सहकारीको सह्रानिय कार्य

सम्पादकीय
सहकारी जनताबीचको आपसी सद्भाव र सहकार्यको अवधारणामा जन्मिएको हो । यो समुदायको जरुर एकता आवश्यतकताको बोधका बीच स्थापित भएको हो । यसर्थ सहकारी एक अर्का बीच पारस्पारिक सहकार्यात्मक अवधारणा हो । सहकारीमा समुदायका व्यक्तिहरू संगठित भई सदस्यको हित प्रवद्र्धन गर्ने मुख्य उद्धेश्य हुन्छ । एकका लागि सबै र सवैका लागि एक भन्ने सहकारी संस्थाको यस भावनाबाट पनि धेरै कुरा मुखरित हुन्छ । कुनै व्यक्ति मुखिया या साहु बनेर ऋण लगाउने र मनपरी व्याज, ब्याजको स्याज लिएर निम्न बर्गिय जनता ठग्ने प्रवृत्ति अन्त्य गर्नमा सहकारीको अभूतपूर्व योगदान र भुमिका छ । नियमतः सञ्चालित सहकारीमा मालिक र सेवाग्राही या ग्राहक आफै हुने भएकाले मालिक या साहुँको घरमा हात थाप्न गएको या हार गुहार गरेर विन्ती बिसाउनु पर्ने बाध्यताको कुनै गुञ्जायस हुँदैन ।

नेपालमा सहकारी संस्थाको सुरुवात राणाकालको गुठी, पैँचो, पर्म, धर्म भकारी, ढुकुटीबाट विकसित भएको देखिन्छ । चितवन जिल्लाको शारदा नगरमा २०१३ साल चैत्र २० गते स्थापना भएको बखान ऋण सहकारी संस्था नेपालकै पहिलो सहकारी संस्था हो । नेपालमा हाल करिब ३५ हजार विभिन्न प्रकृतिका सहकारी संस्था छन् । जसमा झण्डै ६३ लाख सदस्य छन् । मुलुकको कुल ग्राहस्थ उत्पादनमा सहकारी क्षेत्रको करिब ४ प्रतिशत योगदान छ । सहकारी क्षेत्रले ६२ हजार नागरिकलाई प्रत्यक्ष रोजगारी दिनुको साथै लाखौँको संख्यामा अप्रत्यक्ष रोजगारी सृजना गरेको छ । मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन पनि सहकारीको भुमिका स्मरणीय छ । सहकारी भित्र पनि अहिले उत्पादनमुलक हिसावले बिषयगत जस्तैः कृषि, फलफूल, दुग्ध, स्वास्थ्य, शिक्षा, यातायात, सञ्चार, विद्युत् लगायत जे जसरी स्थापना भएका छन् । यसले गाउँ तह सम्म आत्मनिर्भर र व्यावसायिक सोच विकासका लागि एक खालको जागरण पैदा गरेको छ । बागलुङ नगरपालिकामा दर्ता भइ वडा नम्बर ११ रायडाँडामा सञ्चालनमा आएको जैविक कृषि सहकारी संस्थाले सहकारीको यस्तै असली भावना र मर्मका साथ काम गर्न प्रयास थालेको छ । गाउँका ४ सय १८ जना सेयर सदस्य रहेको सहकारीले एउटा बाख्रा फर्म सञ्चालनमा ल्याएको छ । सहकारीको कार्यालयमै संकलन केन्द्र राखेर सहकारीले स्थानीय उत्पादनको संकलन गर्दै आएको छ । जसलाई सहकारीको बागलुङ बजारमा रहेको बिक्री केन्द्रबाट बिक्री बितरण गर्दै आएको छ ।

जैविक कृषि सहकारीले अहिले जे कामको अभियान थालेको छ । सहकारीको असली भावना, मर्म र उद्धेश्य पनि त्यही हो । हामीकहाँ बिभिन्न उद्धेश्य राखेर सहकारी खुलाइए पनि ऋण बचतमै सिमित भएको धेरै देखिन्छ । तर, यस सहकारीले गाउँमा उत्पादित तरकारी, फलफुल, दाल, कोदो, मकै, दुध, घ्यू जस्ता उत्पादन बजारिकरण र सदस्यको आवश्यकताका सामग्री घरमै पु¥याइदिने कार्य प्रशंसनीय छ । गाउँमा सिमित उत्पादन हुँदा एक्लै बजार पठाउन नसकिने, बजार मुल्य नपाउने लगायतका समस्या सहकारीले हल गरेको छ । जसका कारण बजार र बिक्री नपाएर कुहिएर जाने या फाल्नुपर्ने चिजको पनि मुल्य आउनु सुखद कुरा हो । यसले सहकारीका सदस्यको परनिर्भरता अन्त्य गर्दै व्यावसायिक र आत्मनिर्भर बन्न महत्वपूर्ण भुमिका खेल्नेछ । अतः यस्ता सत्प्रयासको अरु सहकारी संस्थाले पनि सिको गर्दा राम्रै सफलता र उपलब्धि हात पर्ने छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *