कृषिता अधिकारी (निशा )
साँच्चै नै यतिबेला जनमानसमा एउटा आशाको दिपालो बल्न थालेको छ । देशमा विभिन्न आपराधिक क्रियाकलाप घटिरहँदा त्यस्ता अपराधिक गतिविधी रोक्नको लागि र देशमा भोलिका दिनहरूमा यी र यस्ता घटनाहरु गर्ने मान्छे डराई राखुन भन्ने सकारात्मक विचार र समाज परिवर्तनका लागि आज संसदमा महिला संसदहरुले बलात्कारीलाई मृत्यु दण्डको माग गरि रहनुभएको छ । यसै सन्दर्भलाई जोडेर भन्नुपर्दा देशमा जताततै यत्र तत्र हत्या हिंसा बलात्कार जस्ता अपराधिक गतिविधीहरु बढ्दो छ । अर्कोतिर कालोबजारी भष्ट्राचार तथा अन्धविश्वासले समेत जरा गाडेको अवस्था छ । साँच्चै नै देशमा गणतन्त्र आयो, लोकतन्त्र आयो तर गरिब जनताहरुलाई त्यो अझैसम्म महशुस भएको छैन । शोषण दमन अत्याचार आजको २१ औ शताब्दीमा आइपुग्दा पनि हट्न सकेको छैन । देशका हरेक कुना काप्चामा जन जीवन निकै नै कष्टकर रहेको छ । अझ पनि देशका केही जिल्लाहरु जहाँ विकट ठाउँहरु छन् त्यहाँ शिक्षा, स्वास्थ्य, सडक यातायात समेत पुग्न सकेको छैन् । अझै पनि गरिब जनताहरु शोषित पीडित भएर बाच्न बाध्य छन् । वास्तममा भन्ने हो भने सदियौ देखि हुनेखाने वर्गले राज गरेको देश त्यसैले त पैसा पावर र शक्तिको मात्र महत्तव छ । राम्रो र इमानदार व्यक्तिको कहिलै पनि भलो नभएको देश कारण उखान टुक्कामा भनेझैं ‘शतिले सरापेको देश’ अनि कहाँबाट देशमा राम्रो मान्छे टिक्छ होला त ? यहाँ लुटतन्त्र छ, छाडातन्त्र छ जसले जे गरेपनि छुट छ । गायक पशुपति शर्माको गितमा उल्लेख भएको जस्तै अवस्था आज पनि छ ।
शब्द शब्दले भनेको छ साँच्चै नै आज हाम्रो देश जहाँ बुद्ध जन्मेको देश, शान्तिको प्रतिक मानिने जहाँ महिला राष्ट्रपति भएको देश तर अपशोस हामी आमजनता कसरी गर्व गरौँ । अब हाम्रो देश के शान्त छ त ? हामी महिला राष्ट्रपति भएको देशमा छौ भन्न पनि लाज लाग्ने परिस्थिती सृजना भएको छ । कारण बारम्बार महिला माथि योनजन्य हिंसा भइरहेको अवस्था छ साँच्चै नै आधा आकाश ढाकेका महिलाहरु आज कतैबाट पनि सुरक्षित छैनन् । आज यस्तो सम्म परिस्थिति सृजना भएको छ कि स्कुल गएकी छोरी बेलुका घर फर्कन्छे वा फर्कन्न अफिस गएकी छोरी सुरक्षित छ की छैन् । विहे गरेर पठाएकी छोरी सुखी छ कि छैन ? आज हरवखत हरक्षण चिन्ता र चासोको विषय बनेको छ । कति दुःखले जन्मायो हुर्कायो विहे गरेर अर्कैलाई सुम्पिनु पर्ने समाजको परम्परा संस्कृती त्यसै माथि पनि दाइजो दिनुपर्ने परम्परा वा होडवाजी पछिल्लो समयमा दाइजो प्रथालाई पनि प्रतिष्पर्धाको रुपमा लिने गरिन्छ । हाम्रो समाजमा फलानोले यति दियो उति दियो मैले दिन सकिन फलानाले के भन्ला कुरा काट्ला जस्ता अन्धविश्वास पनि त्यतिकै छ । अर्कोतिर दाइजोको निहुँमा जलाउने मार्ने घरेलुु यातना दिने घटनाहरु पनि मर्न सकेका छैनन् । देशमा नियम छ, कानुन छ, तर ठूला बडाको लागि हामी गरिबको लागि कानुन छैन । संक्षेपमा भन्ने हो भने पैसा छ, पावर छ, शक्ति छ, त सब छ त्यही पैसा, पावर र शक्तिले आज साना–साना कलिला नानिहरुले न्याय पाएनन् साँच्चै नै कति महत्त्वपूर्ण वस्तु रहेछ पैसा जसले बाबू छोरा विच फाटो ल्याउछ जसले दाजुभाइ विचको सम्बन्ध विगार्छ जसले आफन्त आफन्त विचको दुरी बढाउछ रिसराग काटमारको संज्ञा दिन्छ । जसले मान्छेको ज्यान समेत लिन्छ ।
आज त्यही पैसाले पावर र शक्तिले अपराधीहरुलाई बचाउने गरेकोे छ । साँच्चै नै पैसा पावर शक्ति कति मुल्यवान छ जहाँ जस्ले जे गरेपनि हुने शक्तिको आडमा अपराधीहरुलाई प्रोत्साहन गर्ने काम भइरहेको छ । जहिले पनि निर्दाेष जनताहरु शोषणको सिकार भइरहेका छन् । आखिर कहिले सम्म हामी जनताहरु त्रासमा बाच्ने आज हामी नेपाली चेलिहरु सुरक्षित साथ हिड्न सक्दैनौं आफ्नै परिवारमा त सुरक्षित महशुस गर्न सक्दैनौं भने के हामी गर्व गरौं । महिला राष्ट्रपति भएको देशमा छौ । आज स–साना नानिहरु बलात्कारको सिकार हुन्छन्, आज स–साना नानिहरु बेचिन पुग्छन्, आज धर्मको नाममा पाखण्डि र ढोंग रच्नेहरुले नानिहरुको बलि दिन्छन खै हाम्रो सरकारको ध्यान कहाँ छ ?
आज अधिकांश महिलाहरु विभिन्न प्रलोभनमा फसेर बेचिएका छन् । कतै विहे गर्छु भनेर ललाइफकाई गरि शारीरिक सम्पर्क पश्चात् हत्या गरेको अवस्था छ । कतै बालिकाहरु बलाकृत भएका छन् । तर देशको कानुन कहाँ हरायो खै ? नीति नियम किन बनाइएको छ यदि त्यस्को कार्यान्वयन नै नहुने भए त्यो कानुन बनाउनुको के अर्थ छ र अहिले देशमा जुन घटनाहरु घटिरहेको छ सोहि घटना परिवेशलाई हेर्ने हो भने त नेपालको कानुनले उचित सजाए दिनै सकेको छैन् । हामीले साना देखि लिएर ठूला–ठूला अपराधीक कृयाकलापमा संलग्न भइरहेको पनि देख्ने गर्दछौं र सजायको अवधी पुरानै नभइ निश्कासन गरिएको सन्दर्भ पनि हामीले देख्यौं अपराधी विरुद्ध सडक आन्दोलन गर्ने महिला अधिकारकर्मी तथा सामाजिक अभियानता पनि हामीले देख्यौं तर ती आवाजको कुनै महत्तव नै थिएन । सरकार त भन्दै जा म सुन्दै जान्छु जस्तो गरिरहँदा आज नेपालमा हत्या हिंसा बलात्कार जस्ता कृयाकलाप रोकिएको छैन् । कैयौं निर्मला र सम्झना जस्ता स–साना नानिहरु बलात्कारको शिकार भएका छन् । आज कैयौं आमाको काख खोसिएको अवस्था छ, कैयौं महिलाहरु छोरी चेलिहरु तेजाप आक्रमणको शिकार भइरहेका छन् । कैयौं सपनाहरु उजाडिएको छ त कयौं सपनाहरु बुन्न नपाउदै निमोठिएको छ । तर सरकार मौन छ एक किसिमले भन्ने हो भने जनताको विषयमा चासो लिने फुर्सद नै छैन । आज कैयौं जनताहरु विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई पुनः नियुक्तिको लागि सडक आन्दोलनमा लागि रहेका छन् । तर सरकारलाई कुनै वास्ता नै छैन जहाँ पावर शक्ति छ त्यहाँ पहुँच छ तर जसले राम्रो र इमानदारी पूर्वक काम गर्छ उस्को कुनै महत्त्व नै छैन ।
तसर्थ, देशमा भइरहेका यी घटनाहरु तब सम्म रोकिदैन् जसमा देशको ऐन निती कानुन परिवर्तन हुँदैन आज एसिड प्रकरणको सन्दर्भमा सरकारले एसिड आक्रमण गर्नेलाई २० वर्षको कैद र १० लाख जरिवानाको लागू गरिएको छ तर अपराधी २० वर्ष पछि पुरानै जीवन जीउछ अन्य अपराधीक क्रियाकलाप गर्छ तर जसको जीवन वर्वाद भएको छ उस्ले त कहिल्यै सरल जीवन व्यतीत गर्न सक्दैन् नि न त त्यो घाउ नै निको होला १० लाखले ती पिडाहरु मेटिएलान त ? के जनताले देखेको आशाको दियालो बल्ला त ? कि यी आशाका दियालोहरु बल्न नपाइ निभ्ने हुन के सरकारले ऐन कानुन नीति नियम परिवर्तन गर्ला त ? नेपालमा पनि बलात्कारीलाई मृत्युुदण्डको सजाय मिल्छ होला त ? के स–साना नानिहरुले न्याय पाउँछन् के साँच्चै देश परिवर्तन होला त ? नेपाली जनताको लागि प्रतिक्षाको घडि कहिले आउला सरकार ।