जग्गा दिलाउने प्रलोभनमा पारी ठगी गर्ने ८ जना पक्राउ

आदर्श अनलाइन, पोखरा
जिल्ला प्रहरी कार्यालय कास्कीले सुकुम्वासी समाधान आयोगका नाउँमा ठगी गर्ने ८ जनाको गिरोहलाई पक्राउ गरेको छ ।

सुकुम्वासीका नाउँमा जग्गा दिलाइदिने प्रलोभनमा ठगी गर्ने ३ महिला र  ५ पुरुषलाई प्रहरीले नगद १ लाख ६१ हजार सहित सोमवार सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक त्रिपुरा सुन्दरी गाउँपालिका ३ घर भई पोखरा १३ वस्ने वर्ष ३७ की रिता विश्वकर्मा, पोखरा १७ चोर साँघुकी २२ वर्षीया सोनु परियार र पोखरा १३ वाँझापाटनकी सिता सुनार छन ।

त्यस्तै कास्की माछापुच्छ्रे गाउँपालिका ९ घर भई पोखरा ५ वस्ने वर्ष ३९ का हिरा वहादुर तामाङ, म्याग्दी रघुगंगा घर भई पोखरा १४ चाउथे वस्ने वर्ष ३० का रमेश कुमार परियार, रुपन्देही सैनामैना वडा नं ९ घर भई पोखरा १४ चाउथे वस्ने वर्ष ३५ का ओम वहादुर सुनार, पोखरा १३ मियापाटनका ५० वर्षीय हर्क वहादुर विक र सोही वडाका २४ वर्षीय मौसम सदासंकर पक्राउ परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरिएकाहरुवाट नगद सहित नगदी रसिद प्याड तथा अर्धकट्टीहरु, विभिन्न व्यक्तिहरुको नागरिकताको फोटोकपी १९ थान, अव्यवस्थित सुकुम्वासी समस्या समाधान आयोग काठमाडौं तथा गण्डकी प्रदेश कार्यसमिती गठन गरिएको पत्र तथा रजिष्टर समेत बरामद गरेको जनाएको छ ।

उक्त गिरोहले पोखरा १४ स्थित भोटेचौताराको करिव ३ सय रोपनी जग्गामा सुकुम्वासी वस्ती वसाल्ने योजनासहित तत्कालै घर जग्गा उपलव्ध गराइदिने प्रलोभन देखाउँदै विभिन्न व्यक्तीहरुवाट  रकम समेत संकलन गरेको  कास्कीका प्रहरी प्रमुख एवम प्रहरी उपरीक्षक जिवन कुमार श्रेष्ठले बताउनुभयो ।

“ ठगी गर्ने मनसायले फिल्डमा अमिन समेत लगेर नाँपजाँच गर्ने र सोही अधारमा रकम समेत उठाउने गरेको पायौं ।”उहाँले भन्नुभयो ।

पक्राउ परेकाहरुलाई अपराधिक विश्वासघात तथा अपराधिक लाभ सम्वन्धी कसुर अन्तरगत मुद्धा दर्ता गरी  थप अनुसन्धान प्रक्रिया शुरु गरिएको प्रहरी उपरिक्षक श्रेष्ठले बताउनुभयो ।

यो पनि पढ्नुहोस्