तिब्बती भेडाच्यांग्रा नआउँदा मुस्ताङी किसानलाई फाइदा

एसके थकाली, जोमसोम

तिब्बतबाट भेडाच्यांग्रा नआउने भएपछि यष वर्ष मुस्ताङका किसानलाई फाइदा हुने देखिएको छ । उताबाट नआउने भएपछि उपभोक्ताले भने यष वर्ष पोहोरभन्दा महँगोमा भेडाच्यांग्रा खरिद गर्नुपर्ने भएको छ ।

उताबाट नभित्रिने भएपछि उपल्लो मुस्ताङका भेडाच्यांग्रा गत वर्षभन्दा २० प्रतिशत बढी मूल्यमा बिक्री भएको लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङछोम्फेल बिष्टले बताए ।

कोभिड १९ का कारण चिनीयाँपक्षले सीमा नाका कोरालामा कडाइ गरेकोले भेडाच्यांग्रा भित्रिने असाध्यै सम्भावना कम छ । नेपाली पक्ष समेत उताबाट भेडा—च्यांग्रा ल्याउने पक्षमा नभएको अध्यक्ष बिष्टले उल्लेख गरे । उनले लुकीछिपी ल्याउने सम्भावना नभएको जनाए ।

‘गत वर्ष जिउँदो रोजा भेडाच्यांग्रा प्रतिगोटा १६ देखि १९ हजार रुपैयाँसम्म परेको थियो,’ अध्यक्ष बिष्टले भने, ‘यसपटक पशुपालक किसानको खोरमै २३ हजारदेखि २७ हजार ५ सय रुपयाँसम्ममा धमाधम खरिद बिक्री भइरहेको छ ।’ अध्यक्ष बिष्टले लोमान्थाङबाट बढीमा ३ हजार र लोघेकर दामोदरकुण्डबाट बढीमा २ हजार भेडा च्यांग्रा बिक्री हुने बताए ।

दसैंतिहारको अवसरमा तिब्बतबाट बर्सेनि ५ देखि १० हजारसम्म भेडा—च्यांग्रा भित्रिने गरेका थिए । डोल्पा र मुगुबाट समेत मुस्ताङमा भेडा च्यांग्रा आउँथे । यस वर्ष डोल्पाका स्थानीय भेडाच्यांग्रा सीमित मात्रामा भित्रिने आँकलन गरिएको छ । मुस्ताङका च्यांग्रा व्यापारी दीपक पुनले पोखरा, काठमाडौंका केही व्यापारीहरुले टेलिफोनको भरमा प्रतिनिधि खटाई भेडाच्यांग्रा खरिद गर्न थालेको बताए ।

पर्वत जलजलाका कृषि सहकारी संस्थाका प्रतिनिधि दुर्गाप्रसाद न्यौपानेले बारागुङ मुक्तिक्षेत्र झोङमा १ सय ५० गोटा च्यांग्रा २५ हजार देखि २८ हजार रुपैयाँका दरले खरिद गरेको बताए । १ हजार च्यांग्रा खरिद गर्ने योजनाका साथ आएका न्यौपानेले महँगो परेको कारण थोरै लैजान लागेको जनाए ।

चीनबाट नआउने भएपछि छोसेर, छोनुप, सुर्खाङ, चराङ, चुमजुङ, मराङघमी, घिलिङ, यारा, घाराध्ये, ताङग्या, चैले, छुसाङ, मुक्तिनाथ, धाकार्जुङ, फल्याक, तिरी, ताङ्वे र झोङ लगायतका गाउँका पशुपालकले कृषकले राम्रो आम्दानी गर्ने देखिएको छ ।

यस वर्ष उपल्लो मुस्ताङबाट ५ हजार र बारागुङ मुक्तिक्षेत्रबाट २ हजार, डोल्पाबाट ३ हजार च्यांग्रा झर्न सक्ने जोमसोमका पशुपालक किसान भूपिन शेरचन बताउँछन् । गत वर्ष मुस्ताङबाट करिब २३ हजार बाहिरिएको जानकारी दिँदै उनले यष वर्ष बढीमा १० हजार भेडा च्यांग्रा झर्ने अनुमान गरे ।

घरपझोङको पशु कार्यालयका कर्मचारी आइत थकालीले सेवाग्राहीको स्वास्थ्यमा प्रतिकुल असर पर्नसक्ने भएकाले पशुपन्छी जन्य पदार्थको निकासी तथा पैठारीमा पशु निरोगिताको प्रमाणपत्र सरकारले अनिवार्य गराएको बताए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *