सम्पादकीय
शरद ऋतुको मनमोहक मौसम छ । बडादशैं लगायतका महान चाडपर्व यस्तो महिनामा मनाइन्छ । जुन समयको प्राकृतिक दृश्य, मौसमले पनि मन त्यसै मोहित र आनन्दित हुन्छ । जो कोही पनि प्रकृतिसँग लोभिन्छ । यो समय बर्खा सकिए पछि र जाडोयाम शुरु नहुँदैको सबै भन्दा उत्तम समय । यद्यपी अहिलेको दशैं झरिमय बन्यो । तथापी सबै ऋतु मध्येको आकर्षक र उपर्युक्त मौसम भएकोमा दुई मत नहोला । यस्तो साइत कसले जु¥याएको होला ? चाडपर्व यो समयमै मनाउनुमा पनि कति बैज्ञानिक सोच र दृष्टिकोण । आखिर कसले रच्यो यस्तो प्रकृतिसँग मानवता र धर्मको एकै ठाउँमा समष्टिगत रुप भेटिने । जाति, क्षेत्र, धर्म, लि® सबै मेटिएको आभाष दिलाउने । त्यसैले पनि दशै दशैं मात्र रहेनछ, बडादशैं भएको रहेछ की ?
बडादशैं अरु बर्षमा जस्तै आयो र गयो पनि । बडादशैंले अरु दिनहरु जे जति कठिन, कष्टप्रद, सकस, दुःख र तनावमा बिते पनि मानिसहरु केही दिन ति सबै बिर्सिएर बाँचे । कसैगरी बिर्सिन नसक्नेहरु बिर्सिएर रमाउने प्रयास गरे । बिभिन्न बाध्यता, परिस्थिति, परिवन्दमा परेर आफन्तबाट छुटेकाहरुलाई बडादशैंले भेट गरायो । गाउँ घर बिर्सेकाहरुलाई पुनः एक पटक फेरी गाउँघर सम्झायो । शहर बजारमा टिभी, मोवाइल, सामाजिक सञ्जाल र अनलाइनको डिजिटल दुनियाँमा रमाइरहेका बालबालिकालाई गाउँ घर, चाडपर्व, मौलिक सँस्कारबारे थोरै भए पनि जानकारी भयो । उनीहरु डिजिटल दुनिया बिर्सेर केही दिन भए पनि प्रकृति, गाउँ घर, पुराना मौलिकता बोेकेका पिङ, चमच्चाहरु कति खेलेर आनन्द लिने समेत अवसर प्राप्त गरे । कतिले यात्राका क्रममा देखे । मानिसहरु शहर छाडेर गाउँ जाने ठुलो संख्याले दशैंको सँस्कार, शक्ति र सामथ्र्य सहजै झल्कायो पनि । आँफ्ना दिग्गजहरुबाट टीका, जमारा सहित आर्शिवाद थाप्ने सँस्कारले मान्यजनहरु प्रतिको मान, सम्मान र सद्भावको व्यवहारिक सिकाई समेत भएको हुनुपर्छ । यदी दशैं नभएको भए…?
दशैं हिन्दुहरुको महान पर्व भन्ने कथन छ । असत्य माथि सत्यको जित या कुनै समुदाय माथिको जित भन्ने बारेमा बहस पनि जारी छ । तर, बडादशैैंको सबै परिदृश्यले दशैंको फराकिलो आयाम झल्काउँछ । यो नेपालीका बीच सद्भाव, एकता र उत्साहको चाड बनेको छ दशैं । दशैंले ठूलाबडा, मान्यजनप्रति श्रद्धाभाव राख्नुपर्छ भन्ने सिकाउँछ । दशैंको बेला दिने आर्शिवादमा एकखालको उर्जा भेटिन्छ । द्रोणपुत्र अश्वत्थामाको जस्तो लामो आयु, दशरथ राजाको जस्तो सम्पति, रामको जस्तो शत्रु नाश, नहुष राजाको जस्तो ऐश्वर्य, पवनपुत्र हनुमानजस्तो गतिशील, दुर्याेधनको जस्तो मान, सूर्यपुत्र कर्णजस्तै दानवीर, बलरामको जस्तै बल, कुन्तीपुत्र युधिष्ठरको जस्तो सत्यवाद, विदुरको जस्तो ज्ञान र भगवान नारायणको जस्तो कीर्ति प्राप्त होस् भन्ने पवित्र भावना मिश्रित छ । दशैं या यस्ता चाडपर्व परम्पराका नाममा समाजमा विकृत पनि बनेको छ । यस्ता गलत प्रवृत्तिलाई अन्त्य गर्नुपर्छ । घर, परिवार, समाज र देश सम्झन पनि अहिले दशैं आउनु पर्ने जस्तो अवस्था देखिएको छ । यो दुरावस्था नदेखियोस् । दशैंको भने हर हिसावले महत्व बढ्दै जाओस् । जसले घर, परिवार र समाजको सामाजिक एकता र सद्भावलाई बलियो बनाउनेछ ।