बलेवा विमानस्थलले जगाएको आशा

सम्पादकीय
बागलुङ बागलुङ नगरपालिका–१४ स्थित बलेवा विमानस्थल । जसको धौलागिरीमा लामै इतिहास छ । विक्रम सम्वत २०२२ सालमा निर्माण भएको विमानस्थल बागलुङ–पोखरा सडक मार्ग बनेपछि २०४८ सालमा आएर बन्द भएको थियो । यसरी बन्द भएको बिमानस्थल देशमा तीन तहको सरकार बने सँगै २६ वर्षपछि सञ्चालनमा आयो । नागरिक उड्डयन प्राधिकरण, विमान कम्पनी र बागलुङ नगरपालिकाबीच २०७४ सालमा सञ्चालनमा त आयो तर बिभिन्न कारण लामो समय निरन्तरता पाउन भने सकेन । पहिलो चरणमा नेपाल वायु सेवा निगमको राष्ट्रिय ध्वजावाहक र तारा एयरको जहाजले हप्ताको दुईपटक एक÷एक उडान भरेका थिए । यात्रुको सुनिश्चिता र विमान कम्पनीको व्यवसाय प्रवद्र्धनमा बागलुङ नगरपालिकाले सघाउने सहमतिमा सुचारु गरिएको विमानस्थल ठुलो आर्थिक भार पर्दै जान थाले पछि नगरले पनि सदैव थेग्न सक्ने अवस्था रहेन र फेरी बन्दको श्रृखंलाको खराब इतिहास दोहोरियो ।

बलेवाबासी, जिल्ला र साविक धौलागिरीबासीका लागि ठुलो आशाका बीच सुचारु विमानस्थल बन्द पछि सांसद, जनप्रतिनिधि र सरोकारवालाको व्यापक आलोचना पनि भयो । यथेष्ट पूर्वधार, सम्भाव्यता अध्ययन र तयारी बिना सञ्चालनमा हतार गरिएको आरोप र आलोचनामा केही सत्य र तथ्यहरु पनि स्वभाविक मिश्रित थियो । जनप्रतिनिधि सांसदलाई चुनावका बेला बिमानस्थ सञ्चालन गर्ने घोषणा गरेको बिषयलाई जतिसक्दो छिटो कार्यान्वयनमा देखाउने हुटहुटी पनि थियो । त्यही कारण गरिएको निरन्तरको पहल र दबाबका बीच विमानस्थल सञ्चालनमा आयो । तर, यात्रु र प्रयाप्त पूर्वाधारका कारण केही महिनामै बन्द हुने अवस्था बन्यो । यद्यपी, यसबीचमा बलेवा विमानस्थलमा कोरोना संकटका बाबजुद पनि धावनमार्गको कालोपत्र गर्ने काम पुनः अगाडि बढेको छ । गत आर्थिक वर्ष भित्रै धावनमार्गको कालोपत्रे गर्नका लागि ग्राभेल गर्ने लक्ष्य राखिए पनि शुरुमा कोरोना भाइरस र लगातारको वर्षाका कारण विमानस्थलको काम प्रभावित बन्यो । र अहिले वर्षा रोकिएपछि कालोपत्रेको काम अन्तिम चरणमा छ ।

अहिले बलेवा विमानस्थलमा भइरहेको धावनमार्ग र विमान पार्किङ स्थल कालोपत्रेको कामले फेरी मुर्छित सपना ब्युँताउन अवश्य भुमिका खेल्नेछ । विमानस्थलमा अरु अत्यावश्यक पूर्वाधार निर्माण सहित मालढुंगादेखि बलेवा विमानस्थल सम्मको सडक कालोपत्रे गर्ने कार्यलाई पनि उत्तिकै तदारुकताका साथ अघि बढाउनु पर्ने देखिन्छ । तीन वर्ष अघि विमानस्थल सञ्चालन भए पनि केके कारण यसको निरन्तरतामा समस्या देखिएको हो ? त्यसको पहिचान गरेर यथेष्ट बाँकी पूर्वाधार, तयारी, समन्वय, सहकार्यमा पनि ध्यान दिनुपर्ने देखिन्छ । अहिले धौलागिरीवासीलाई विमान चढ्न ७२ किमीको यात्रा गरेर पोखरा पुग्नुपर्ने बाध्यता छ । या यात्रा पनि हिउँदमा धुलाम्य र वर्खायाममा हिलाम्य हुँदाको सकस छ । यसकारण विमानस्थल सम्म यात्रुको सहज पहुँच, प्रयाप्त पूर्वाधार निर्माण, विमानको नियमिततालाई सुनिश्चित गर्ने गरी अब बाँकी पहल र प्रक्रिया अघि बढाउनु पर्दछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *