आदर्श अनलाइन, गोरखा
गोरखा कारागारमा क्षमता भन्दा बढी दोब्वर कैदीबन्दी राखिएको छ । भूकम्पले जीर्ण बनेको भवनमा कैदीबन्दीहरुलाई व्यवस्थापन गर्न समस्या भएको कारागार कार्यालय गोरखाका सूचना अधिकारी प्रेम बहादुर आलेले बताए ।
‘कारागारको क्षमता ५५ जनाको हो,’ उनले भने, ‘तर अहिले १०६ जना छन् ।’ ९९ जना पुरुष र ७ महिला रहेको उनले बताए । भवन जिर्ण भएका कारण थप समस्या भएको उनी बताउछन् ।
‘पुरानो भवन भूकम्पले चर्काएपछि जिर्ण बनेको छ, कुन बेला के हुन्छ भन्न सकिन्न,’ उनले भने । बर्षाको समयमा पानी चुहिने उक्त भवन जसोतसो मर्मत गरिएको उनको भनाइ छ ।
नयाँ भवन निर्माणका लागि हाल सम्म कुनै कार्य अघि बढ्न नसकेको उनले बताए । ‘पहिले नयाँ भवन बनाउने कुरा उठेको थियो तर पछि सेलाउदै गयो, पहल गरीरहेका छौ, कही कतैबाट सुनुवाई हुन सकिरहेको छैन,’ उनले भने ।
कारागार भित्र शुद्ध खानेपानीको पनि समस्या रहेको उनले बताए । कोभिड–१९ बाट सुरक्षित रहनका लागि स्वास्थ्य सुरक्षा मापदण्डलाई कडाईका साथ पालना गरिएको कार्यालयले जनाएको छ ।
कारागार चलानका लागि पिसिआर रिपोर्ट अनिवार्या
गत चैत्रबाट कैदीबन्दी भेटघाटमा पूर्ण रुपमा रोक लगाइएको छ । कोभिड–१९ सामान्य अवस्थामा नआए सम्मका लागि कैदीबन्दी भेटघाट गर्न नदिइने आलेले जानकारी दिए ।
यस्तै कारगार चलान गर्न अनिवार्य रुपमा पिसिआर रिपोर्ट नेगेटिभ हुनपर्ने उनले बताए । ‘जिल्ला अदालतबाट कारागार चलान गरे पनि पिसिआर रिपोर्ट नेगेटिभ नआए सम्म प्रहरीकै हिरासतमा राखिन्छ,’ उनले भने, ‘उनीहरु रिपोर्ट नेगेटिभ आएपछि मात्र कारागारमा ल्याउछौ ।’