धर्मराजको लोभ लाग्दो कृषि कर्म

प्रस्तुति : डम्मर बुढा मगर, बागलुङ
गाउँका खेतबारीमा यतिबेला मकै पाक्न थालेका छन् । बारीभरी कोदोका बाला झुलेका छन् । धेरै कृषकहरु मकै भाँच्ने र भित्राउने चटारोमा छन् । तर, बागलुङ निसीखोलाका धर्मराज पोखरेललाई भने भिन्नै चटारो छ ।

बारीभरी लटरम्म फलेका फलफूल तथा तरकारीलाई टेको लगाउन र मलजल गर्न भ्याइ नभ्याइ छ । धर्मराजको बारीमा अहिले बोटले धान्नै नसक्ने गरी नासपती, सुन्तला, कागती फलेका छन् । बोटमा राम्रो फल लागेपछि अब कसरी यसलाई जोगाएर टिप्ने र बजारसम्म पु¥याउने भन्नेमा उहाँको ध्यान छ ।

‘यस वर्ष सुन्तला, कागतीले धेरै फल हालेको छ, हाँगा लाछिन्छ, त्यसैले टेको लगाउनु पर्छ,’ धर्मराज भन्नुहुन्छ,‘सानै बोटमा पनि फलेछ, यत्रो बोटले फल धान्नै सक्दैन,हाँगा चुँडिन्छ ।’

Image may contain: plant, sky, tree, outdoor and nature
पाेखरेलकाे बगानमा फलेका कागती

उहाँको घर वरपर जताततै लटरम्म फलेका फलफूलले बाहिरबाट जाने मानिसहरुलाई पनि लोभ्याउने गरेको छ । यति बेला उहाँको बारीमा फलफूलसँगै लोप हुँदै गएको भेँडे खुर्सानी, टिमुर लगायतका मसलेदार बिरुवा पनि हुर्किरहेको देख्न सकिन्छ । यसका साथै पहाडी क्षेत्रमा फल्ने सुन्तला, कागती, मौसम, अमिलो, हलुवाबेद लगायतका १५/२० प्रजातिका फलफू छ । जसमध्ये केहीले फल दिन सुरु गरेका छन् भने केहीले फल दिने तयारीमा छन् ।

व्यावसायिक उत्पादनका हिसावले विशेषतः टिमुर र कागती उत्पादनमा उहाँको प्राथमिकता छ । उहाँको बारीमा अहिले ४० बोट टिमुरका बिरुवा छन् । जसमध्ये १० बिरुवाले फल दिन थालेका छन् । उहाँले घर वरपर सबै बाँझो बारीमा कागतीका बोट लगाउनु भएको छ ।

बारीमा अहिले ३ सय वटा कागतीका बोट छन् । अहिले २५ बोटले फल दिन थालेको पोखरेल बताउँनुहुन्छ । निसीखोलामा अगुवा कृषकको रुपमा समेत परिचित पोखरेल लामो समय विदेशमा रोजगार गरेर गाउँ फर्किनुभएको हो । जीवनको उर्जाशिल उमेरका दुई दशक बिदेशमा बिताउनु भएका उहाँ १० वर्षदेखि आफ्नै बारीमा व्यावसायिक कृषि खेतीमा सक्रिय र समर्पित हुनुहुन्छ । २० वर्ष भारतको विभिन्न स्थान र २ वर्ष खाडी मुलुक कतारमा दुःख गरेको नमिठो अनुभव रहेको पोखरेल बताउँनुहुन्छ । अहिले आफ्नै परिवार सँग बसेर आफ्नै बारीमा कृषि कर्म गर्दाको आनन्द र सन्तुष्टि फरक मिलिरहेको उहाँको भनाई छ ।

Image may contain: house, outdoor and nature
घरकाे काैसीमा माैरीकाे घार

‘ओम चिरञ्जिवी कृषि फर्म’ दर्ता गरेरै उहाँले कृषि उत्पादन र प्रबद्र्धनमा जोड दिनुभएको छ । कृषि पेसालाई नै जीवन सम्झिने पोखरेल आधुनिक बालीको प्रवद्र्धनसँगै रैथाने बालिका संरक्षणमा लाग्नु भएको छ । ‘आधुनिक कृषि प्रणालीलाई अँगाल्दै पुराना बाजे, बुबाले गरेको खेती प्रणालीलाई पनि केही मात्रामा निरन्तरता दिएको छु,’ उहाँले भन्नुभयो ‘पुरानो वस्तुहरुलाई संरक्षण गर्न पनि रैथाने खेतीलाई निरन्तरता दिन जरुरी छ, व्यावसायिकताका लागि त आधुनिक कृषि नै गर्नुपर्छ ।’

४७ वर्षीय पोखरेलले तरकारी, फलफूलसँगै मौरी र कुखुरापालनलाई पनि सँगसँगै अगाडी बढाउनुभएको छ । उहाँले घरको कौसीमा १० घार मौरीपालन समेत गर्नु भएको छ । छुट्टै खोर निर्माण गरेर कुखुरा पालन समेत गर्नु भएको छ । कुखुरा फर्ममा अहिले २ सयभन्दा बढी साना ठूला कुखुरा छन्

Image may contain: sky, plant, tree, grass, mountain, outdoor and nature
कागती बगान, ३ सय बाेट कागती छन्

ब्रोइलर कुखुरासँगै स्थानीय जातका कुखुरा पालनमा पनि जोड दिएको उहाँले बताउनुभयो । उहाँले आफू कहाँ आउने ग्राहकलाई स्थानीय प्रजातीका सबै कुखुराहरु समेत उपलब्ध गराउन सक्ने बताउँनु हुन्छ ।

श्रीमती, चार छोरा र दुई छोरी रहेका पोखरेलको परिवारमा एक छोरीको विवाह भइसकेको छ । परिवारका सबै सदस्यले आफुलाई सघाउने गरेको उहाँको भनाई छ । बेरोजगार भएको धेरै गुनासो सुनिने गाउँमा अहिले कामदार खोज्दा पनि नपाइने गरेको पोखरेलको गुनासो छ । अहिले दुई जनालाई राम्रै तलब दिएर कामदारको रुपमा राख्नुभएको छ ।

‘कृषि तर्फ धेरैले ध्यान दिँदैनन्, यो सामान्य दुःखजिलो काम भनेर नाम खुम्च्याउछन्, कामदार भेट्याउनै गाह्रो पर्छ, भेटे पनि बारीमा काम गर्न धेरैले मन पराउँदैनन्,’ उहाँले भन्नुभयो ‘अहिले दुई जना कामदार राखेको छु, उनीहरुलाई राम्रै तलब दिएको छु ।’

Image may contain: plant and outdoor
घारीमै पाकेकाे केरा

पोखरेलले तरकारी, फलफूल र कुखुरापालन मात्रै होइन, परिवारका लागि वर्षभर पुग्ने धान, मकै लगायतका खाद्यबालीलाई पनि निरन्तरता दिनुभएको छ । उहाँले विदेशमा दुःख गरेको अनुभव सुनाउँदै अहिले आफ्नै बारीमा काम गर्दा निकै खुसी लागेको बताउँनुहुन्छ ।

‘धेरै युवा पैसाका लागि विदेश जाने गर्छन्, आफ्नै घर गाउँ र बारीमा काम गर्न लाज मान्छन्, म पनि धेरै वर्ष विदेशमा भौतारिए’, उहाँले भन्नुभयो,‘अहिले गाउँमा आफ्नै बारीमा श्रम गर्दा निकै सन्तुष्टि मिलेको छ, विदेशमा भन्दा धेरै पैसा हाम्रै बारीबाट कमाउन सक्दारहेछौ, विदेशको जस्तो १८ घण्टा काम गर्ने पर्दैन,केही समय आफ्नो बारीमा समय र श्रम दियो भने राम्रोसँग जिविकोपार्जन गर्न सकिन्छ ।’

बारीमा रमाउँदै

आफ्नो व्यवसायबाट वार्षिक १२ लाख भन्दा बढी आम्दानी गर्दै आएको उहाँको भनाई छ । आफ्ना स्थानीय उत्पादनका लागि बजारको समस्या छैन । धेरैजसो उपभोक्ता र ग्राहक घरमै आएर किनमेल गर्ने गरेको उहाँको भनाई छ । आँफुले उत्पादन गरेको फलफूल तथा तरकारी निसीखोलाको झिवाखोला बजार, कानाबजार, निसी र भल्कोटमै खपत हुने गरेको छ । सडक सञ्जालले गाउँ जोडिए पछि आफुलाई सामान बजार सम्म पु¥याउन थप सहज भएको उहाँको अनुभव छ ।

उहाँले गाउँमा कृषि प्राबिधिक नहुँदा आँफु जस्ता कृषकहरुलाई बेला–बेलामा समस्या पर्ने गरेको भन्दै सरकारले कृषकको मर्म बुझ्नु पर्ने बताउनुभयो । ‘गाउँमा कृषि प्राबिधिक छैनन्, हामीलाई समय–समयमा समस्या आइपर्छ, कहिले किराले फलफूल नष्ट गर्छ, कहिले बोट मर्छ,यस्ता समस्याले हामीलाई सताइ राख्छ, प्राबिधिक भएको भए यस्ता समस्याहरु समाधान हुने थिए ।’


उहाँले लामो समय व्यावसायिक कृषि गर्दै आए पनि सरकारले गत वर्ष मात्रै अनुदान दिएको बताउँनुभयो । कृषि ज्ञान केन्द्र पर्वतले गत वर्ष सिञ्चाइका लागि २ लाख ४१ हजार अनुदान दिएको उहाँको भनाई छ ।

‘हामी जस्ता कृषकलाई सरकारले यस्ता खालका अनुदान सहयोग दिने, कृषि सम्बन्धी तालिम परामर्श दिने भए हामीलाई व्यावसायिक रुपमा कृषि गर्न थप उत्साह मिल्थ्योे, अहिलेसम्म त्यस्ता खालका कार्यक्रम हुन सकेको छैन,’ पोखरेलले भन्नुभयो ।

अहिले देशमा धेरै युवा बेरोजगार रहेको र रोजगार पाएका पनि विदेशिने गरेका छन् । पोखरेलले युवाहरुलाई आफ्नै देशमा उत्पादनमा र व्यवसायमा सक्रिय बनाएर गाउँ समाजलाई समृद्ध बनाउनु पर्नेमा उहाँको जोड छ ।

‘अहिले कोरोनाका कारण अझ धेरै युवा बेरोजगार छन्, केही विदेश जाने क्रममै छन्, गाउँघरमा धेरै जमिन बाँझिएको छ, आफ्नो जमिन बाँझो बनाएर विदेशिनु राम्रो होइन,’ पोखरेलले भन्नुभयो ‘बाँझो जमिनमा केही उद्यम गरौँ, तत्काल प्रतिफल नखोजौँ, एक दिन सफल भइन्छ, विदेशमा भन्दा राम्रो कमाई यही गर्न सक्छौँ ।’

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *