तुल्सीराम पाण्डे
साँझका पाहुना देवता स्वरुप मानिन्छन् । उनीहरुको राम्रो सम्मान गरेमा देवता खुसी हुन्छन् भन्ने विश्वास नेपाली समाजमा अझै म्मि कायम छ । साँझमा आएका पाहुनालाई बास दिन र खान दिने गरेपछि अर्काे दिन विहान अर्शिवाद दिएर विदा हुन्छन् । यो कुरा लामो यात्रामा हिड्नेहरु र नचिनेका मान्छेहरुलाई लागु हुन्छ । तीर्थयात्री, जोगी, भरीया र बटुवा यसमा पर्छन् ।
घरमा बसेर घर कुर्ने र केटा केटी हेर्ने पाको मानिसले वा घरमुलीले आफ्ना परिवारलाई समेत बास माग्न आउने मानिस र नाता सम्बन्ध अनुसारको स्वागत सत्कार गर्न सिकाएका हुन्छन् । बास दिएपछि गास पनि दिनुपर्छ भन्ने नेपाली संस्कार अनुसार वटुवा पनि ठुलो र खान्दानी घर हेरेर त्यहाँ गएपछि बास पाइने मनमनै निश्चिय गरेर बास माग्न जान्थे । मिठो खाना दिने हैसियत नभएका मानिसहरुले यहाँ बास पाइदैन भन्दथे । बस्नै पर्ने अवस्था आएमा माफी मागेर बास दिन त सकिन्छ तर खाना भने हामीले खाएकै खाउला वा हामी भोकै बसेमा तपाईहरु पनि भोकै हुनु हुनेछ भन्दथे ।
आफ्नो घरमा काम गर्ने र आफ्नो स्तरभन्दा तल्लो हैसियतको मानिस आएमा उसको अवस्था हेरेर खान र बस्न दिएपछि अर्काे दिन खुसी हुँदै विदा हुन्छन् । नचिनेको मान्छे आएमा पछिल्लो घर र आउनुको कारण सोध्ने र उसको स्तर विचार गरेर व्यवहार गर्ने । त्यसभन्दा कठीन र महत्वपूर्ण कुरा आफ्नो हैसियतभन्दा ठुलो सम्मान गर्नुपर्नेमा पाहुना, ज्वाई चेला, सम्धी र इज्जतदार मानिस पाहुना आएमा उनिहरुको विषेश प्ररकारले स्वागत सत्कार गरिन्छ । यहाँ बाहुन समुदायमा गरिने स्वागत सत्कारको चर्चा गर्दछु ।
पाहुना धेरै जसो साँझमा नै आउँछन् । केही पाहुनाहरु कहिले काँही दिउसोमा आएपनि उनिहरुको सत्कार सम्मानपूर्वक नै गर्नु पर्दछ । पाहुनालाई देखेपछि पहिले साइनो अनुसार शिष्टचार गर्ने । त्यसपछि नयाँ गुन्द्री ओच्छाउने र त्यसमाथि काम्लो ओच्छाएर दलानमा बसाल्ने र सम्भव भएसम्म उमेर मिल्दो मानिस सँगै कुरा गरेर बस्ने । पहिले ज्वाईचेला आउँदा अगेनापारी मुल ओच्छ्यानमा बसाल्ने गर्दथे । दलानमा बाट राख्ने चलन आएपछि खाटमा नयाँ गुन्द्री माथि पाखी वा काम्लो विच्छाउन थालियो । पाहुनालाई बसोपछि सबै परिवारले साइनो अनुसार ढोग नमस्कार गर्ने । मौसम गर्मी भएमा पहिले दहिमा मह वा खुदो फिटेर खान दिने । त्यो सम्भव नभएमा सर्वत बनाएर खान दिने । मौसम जाडो भएमा तातो दुधमा घिउले झानेर दिने । मौसम अनुसारका फलफुलहरु खान दिने । त्यसै समयमा आफ्नो घरमा खर्च सकिएको भए पधेरोबाट पानी ल्याउने वा गोठमा भैसींलाई घाँस राखिदिने बाहना गरेर निस्कने र छिमेकीसँग पैचो मागेर डोकोको पिंधमा वा पछैउराले ढाकेर खर्च लगाउने र इज्जत राख्ने । तमाखु खाने बानी भएमा त्यसै समयमा तमाखु वा भुसाह खान दिने ।
साँझमा चुलोमा दाल भात तरकारी पकाउने अचार बनाउने । घिउ, मह, चिनी, दुध र दहि गरेर सकेसम्म धेरै परिकार बनाउने । भातमा घ्यू राखेर सानो ताउलीमा पकाउने मासको दाल पकाएर कपडा फेरेर चुलोमा धेरै परिकार बनाएर खान दिएमा राम्रो स्वागत हुने । धोतीपाटा फेर्नु नपरेमा पनि ठिकै हुने । दुबै हातले थाल उठाएर अगाडि राखिदिने । उठेर खान दिनुपर्ने । बसेर खान दिएमा अपमान हुने । सके सम्म धेरै कटौरा र पिलेट वा दुना वौला भएमा राम्रो सम्मान भएको मानिने । खानेलाई दुनामा घ्यू र चिनी समेत दिने । सबै कुरा अगाडी राखिदिएर लिनोस भनेपछि खान सुरु गर्ने । ज्वाई र सम्धी आउँदा त्यसरी स्वागत गर्ने । ठुलो स्वागत गर्नुपर्ने हुनाले वर्षदिनको ज्वाई ग–हुँगो र ३ वर्षको सम्धी ग–हुँगो भन्ने उखान छ । एकजनाले ज्वाइलाई लक्ष्य गरेर यस्तो कविता लेखेछन् । माघे संक्रान्ती हरहर, जाम्ला जेठानका घर, जेठानीले गुन्द्री काम्लो घर, जेठानले आनाफाना जोहो गर, ससुराले नजिकै बसी तमाखु भोर, सासुले भान्छामा गवुवा कोर । खाएर उठ्ने बेलामा कुनै ठाउँमा हात धुनलाई चिनी दिन्थे । चिनीले धोएमा चिल्लो जाने र हात सफा हुने हुन्थ्यो । सबै ठाउँमा त्यस्तो चलन नभएको हुनाले थाहा नहुनेहरुले सबै चिनी खान्थे । अन्तिमको चिनी खाएमा ज्वाई र सम्धीलाई कंगाली सम्मान लिन नजान्ने भनेर कुरा काट्ने र हेप्ने गर्दथे । घरम्लाले समेत बुहारी छोड्न आएका भरियालाई धेरै घिउ खान दिन्थे । कुनै ठाउँमा भरियाले घिउ खान नसकेर ढुङग्रोमा राखेर घरमा लैजान्थे । भात खाएपछि तमाखु भरेर खान दिन्थे । अम्मलीहरुले तमाखु नपाएउमा खाना खाएझै भएन भन्दथे ।
माइतामा छोरी पुराउन जाने भरियाले पनि त्यसै गर्थे । ज्वाइलाई धेरै घ्यू दिएमा बचेको छोरीले खान हुन्थ्यो । खान दिदा वाक्य पनि शुद्ध हुनुपर्ने ः खानालाई भान्छा, भोजन, भुजा ज्यूनार, प्रसादी भनेर बोलाउने गरिन्थ्यो । भातलाई खान्की, दुधलाई सितन, तरकारीलाई साग, मोहिलाई गोरस भन्ने गरिन्थ्यो । खाउन्जेल एक अर्कोको मुखमा नहेर्ने, धेरै जना खान बसेको भएमा एकैचोटी उठने, दिउसोमा (अर्नी) खाजा दिदा सिरम्ला भुटेर मह र घ्यू मोलेर चरेसको थालमा दिने । त्येस बाहेक भाते बाहुन वा स्वायंपाके पाहुना आएमा चामाल धोएर ठिक्क पारिदने र चुलो तयार गरिदिने । त्यसपछि आफै पकाएर खान्छन् । पाहुनालाई सधै मान पु¥याउन नसकिने हुनाले ‘एक दिनको पाहुना मिठो मिठो खाउ, दुई दिनको पाहुना जसोतसो खाउ, तीन दिनको पाहुना जतासुकै जाउ’ भन्ने उखान छ । कसैले चार दिनको पाहुना मेलो गर्न जाउ समेत भन्दछन् ।
सुत्ने बेलामा खुट्टामा चिल्लो लगाइदिने र ढोग गर्ने गर्दछन् । कसैले खुट्ट छातीमा टाँस्छन् । पहिले जन्तीलाई समेत चिल्लो लगाई दिने चलन थियो । अर्को दिन विहान नुहाएपछि टिका लगाइदिन्थे । कुनै ठाउँमा एउटाले दक्षिना दिने र कुनै ठाउँमा सवैले दक्षिना दिन्थे । विदा हुने दिन टिका लगाएर दक्षिना दिएपछी खाना दिएर विदा गर्थे । टाढा भएमा बाटामा खानालाई खाजा पुवा दिएर खट्टे रोटी बनाएर राखी दिन्थे । घुमाउरे रोटी दिएमा बाटो घुम्छन् भन्दथे । वर्षाको मौसम भएमा ओढनलाई प्लाष्टीक र लौरो दिन्थे । सेउ दिएमा भारी बोके जस्तो हुनाले हलुङ्गो, नसुहाएको, हेपेको वा इज्जत नगरेको हुन्थ्यो । सेलरोटी बोक्दा भरियाले बोकेमा सोलीमा र छोरीले बोकेमा डालीमा बोक्थे । परिवारलाई सौलारोटी कोसेली लगि दिन्थे । भाँचिएका दिएमा मान नगरेको हुन्थ्यो ।
आजकाल जुसुकै बेला पाहुना गएपनि सोफा र बैठक तयारी छन् । कोक, फेन्टा र अन्य चिसोको चलन छ । मोवाइलको डाटा दिएमा साथी बस्नु पदैन् । चुलोमा लुगा फेरेर खाने चलन हराई सकेको छ । दिनदिनै सञ्चो विसञ्चो थाहा हुन्छ । कोही आफ्न्त विदेशमा भएर ५,७ वर्ष आउँदैनन् । नजिक भएकाहरु आवश्यक परेमा तत्कालै भेट हुन सक्छन् । होटल र लजको विकाशले नचिनेको पाहुना लाउदैनन् । आफ्न्ताहरु पाहुना भएपनि पहिले जस्तो आत्मीयता हराइसकेको छ ।