साधना पन्त
जिल्लाको ताराखोला गाउँपालिकाको जुल्फे किबी पकेट क्षेत्रमा किबीका बिरुवा उत्पादन गर्न थालिएको छ ।
यसअघि किबीका बिरुवा बागलुङ जिल्ला बाहिरबाट मात्रै आयात गरिन्थ्यो । ताराखोला गाउँपालिका वडा नम्वर–५ नागीका रतनबहादुर घर्तीले व्यावसायिक रुपमानै किबी र जडीबुटीका बिरुवा उत्पादन गर्न थाल्नुभएको छ ।
भ्रमणका क्रममा इलाममा किबी र जडीबुटीको बिरुवा उत्पादन गरेको देखे पछि आफुले पनि बिरुवा उत्पादन थालेको उहाँको भनाई छ । लामो समयदेखि कृषिमा लाग्नुभएका घर्ती अब आफै किबीका बिरुवा बनाएर बिक्री गर्ने योजनामा हुनुहुन्छ । सुरुमा किबी खेती गर्ने भनेर बिरुवा खोज्दा खोज्दै हैरान हुनुभएका घर्तीले आफ्नै बारीमा स्थापना गरेको ग्रिन हाउसमा १६ सय किबीका बिरुवा उत्पादन गर्नुभएको छ । किबीका बिरुवा सँगै उहाँले बहुमुल्य जडीबुटीका बिरुवा समेत उत्पादन गर्दै आउनुभएको छ ।
‘हामीले किबी लागाउनका लागि रुकुम पुगेका थियौ, बिरुवा लियौं, तर अब हाम्रो ठाउँका कृषकलाई टाढा–टाढा धाउनु पर्दैन,’ घर्तीले भन्नुभयो, ‘अब पुस, माघ र फागुनमा किबीको बिरुवा पलमी गरे पछि बल्ल किबी फल्ने खालको बिरुवा उत्पादन हुन्छ ।’ समुन्द्री सतहको १५ सय देखी २२ सय उचाइमा निकै राम्रो किबी हुने भएकाले ताराखोलाका कृषकले किबी खेती गर्ने उद्देश्य अनुरुप गरे पनि बिरुवाको अभावले सोचे जति बिरुवा लगाउन नपाउँदा निरास भएको पाए, अनि आफैले बिरुवा उत्पादन गरेको हुँ ।’ घर्तीका अनुसार, किबीका बिरुवा जिल्लामै पहिलो पटक उत्पादन थालिएको हो ।
करिब दुई लाखको लगानीमा ग्रिन हाउस निर्माण गरी किबीको बिरुवा उत्पादन थालेको बताउनुभयो । यस वर्ष मात्रै झण्डै किबीका बिरुवा बिक्रीबाट झण्डै पाँच लाख आम्दानी गर्ने लक्ष्य छ ।
उहाँले जंगलमा पाइने जडीबुटी तर लोप हुन लागेका सतुवा र बिखमाको बिरुवा र बिउ उत्पादन गरेको बताउनुभयो । समुन्द्री सतह देखी दुई हजार २ सय मिटरको उचाइमा हुने जडीबुटी भएकाले यो जडीबुटी जुनसुकै ठाउँमा हुँदैन । यसकारण पनि जडीबुटीको खेति थालिएको छ । ‘बनमा लोप हुन लागेका जडीबुटीलाई विगत पाँच वर्षदेखि आफुले बिउँ र बिरुवा उत्पादन गरेको छु ।’ अहिले जडीबुटीको संरक्षणमा नलागे भोलीका दिनमा भावी सन्ततीले सतुवा जडीबुटी भन्ने के हो भनेर सोध्ने दिन आउने उहाँको भनाई छ ।
सकटकालमा गाँउमा बस्ने वातावरण नभएर मलेसिया जानुभएका घर्ती ३ वर्षमै आफ्नै देश फर्केर व्यावसायिक कृषि पेशामा लागेको बताउँनुहुन्छ । उहाँले विदेश जादाँ लागेको ऋण समेत नतिरी फर्केर आफ्नो गाँउमा कृिष गर्ने उदेश्य बोकेर आए पनि त्यस समयमा गाउँमा के गर्ने र कसरी गर्ने भन्ने थाहानै नभई भैसी,बाख्रा पालेर बस्नुभएको थियो । गाउँपालिकाले कृषि गर्न मानिसहरुलाई कृषि अवलोकन भ्रमण गएपछि व्यवसायी बन्न सिकेको घर्तीको भनाई छ । ५० वर्षका घर्तीले अहिले आफ्नै घरमा टमाटर, खुर्सानी, काउली, बन्दा, उखु, फर्सी, आलु आदी खेती गर्दै आउनुभएको छ ।
ताराखोलाको वन, घुम्टेको बनमा १ सय ५० भन्दा बढी जडीबुटीहरु पाइएता पनि उचित रुपमा पहिचान संरक्षण तथा निकासा नहुँदा करोडौं रुपैयाँका जडीबुटीहरु जंगलमै कुहिएको सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय सदस्य प्रेम लामिछानेले बताउनुभयो । उहाँले जडीबुटीको वैज्ञानिक रुपमा बिउ उत्पादन गरी जडीबुटीको पकेट तथा व्लक बनाएर व्यावसायिक उत्पादन गरे मात्र आम्दानी हुन सक्ने बताउनु भयो । अहिले ताराखेलाको साविक १,७,८ का वडामा जुल्फे किबी पकेट क्षेत्र भनेर समेत कृषी ज्ञानकेन्द्र पर्वतले सुचिकृत गरेको छ ।