‘योजना कार्यान्वयनमा परम्परागत शैली र प्रवृत्ति बाधक’

आदर्श अनलाइन, बागलुङ
जिल्ला समन्वय समिति बागलुङको आयोजनामा आर्थिक वर्ष २०७६/०७७ मा बागलुङमा सञ्चालित योजना तथा कार्यक्रमको वार्षिक समिक्षा सुरु भएको छ ।

कार्यक्रमको उद्घाटनमा बोल्ने बत्ताहरुले देशमा व्यवस्था फेरिए पनि योजना कार्यान्वयनमा पुराना प्रवृत्ति मुख्य समस्या र चुनौतीका रुपमा देखिएको बताएका थिए ।

बिभिन्न योजनाका झञ्झटिला प्रक्रिया, कर्मचारीको सहजीकरण भन्दा फाइल अड्काउने प्रवृत्तिले उपभोक्ताले परिवर्तनको महुशुस गर्न नपाएको उनीहरुको भनाई थियो ।

समीक्षा कार्यक्रमको उद्घाटन गर्दै संघीय सांसद मनकुमारी केसीले जनताको सेवाका लागि तीन तहको सरकार स्थापना भएकाले नागरिकको आवश्यकता र समस्या क्रमशः सम्बोधन गर्दै जानुपर्ने बताउनुभयो ।

‘पहिले पनि धिमा गतिमा विकास परिवर्तन त भइरहेकै थिए, तर जनताको माग, आवश्यकता र आंकाक्षाका अघि पुराना व्यवस्था मात्रै होइन, पात्रहरु पनि परिवर्तन हुने अवस्था बन्यो,’ सांसद केसीले भन्नुभयो, ‘नयाँ संविधानमा तीन तहको सरकारको परिकल्पना गरियो, घर घर सिहंदरबार सहित अधिकार र अवसर आइरहेको छ, यसमा अझै पनि कमजोरी अप्ठ्याराहरु हुन सक्छन् । त्यसलाई क्रमशः हल गर्दै जाने हो ।’

कार्यक्रममा गण्डकी प्रदेश सभाका प्रदेश मामिला सभापति कृष्ण थापाले तीन तहको सरकारबीच राजा बन्ने महत्वंकाक्षा र अंहमताका कारण आपसी समन्वयको अभावमा जनअपेक्षा पुरा हुन नसकेको बताउनुभयो । स्थानीय सरकारले प्रदेशतिर देखाउने र प्रदेश सरकारले केन्द्रतिर देखाउने गरेर समस्याबाट पन्छिने परिपाटीको विकास हुँदा नागरिकमा निराशा बढेको उहाँको भनाई छ ।

नेपाली काँग्रेस गण्डकी प्रदेश सभा संसदिय दलका मुख्य सचेतक मणिभद्र शर्मा कँडेलले तीन तहका सरकारको नेतृत्वमा मनोवृत्तिमै चरम समस्या देखिएको बताउनुभयो । सामाजिक न्यायको आधारमा योजना तथा कार्यक्रमहरु छनोट गर्न सक्यौ कि सकेनौं भनेर गम्भीर समीक्षा हुनुपर्नेमा सांसद कंडेलको जोड थियो ।

गण्डकी प्रदेश सभा सदस्य इन्द्रलाल सापकोटाले गाउँ गाउँमा बनेको सरकारले केही बदल्ने प्रयास गरे पनि कर्मचारीतन्त्रको परम्परागत प्रवृत्तिका कारण तीन तहको सरकारको नागरिकलाई पृथक परिवर्तनको अनुभूति गराउन नसकेको बताउनुभयो । कर्मचारीतन्त्रमा अहिले पनि काम गर्ने पुरानै शैली रहेको सापकोटाले भनाई थियो ।

कार्यक्रममा जिल्ला प्रशासन कार्यालय बागलुङका निमित्त प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौडेल, नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरीष लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा बोल्ने अधिकाँस वक्ताले कोरोना महामारीका कारण आक्रान्त बनेको जनजीवनलाई सहज बनाउनका लागि सबै तहको सरकारबीच समन्वय हुनु जरुरी रहेकोमा जोड दिएका थिए ।

बिहीबार जिल्ला समन्वय समिति बागलुङ, बागलुङ नगरपालिका, जैमिनी नगरपालिका, गलकोट नगरपालिका, काठेखोला गाउँपालिका, बडिगाड गाउँपालिका, तमानखोला गाउँपालिका, निसीखोला गाउँपालिका, ताराखोला गाउँपालिका, बरेङ गाउँपालिकामा सञ्चालित योजना तथा कार्यक्रमको प्रगति प्रस्तुत गरिएको थियो ।

ढोरपाटन नगरपालिकाबाट पालिका प्रमुख प्रशासकिय अधिकृत दुबै उपस्थित हुन नसकेका कारण शुक्रबार प्रस्तुतिकरण हुने जिल्ला समन्वय समितिका प्रशासकीय अधिकृत खिमबहादुर बिकले जानकारी दिनुभयो । बिहीबार बागलुङका अन्य सरकारी कार्यालय र गैर सरकारी संस्थाहरुको प्रस्तुतिकरण सहित समग्र योजनाको समिक्षा समेत हुनेछ ।

जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुङ्गानाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपप्रमुख विष्णु भुषाल र सञ्चालन प्रशासकीय अधिकृत खिम विश्वकर्माले गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *