संस्कार, संस्कृति र सामाजिक मान्यता

राम सुवेदी

हामी बीचमा हिन्दु धर्मावलम्बीहरुको पर्व दसैं भित्रिएको छ । यस पर्वलाई राज्य तहबाटै समाजमा स्थापित गर्ने काम भएको पाइन्छ । नेपाल बहुधार्मिक, बहुसाँस्कृतिक र बहुआयामिक समुदाय स्थापित राज्य हो । तर, परम्परा,संस्कृति र संस्कारहरु हिन्दु धर्मावलम्बीको बाहुल्यताको स्थिति छ ।

प्रचलन, मान्यता, भनाई, बुझाई र त्यसको ग्रहणले स्थापित गरिदिएको सामाजिक बैद्यता हाम्रो संस्कार र संस्कृति हो । हामीले ग्रहण गरेको वा मान्ने गरेको अर्थमा संस्कृति भनेको मानव जीवनपद्धतिको सम्पूर्णता भनिदो रहेछ । आफ्नो सभ्यता सहितको संस्कृति निर्माणको क्षमता भएकै कारण मानव समुदाय अन्य प्राणी भन्दा फरक वा विशिष्ट होला । समाजका हर मानव समुदायमा आ—आफ्नै सभ्यता सहितकोे मानव जीवनसँग सम्बन्धित संस्कार र संस्कृति स्थापित छन् ।

परम्परा, अग्रजकथन, मान्यताको निरन्तरता जसले आफ्नो समुदाय, मानि आएको धर्म संस्कृति, परम्परा छन् । आज हामी बीचमा भएका सँस्कृति सवालहरु त्यहीबाट प्रतिस्थापित भएका हुन् । यस्ता संस्कार संकृतिहरु कतिपय हानिकारक पनि छन् । कतिपय परम्परासँग मान्यता राख्ने प्रकारका पनि छन् । सामाजिक सभ्यता त्यस समय कस्तो थियो ? त्यही परम्परा आजका संस्कार र संस्कृतिसँग मिलेर आएको हो । मानव सभ्यता समयानुकुल परिवर्तित हुनेहुँदा आज जस्ले जे जसरी मान्छौं, बुझ्छौं, राम्रो नराम्रो केलाउँछौं । त्यही हदसम्मको हाम्रो मान्यता संस्कार संस्कृतिमा अडिएको छ ।

तपाई हामीले मानि आएको प्रचलन, हाम्रो आफ्नो रहन सहन र परापूर्वकालिन मान्यता जे आज हामी बीचमा छन् । त्यो सकरात्मक होस् वा नकरात्मक सबै चिज हाम्रा परम्परागत संस्कृतिलाई रूप पक्ष वा सार पक्ष हुन् । त्यसकारण भनिएको छ–हाम्रो सभ्यता संस्कृति मानव समुदायको साझा सम्पत्ति हुन् । संसारको कुनै पनि ठाउँ विशेष वा मानव सभ्यताको विकाससँगै उनीहरुले आफै निर्माण गरेको विधि, मान्यता, प्रचलन र अस्तित्व नै मानव सभ्यता सहितको संस्कृति हो ।

हाम्रो जस्तो मुलुक सांस्कृतिक विविधता र बहुलता भएको मध्येमा पर्दछ । नेपालको समृद्ध सांस्कृतिक विरासत कयौं शताब्दीको अन्तरालमा विकसित भएको अध्ययनले बताउँछ । हरेक मुलुकमा आफ्नो स्थापित संस्कृति र कतिपय अन्य छिमेकी मुलुकबाट आएका मानव सभ्यता अनुसारका आयातित मूल्य मान्यता सहितका संस्कार संस्कृति रहि आएका हुन्छन् । हाम्रो देशमा जति बेला मानव सभ्यताको विकास हुँदै जान्छ, तब केही संस्कृति तिब्बत र केही भारतबाट आयातित देखिन्छन् । किनकी हामीले मान्दै आएका वा ग्रहण गर्दै आएका साँस्कृतिक मान्यताहरु त्यहाँका सँग मिल्दाजुल्दा छन् । हाम्रो भेषभूषा, भाषा तथा खानपान रहनसहनमा धेरै समानता छन् ।

यसरी नै वैदिक सनातन एवं प्राकृतिक धर्ममा विश्वास गर्ने नेपालीहरूले आज मनाउने प्रमुख पर्व दसैं पनि एक हो । यो पर्व शरद ऋतु अर्थात् आश्विन शुक्ल पक्षमा पर्छ, जसलाई देवी पक्ष भन्ने मान्यता छ । शरदको पन्ध्र दिन भित्र आदि शक्ति देवी भगवतीलाई प्रसन्न पार्न अनेकौँ धार्मिक अनुष्ठान एवं पूजा—आरधाना गर्ने प्रचलन त्यहो भारतमा छ,भुटानमा पनि छ । छिमेकी मूल बंगलादेश, श्रीलंकामा पनि छ ।

प्राप्त साँस्कृतिक मुल्य मान्यता अनुसार शरद ऋतुसँगै हाम्रो बीचमा रहेको देवी पक्षहरू वर्षमा तीन वटा पर्छन् भनिएको छ । एकः असोजको यो कालरात्री पर्ने देवी पक्ष, दोस्रोः कात्तिकमा सुखरात्री, तेस्रोः चैत्रमा महारात्री । संस्कृति परम्परा अनुसार आश्विन शुक्लमा पर्ने कालरात्रीलाई विशेष रूपमा मनाउने चलन छ जस अन्तर्गत बडादसैं पर्दछ । यसलाई हिन्दुधर्मावलम्बीले विशेष महत्व दिएको संस्कृति पर्व वा साँस्कृतिक महत्वसँग जोडिएको देखिन्छ ।

आश्विनको शरद पक्षमा मनाइने दशैंमा शक्ति स्वरूपा देवी भगवतीका अनेकौँ स्वरूप छन् भनेर मान्यता स्थापित गरिएको छ । धर्म संस्कार र संस्कृति अनुसार शरद पक्षमा स्वरूपको वर्णन दुर्गा शप्तशती एवम् देवी भागवत जस्ता ग्रन्थहरूमा समेटिएको भेटिन्छ । ती मध्ये प्रमुख रूपमा शैलपुत्री, ब्रह्मचारिणी, चन्द्र घण्टा, कूष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्री नाम गरेका देवीको पूजा—आराधना दसैंका नौ दिनसम्म क्रमैसँग हुन्छ । जसलाई नवदुर्गाका नामले चिनाइएको छ । यसभित्र लुकेका कथनहरु, मुल्य मान्यतासँगै हाम्रा धर्म संस्कृति, प्रचलन र मान्यताले राजनीति गरेको पनि भेटिन्छ । वा जसले राजकाज बढी चलायो, त्यसको समर्थन हाम्रो स्थापित धर्म संस्कृति र संस्कारहरुको प्रभावमा जाने गरेको पाइन्छ । जस्तोः नेपालमा हिन्दु धर्म संस्कृति मान्नेहरु राजकाजमा भएकाले यस धर्म संस्कृतिलाई बढी प्राथमिकता दिने, हर्षोल्लास बढी यसैमा गर्ने, परम्परा जस्तो बनेको देखिन्छ ।

नेपालको राजनैतिक परिवर्तन पछि प्राप्त भएको नागरिकको वाक स्वतन्त्रता, अधिकारका कुरा राख्न पाउने संवैधानिक व्यवस्था र जागरुक जनताले जान्ने बुझ्ने र आफ्ना पनि धर्म संस्कृतिलाई उजागर गर्ने सजगताले सबैका लागि दसैं ठीक वा बेठीक भनेर बहस गरिएको पनि पाइन्छ । साँस्कृतिक मुल्य मान्यताका रक्षक जो छन्, उनीहरुले आ—आफ्ना संस्कृति, संस्कार मान्यताको आफै संरक्षण गर्नु आवश्यक छ तर सबैमा लाद्नु आवश्यक पक्कै होइन ।

हाम्रा संस्कार संस्कृतिहरु समाजका मानिसहरूको जीवन पद्धतिको तरिका हो । समाजमा विकसित भएका सामाजिक मूल्य मान्यता, परम्परा, धर्म, शैली, उत्पादनको तरिका, प्रविधि लगायतको सम्पूर्ण भौतिक तथा अभौतिक स्वरूप हो । मानवले आफ्नो दैनिक कार्य प्रक्रिया र त्यो प्रक्रिया पूर्ति गर्नका लागि विकास गरेको मूल्य मान्यता, प्रथा, भाषा, रितिरिवाज, मानवीय व्यवहारको कला, सामाजिक विचार, धार्मिक ढाँचा आदिको समग्रता हो । जुन अजैविक हुन्छ र समाजमा हस्तान्तरित हुन्छ । त्यो समाजमा स्थापित छ । जो समुदाय स्तरको फरक–फरक पनि छ ।

हामी बीचमा आएको दसैं, एक समुदाय, एक धर्म संस्कृति भएकाहरुका लागि पक्कै आएको होला तर सबैका लागि होइन भने अन्य समुदायका आ–आफ्नै संस्कार संस्कृतिलाई समेत राज्यले यसरी नै महत्व दिनु वा स्थान दिनु आवश्यक र न्याय संगत हुनुपर्दछ । हाम्रो बीचका सबै सामाजिक मूल्य मान्यताहरु साझा हुन् भनेर बोलेर मात्र भन्दा पनि साँस्कृतिक रुपले नेपाली समाज एक जिवित संग्रहालय हो, संस्कृति एउटा समाजबाट अर्को समाजमा, एउटा व्यक्तिबाट अर्को व्यक्तिमा र एउटा पिढीबाट अर्को पिढीमा हस्तान्तरण हुँदै जने पद्धति हो । सबैका लागि आफ्नो संस्कृति संस्कार प्यारो छ, यो निरन्तर भइरहन्छ । समय अनुसार परिवर्तन र परिष्कृत पनि हुँदै जान्छ । तसर्थ, सामाजिक सांस्कृतिक विविधता व्यवस्थापन राष्ट्रिय एकता र विकासका लागि समेत अनिवार्य मानिन्छ । त्यसमा संवैधानिक व्यवस्था, सामाजिक मान्यता र राज्य तहबाट सम्मान समर्थन गर्न्ु जायज हुनेछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *