जैमिनी हाँडीकोटः एकपटक घुम्नै पर्ने ठाउँ (फोटो फिचर सहित)

दिल शिरीष,बागलुङ

जिल्लाको दक्षिण जैमिनी नगरपालिकाको सबै भन्दा उच्च शिर हाँडीकोट टापु । जो सँग अग्लो हुनुको पहिचान मात्रै होइन, चौतर्फी सुन्दरता देखाउने सामथ्र्य पनि छ । समुन्द्री सतहबाट २१ सय ९५ मिटरको उचाईमा रहेको हाँडीकोट टापुबाट आकर्षक सुर्योदयसँगै चारै तर्फ हिमश्रृंखला, सुन्दर मनोरम प्राकृतिक दृश्य, पाल्पा, बुटवल, गुल्मी लगायतका अनगिन्ती गाउँ शहर देखिन्छन् ।

जैमिनी नगरपालिका वडा न.१० रांखानी, वडा न.७ जैदी र वडा न. ८ छिस्तीको संगमस्थल हाँडीकोट टापु प्राकृतिक रुपमा साँच्चिकै सुन्दर छ । टापुबाट देखिने दृश्यले जो कसैको मन लोभ्याउँछ र मुखार विन्दुबाट स्वतस्फुर्त निक्लन्छ–आहा ! कति सुन्दर, अनुपम । अद्भुत आनन्द दिलाउने हाँडीकोट टापु ।

विश्वव्यापी कोरोना कहरका बाबजुद पनि अहिले हाँडीकोट पुग्ने संख्या बढ्दो छ । यहाँ विशेष गरी ठुलो रेञ्जमा सुर्योदय, सुर्यास्त सँगै चारै तर्फ देखिने सुन्दर दृश्यका लागि उपर्युक्त आकर्षक गन्तव्य स्थल रहेको स्थानीय अगुवा यम पुन बताउँछन् । ऋतु अनुसार त फरक दृश्य देखिन्छ नै, त्यसमा पनि विहान, दिउँसो र साँझमा पनि पृथक मनोरम दृश्यको अवलोकन गर्न सकिने बिशेषता हाँडीकोटले बोकेको छ ।

हाँडीकोट भने टापु भन्दा केही तलै डाँडामा छ । त्यहीँ डाँडाको नजिकै ऐतिहासिक महत्व बोकेको थन्थाप माइको मन्दिर छ । हाँडीकोटमा वि.स १८३१ भन्दा पहिले भुरे टाकुरे राजा थिए । हाँडीकोट राज्यमा अन्तिम राजना रिपु मल्ल र रानी जयन्ती मल्ल रहेको इतिहास छ । उनीहरु कमजोर बन्दै गए पछि आक्रमण हुने भयले तिर्थ जाने भन्दै धुल्लुका पौडेलहरुलाई रेखदेखको जिम्मा दिएर कोट छोडेको किम्बदन्ती छ ।

बागलुङ बजारदेखि जैमिनी नगरपालिकाको केन्द्र कुश्मिसेरा हुँदै राङ्खानी र जैदीको सिमा क्षेत्र बिहारथला सम्मको दुरी ४६ किलोमिटर छ । त्यहाँसम्म गाडीमै सजिलै यात्रा गर्न सकिन्छ । जैदीको बिहार थलादेखि करिब ४५ मिनेटको उकालो पैदल हिँडेपछि हाँडीकोट टापु पुग्न सकिन्छ ।

यहाँ रांखानीको नाम्दुक र डाँडाखानीबाट पनि करिब १ घण्टा सेरोफेरोको पैदल यात्रामा पुग्न सकिन्छ भने छिस्तीको केवैखानीबाट पनि साढे १ घण्टाको पैदल यात्रामा हाँडीकोट पुग्न सकिन्छ ।
हाँडीकोट जिल्लाकै उत्कृष्ट पर्यटकीय गन्तव्य हुँदा हुँदै पनि स्थानीय सरकार र अन्य निकायको प्रयाप्त ध्यान नपुग्दा ओझेलमा परेको स्थानीय तथा फोटो पत्रकार आरके अदिप्त गिरी बताउँछन् ।

‘अरु गाउँ ठाउँमा साना सम्भावनालाई पनि व्यवस्थित गरेर पर्यटन प्रर्वद्धन गरिरहेका छन्, यहाँ प्राकृतिक रुपमै यतिका सम्भावना हुँदा पनि राज्यले यथेष्ट काम गर्न सकेको छैन,’ गिरी गुनासो गर्छन्,‘पर्यटन पूर्वाधार निर्माण योजना पनि कला सापेक्ष चुस्त र व्यवस्थित देखिन्नन्, कसैले सहयोग दियो भने जे पनि राख्ने र काम चलाउ हिसावले गर्दा हाँडीकोटको सौन्दर्य बिग्रन सक्छ, यसमा समयमै सोँच र सचेतता जरुरी छ ।’

हाँडीकोटमा अहिले गण्डकी प्रदेश सरकारको १५ लाख बजेटमा भ्यू टावर निर्माणको काम सुरु भएको छ भने टापुमै विश्वमा बढी मानिने धर्म हिन्दु, बुद्ध, मुस्लिम र क्रिस्चियनको चार वटा ढोका सहितको भित्र पृथ्वीको मात्र पुजा गर्ने गरी मन्दिर समेत निर्माण गरिदैछ । टापुबाट प्याराग्लाइडिङ, म्युजियम, बगैंचा निर्माण गर्ने योजना पनि छ ।

हाँडीकोटमा प्रचुर पर्यटकीय सम्भावना रहेकाले विस्तृत योजना –डिपिआर) तयार गरिएको जैमिनी नगरपालिकाका मेयर इन्द्रराज पौडेल बताउँछन् । ‘हाँडीकोटसँग ऐतिहासिकता मात्र जोडिएको छैन, वर्तमानमा सुन्दर, मनोरम दृश्य सहित पर्यटक आकर्षित गर्ने प्रयाप्त सम्भावना पनि छ,’ मेयर पौडेल भन्छन्,‘अहिले गण्डकी प्रदेश सरकारसँगको समन्वयमा केही पूर्वाधार निर्माणको काम थालनी गरेका छौ, हाम्रै कार्यकालमा धेरै काम गर्न नसके पनि यसको पर्यटकीय गन्तव्य स्थल निर्माणका लागि प्रशस्त आधारहरु तयार गरेर छोड्छौ ।’

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *