिरुवा रोप्ने योजना बनाएको छ । आँफुहरुले बाँझो जमिन हरियो बनाएर गाउँलेलाई उत्पादनमा जोड्दै आत्मनिर्भर बनाउनका लागि थालेको अभियान जिल्लाका सबै स्थानीय तहमा आवश्यक भएको व्यवस्थापक केसी बताउँनुहुन्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *