बागलुङका राजनीतिक दल : कोरोना रोकथाममा भूमिका कमजोर, पार्टी प्रवेशमा ध्यान


डम्मर बुढा मगर, बागलुङ
विश्वभर महामारीको रुपमा फैलिएको कोराना भाइरस (कोभिड १९) संक्रमण अहिले अझ पैmलिदो क्रममा छ

कोरोना भयावह सुरु भएको ६ महिना बितिसक्दा समेत तत्काल रोकथाम र नियन्त्रण हुने संकेत छैन । बरु राजधानी काठमाण्डौ सहित देशभर संक्रमण तीव्र गतिमा बढिरहेको छ ।

नेपालीको महान पर्वहरु नजिकिँदै गर्दा यो संख्या अझ बढ्ने आँकलन गरिएको छ । नेपाल सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि चैत ११ गतेदेखि लकडाउन सुरु गरेको थियो ।

उक्त समयमा संक्रमणको दर कम थियो । असार महिनादेखि लकडाउन खुला गरेपछि संक्रमणको दर ह्वात्तै बढेको छ ।

अहिले दैनिक १५ सय भन्दा बढी नयाँ संक्रमित थपिने गरेका छन् । सरकारले पटक–पटक विश्व स्वास्थ्य संगठनले निर्देशन गरेका मापदण्ड अपनाउन, अति आवश्यक काम परे मात्र घर बाहिर निस्कन आग्रह गरे पनि बजारमा नागरिकको अत्याधिक भिडभाड भइरहेको छ ।

दशैं, तिहार, छठ नजिकिए सँगै परदेशबाट गाउँ घर फर्किनेहरुको संख्या पनि उल्लेख्य रुपमा बढ्दो छ । बिभिन्न पेशा, व्यवसाय, रोजगारको शिलशिलामा काठमाण्डौं लगायत ठुला शहरमा भएकाहरु पनि पुख्यौली गाउँ घर फर्किन थालेपछि जिल्ला र ग्रामिण क्षेत्रमा समेत कोरोना जोखिम बढेको छ ।

तर, यसबीच स्थानीय सरकारको भूमिका पनि प्रभावकारी नभएको नागरिकको गुनासो छ । प्रतिपक्ष दल सहित जिल्लामा क्रियाशिल अरु राजनीतिक दल पनि कोरोना रोकथाम, नियन्त्रण अभियानमा गुमनाम जस्ता छन् ।

राजनीतिक दलका नेताहरु अहिलेको निकै कठिन संकटको रुपमा देखिएको कोरोना रोकथाम तथा नियन्त्रण तर्फ भन्दा सरकारको अनुरोध विपरित नागरिक भेला गरेर पार्टी प्रवेशको हतारो र अस्वस्थ प्रतिस्पर्धामा सक्रिय देखिएका छन् ।

कोरोना रोकथाम गर्न सरकारले जिम्मेवार दिएका जनप्रतिनिधि समेत पार्टीको भेला, जनभेटघाट, संगठन विस्तार र पार्टी प्रवेशमा कार्यक्रममा सरिक भइरहेको सामाजिक सञ्जालहरुमा छरप्रष्ट देखिन्छ । जबकी सरकारले यो अवधिमा कुनै पनि सभा समारोह नगर्न भने पनि बागलुङका राजनीतिक दलद र त्यसमा बिभिन्न तहमा सरकारको नेतृत्व गरिरहेका जनप्रतिनिधिहरु समेत सहभागी हुने गरेका छन् ।

यसमा विशेषतः सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले पछिल्लो समयमा बढी सभा सम्मलेन र कार्यक्रम गर्दै गाउँ–गाउँमा हिँडेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागलुङका अध्यक्ष तथा गण्डकी प्रदेश सभा सदस्य इन्द्रलाल सापकोटाले भेला आम सभा भनेर ठूला–ठुला कार्यक्रम नगरको भन्दै स्वास्थ्य मापदण्ड अपनाएर स–साना कार्यक्रम गरिएको दाबी गर्नुभयो ।

‘कोरोना भनेर जनतासँगको सम्पर्कमा नपुग्ने कुरा भएन,’ अध्यक्ष सापकोटाले भन्नुभयो ‘स्वास्थ्य सुरक्षा अपनाएर जनभेटघाट र सामान्य कार्यक्रम गर्दै जनताहरुलाई पनि सचेत बनाएका हौं ।’
उहाँले कोरोना संक्रमणको जोखिमका कारण चैतदेखि नै ठूला कार्यक्रम गर्न बन्द गरेको र सरकारको निर्देशन पालना गर्दै सामाजिक दूरी कायम गरेर भेटघाट गर्ने गरेको बताउनुभयो ।

नेपाली कांग्रेस बागलुङका सचिव नवराज पौडेलले सरकारले जारी गरेको निर्देशन सत्तापक्षका नेताहरुले नै उल्लङ्घन गरेको जिकिर गर्नुहुन्छ । उहाँले आफुहरुले भने स्वास्थ्य मापदण्ड अपनाएर कार्यक्रम गरेको बताउनुभयो ।

‘हामीले नेकपाले जस्तो संघीय सांसद, प्रदेश सांसद जम्मा गरेर ठुलो भेला गरेर कार्यक्रम गरेका छैनौ,’ पौडेलले भन्नुभयो ‘सरकारले बनाएको मापदण्डमा रहेर केही स–साना कार्यक्रम गरेका हौ ।’ उहाँले बाढी पीडितको लागि राहत वितरण जस्ता संवेदनशिल कार्यक्रम मात्र गरेको बताउनुभयो ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष अमर थापा यो समय पार्टी प्रवेश गराउने, जनभेटघाट कार्यक्रम गर्न उपयुक्त समय नभएको बताउँनुहुन्छ ।

‘यो समय जभेटघाट गर्न, पार्टी प्रवेश गर्न गराउन अनुकुल समय होइन,’ उहाँले भन्नुभयो, ‘जो जहाँ छौ त्यहीबाट सुरक्षित र सजग बनाउनुपर्ने समयमा संघीय सांसद, प्रदेश सांसद, मेयर र वडा अध्यक्ष समेत पार्टीका कार्यक्रममा लागेको देखियो, यो प्रवृत्ति गलत हो ।’

व्यत्तिगत र पार्टीगत पनि अति आवश्यक कामहरु स्वास्थ्य सुरक्षा अपनाएर मात्र गर्नुपर्ने भन्दै उहाँले सबैभन्दा पहिले राजनीतिक दलका नेताहरु जिम्मेवार बन्नुपर्ने बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *