बागलुङका आलु जोनमै आलुको संकट

खेमराज गौतम, बागलुङ

सरकारले प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना अन्र्तगत कृषि उपजका सम्भावना र उत्पादनका आधारमा पकेट, ब्लग, जोन र सुपर जोन क्षेत्र घोषणा गरेर गरी विभिन्न कार्यक्रम ल्याउदै आएको छ ।

यसरी उत्पादनका आधारमा बिशेष क्षेत्र छुट्याएर कृषिमैत्री कार्यक्रम ल्याउन कार्यक्रम लक्षित गाउँ र यहाँका किसान पनि उत्साहित थिए । तर, बागलुङमा यसपटक आलुको जोनको रुपमा पहिचान गरिएका ठाउँमानै उत्पादनमा भारी ह्रास आए पछि स्थानीय कृषक चिन्तित छन् । अहिले आलुको जोनमै आलुको संकट भएको स्थानीय बताउँछन् ।

बागलुङको ताराखोला, ढोरपाटन लगायतका क्षेत्र आलु उत्पादनका लागि निकै उर्बर मानिन्छ । जिल्लाको अधिकांश दुर्गम तथा उच्च पहाडी भेगमा आलु निकै स्वादिष्ट मानिने भएकाले बजार माग उच्च छ । बागलुङमा छ वटा आलुका जोन क्षेत्र छन् । जसमध्ये ताराखोला र ढोरपाटनको आलु नेपालभर प्रख्यात छ । तर, यस वर्ष आलु उत्पादनमा भारी गिरावट आए पछि आलु जोन क्षेत्रका रुपमा रहेको ढोरपाटन, ताराखोला, तमानखोला, बडिगाड र पाण्डवखानीमै आलुको संकट भएको किसानहरुले गुनासो गरेका छन् ।

यस वर्ष अत्यधिक वर्षात्का कारण आलु उत्पादनमा ६० प्रतिशत भन्दा बढी गिरावट आएका कारण आलु जोन क्षेत्रमै आलुको अभाव भएको ताराखोला–५ का किसान भक्तप्रसाद बुढाले जानकारी दिनुभयो । “आलु उत्पादन नहुँदै चार लाख पेश्की बुझेको थिए” बुढाले भन्नुभयो “आलु नफल्दा आधा रकम फिर्ता गरिदिए ।” बुढाका अनुसार अहिलेत घरमा तरकारी खाने आलु समेत छैन । ताराखोलाका किसानलाई आलु व्यापारीले आलु नफल्दै पेश्की स्वरुप नगद अथवा खाद्यान्न सामाग्री उपलव्ध गराउदै आए पनि यसवर्ष आलु उत्पादन नभएका कारण आलुको बिउँ मात्रै जोगाइएको बुढाको भनाई छ ।

बुढाले मात्रै झण्डै १ सय रोपनी क्षेत्रफलमा आलु खेती गर्दै आउनुभएको छ । बुढा जस्तै ताराखोलाका सयौं किसनाले बिक्री गर्ने भन्दा पनि घरमै खाने आलु नभएको गुनासो गरेका छन् । अत्याधिक वर्षात्का कारण आलु उत्पादन नभए पछि आलुको जोन क्षेत्रका रुपमा रहेको ताराखोला सहित बागलुङका अन्य क्षेत्रका किसान ठूलो मारमा परेको कृषि ज्ञान केन्द्र पर्वतले जनाएको छ ।

अहिले बागलुङमा आलु उत्पादनमा भारी गिरावट आए पछि प्रति किलो आलुको खुद्रा मुल्य रु.१ सय पर्न गएको बागलुङ बजारका आलु व्यापारी ऋषिराम जैशीले बताउनुभयो । जिल्लामा उत्पादन हुने आलु यस वर्ष उत्पादनमा ह्वात्तै कमी आए पछि अन्य जिल्लाबाट आलु मगाएर बिक्री गर्दा बढी मुल्य पर्न गएको जैशीको भनाई छ । आलुको बिउ समेत बचाउन मुस्किल भएको ढोरपाटनका आलु कृषक जीवनकुमार पुनले जानकारी दिनुभयो । करिब ४५ रोपनी जग्गामा आलु खेती गर्दै आउनुभएका उहाँले अब वर्षभरलाई पुग्ने आलुको बिउ मात्रै भए पनि जोगाउन समस्या भएको बताउनुभयो । धेरैले व्यावसायिक रुपमा आलु खेती गर्दै आए पनि आफुले परिवारका लागि मात्र तीन रोपनी जग्गामा आलु खेती गरेको र यस वर्ष मकैको दाना जस्तो आलु फलेकाले समस्यामा परेको स्थानीय चकबहादुर अदैले गुनासो गर्नुभयो ।

यस्तै आलुको जोन क्षेत्रमा रहेको गलकोट नगरपालिका–१० पाण्डवखानीमा समेत आलुपाउनै मुस्किल रहेको स्थानीय रेशम रानाले जानकारी दिनुभयो । “पाउँनालाई खुवाउने आलु समेत छैन बेच्नेको त कुरै छाडौं” रानाले भन्नुभयो “आलुबेचेरै जीविका चलाउदै आएका यहाँका कृषिकहरु यसवर्ष आलु नफल्दा मारमा रहेका छन् ।” आलुको ६ वटा जोन बाहेक काठेखोला गाउँपालिकाको धम्जा र गलकोट नगरपालिका–८ मिलनचोक लाई आलुको पकेट क्षेत्रका रुपमा लिइएको छ ।

कृषि ज्ञान केन्द्र पर्वतका सूचना विश्वास काफ्लेले पनि यस वर्ष आलु उत्पादनमा नसोचेको गिरावट आएको बताउनुभयो । “यो वर्ष पूर्व अनुमान गरिए भन्दा अत्याधिक वर्षा भयो, जसका कारणले आलु हुर्कन र फल लाग्नेमा समस्या देखियो,” काफ्लेले भन्नुभयो, “जसका कारण बागलुङका आलु जोनमै ६० प्रतिशत भन्दा बढी आलु उत्पादन घटेको छ । यसले गर्दा अहिले आलु खान मात्रै होइन, बिउ समेत कसरी बचाउने भन्ने पिरलो किसानहरुमा देखिएको छ ।” अहिलेको समस्यामा किसानहरुलाई कसरी राहत अनुदान दिने भन्ने बिषयमा छलफल भइरहेको उहाँको भनाई छ ।
आलुको जोन हुनका लागि ५०० हेक्टरमा आलु खेती गरेको हुनुपर्छ आलुको पकेट क्षेत्र हुनका लागि १० हेक्टर जमिनमा आलु खेती गरेको हुनुपर्दछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *