सजगता सहितको दसैंःआँफु पनि जोगिऔं,अरुलाई पनि जोगाऔं

शहरबाट दसैं मनाउन गाउँ गएर घरमा सुरक्षित रहेका बुढा बाआमालाई कोरोना भाइरस कोसेली लिएर जानु भएको रहेछ भने त्यो भन्दा दुखद र नमिठो क्षण कुनै हुने छैन ।

कोरोना कहरका बीच बडादसैंको धेरथोर रौनकता गाउँ शहरमा देखिइरहेको छ । यद्यपी नेपाल सरकारले सके सम्म जहाँ छौ, त्यही स्थानमा स्वास्थ्य सुरक्षा सचेतता सहित दसैं मनाउन भनिरहेको छ । दसैं मनाउन गाउँ घर आउनेहरुबाट कोरोना संक्रमणको जोखिम पनि बढ्दो छ । यस्तो बेला कसरी दसैं मनाउने ? हामीले केही प्रतिनिधि धारणा र सुझाव समेट्ने प्रयास गरेका छौ । प्रस्तुत छ आदर्शकर्मी साधना पन्तले गरेको कुराकानीको सम्पादित अशंः

महेन्द्र तिमिल्सिना
कुश्मा १३ पर्वत, हाल बागलुङ बजार

अघिल्लो बर्ष सेप्टेम्वर महिना तिर चाइनाको वुहान शहरमा पहिलो पटक देखा परेको कोरोना भाइरस अयखष्म(ज्ञढ अहिले एक बर्ष पुगिसक्दा सम्म बिश्वका सवैजसो देशमा फैलिइसकेको छ । नेपालीको महान चाड बडादसै हामी सबैको घरदैलोमै आइसकेको छ । स्थानीय तथा जिल्ला सदरमुकाम स्थित बजारहरूमा किनमेल गर्नेहरूको भिडभाड देखिन्छ । यो गलत भइरहेको छ । किनभने म आफै पनि कोरोना भाईरसबाट संक्रमित भई १७ दिन अस्पतालको बेडमा बसेर उपचार पश्चात शनिवार मात्रै डिस्चार्ज भएर सेल्फ आइसोलेसनमा छु । हामीले बाहिर देख्दा यो रोग केही होइन भने पनि सवै बिरामीको लागी कोरोना भाइरस सामान्य नहुने रहेछ । म आफै पनि करिव १ हप्ता निकै भयावह अवस्थाबाट गुज्रिए । त्यसकारण मैले यो कोरोना भाइरस कमजोर खालको भाइरस हो भनेर भन्न सक्दिन । मेरो घरमा ९४ बर्षको हजुरआमा अनि ७० बर्षको बुबा र ५८ बर्षको आमा देखी ५ बर्षको छोरा पनि छ । सोही कारण म यसपालीको दसैंमा घर नजाने निर्णय गरेको छु । किनकी म हिजो मात्र अस्पतालको आइसोलेसनबाट डिस्चार्ज भएर यतै कार्यरत कार्यालयमा सेल्फ आइसोलेसनमा छु । स्वास्थ्यको मापदण्ड अनुसार कोरोना संक्रमित मानिसको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आइसकेपछि पनि १४ दिन होम या सेल्फ आइसोलेसनमा बस्नु पर्ने र अन्य स्वास्थ्य सुरक्षा सावधानी अपनाउनु पर्ने रहेछ । पेशाले म एउटा सुरक्षाकर्मी पनि हुँ, हामीलाई यस्ता चाडबाडहरूमा अन्य अवस्थामा भन्दा बढिनै खटिनु पर्ने हुन्छ । त्यसकारण छुट्टि पाऊन पनि गाह्रो हुन्छ । हाम्रो अनुपस्थितिमा घरमा आफ्नो एउटा परिवार दुखी भए पनि हामी ड्युटीमा खटिदाँ यहाँ धेरै परिवारहरू ढुक्कले खुसीका साथ दशै मनाउन पाउनु हुन्छ । हामीलाई यसैमा खुसी लाग्छ । त्यसैले पनि घरमा बुबाआमा, श्रीमती छोराछोरी सवैलाई मैले फोनबाटै सबैकुरा सम्झाएर यसपालीको दसैंैमा अति आवश्यक सामानहरू मात्रै किनमेल गरियो । दसैंको टीका पनि आ–आफ्नै घरमा भएकाहरूले मात्रै लगाउने र छरछिमेकमा समेत नजाने र उनीहरुलाई समेत नआउन अनुरोध गरिएको छ । घरको सबैजना परिवार बुझ्ने हुनुहुन्छ । उहाँहरू सबै जना मेरो कुरामा सहमत हुनुहुन्छ । र अर्को साल सँगै बसेर दसैं मनाउने आशाका साथ यसपाली जो जहाँ छौ, त्यही नै बसेर दशै मनाउने छौ ।

मैले सम्पुर्ण नेपाली बुबाआमा, दाजु भाई तथा दिदिबहिनीहरूलाई के भन्न चाहन्छु भने यो कोभिड १९ अर्थात कोरोना भाईरस सामान्य खालको भाइरस होइन तिनीहरूको लागी जो लामो समयदेखी नियमित औषधीहरू सेवन गर्दे आईरहेका छन् । जो हाल सम्म बिरामी भएको छैन भनेर नियमित स्वास्थ्य चेकजाँच नगरी म स्वस्थ छु भनेर हिँड्छन् तिनीहरूको शरीरमा रोग प्रतिरोधात्मक क्षमता कमजोर रहेछ भने कोरोनालाई जित्न निकै गाह्रो पर्छ । मैले अस्पतालमा कोरोना सँग लड्न ठुलो संघर्ष गरिरहेको बिरामी पनि देखेको छु । जहाँ हाल सम्म मेरो स्वास्थ्यमा कुनै समस्या थिएन भन्नेहरू पनि मुखबाट अक्सिजन लगाएर हप्तौ देखी कोरोना संग लडिरहेका छन् । सोही कारणले पनि हामी रह्यौ भने दशै त अर्को साल पनि आउने हुँदा यसपालीको दसै तथा तिहारमा जो जहाँ हुनुहुन्छ त्यही बसेर सुरक्षित तवरबाट दशै तिहार मनाउनु होला । आम सर्वसाधारण आफ्नो र आफ्नो परिवारको स्वास्थ्य सुरक्षाको लागी आफु स्वयम जिम्मेवार रहनु पर्ने हुदा अनावश्यक रूपमा बजारमा किनमेल, भिडभाड र यात्रामा नजानुहोला । पुरानै लुगाफाटो लगाएर दसैं मनाउँदा पनि हुन्छ । किनभने स्वास्थ्य भन्दा ठुलो लुगा फाटो, दसैं र तिहार जस्ता चाडबाड हुन सक्दैनन् । आफ्नो धर्म संस्कृति र रितिरिवाज अनुसार चाड मनाउनुस् । तर, जो जहाँ हुनुहुन्छ त्यही बसेर ढुक्क तरिकाले मनाउनुस् । भोली शहरबाट दसैं मनाउन गाउँ गएर घरमा सुरक्षित रहेका बुढा बाआमालाई कोरोना भाइरस कोसेली लिएर जानु भएको रहेछ भने त्यो भन्दा दुखद र नमिठो क्षण कुनै हुँदैन । त्यसैले पछि पछुताउनु भन्दा अहिलेनै सजग रहनु राम्रो हुन्छ । अन्त्यमा सवैलाई मेरो के आग्रह छ भने घर बाहिर निस्कदा सकभर बृद्ध मानिस तथा बालबालिकालाई लिएर ननिस्कनुस्, एक्लै हिँड्नुहोस्, भिडभाडमा नजानुहोस्, एक अर्का बीच भौतिक दुरी कायम गर्नुहोस्, माक्सको अनिवार्य प्रयोग गर्नुहोस् । सेनिटाइजरको प्रयोग गर्नुहोस् । बारम्बार साबुन पानीले राम्रो सँग हात धुनुहोस् । तातो पानी वा उमालेर सेलाएको पानी मात्र पिउनुको साथै शरिरमा इम्युनिटी पावर बढाउने खालका खानेकुरा खानुहोस् । सबैजनालाई बिजया दशमीको हार्दिक मंगलमय शुभकामना ।

सिताराम थापा
अध्यक्ष, सत्कर्म नेपाल

नेपालीको माहान चाड दसैंको रौनकता छ । अर्को तर्फ सबै भूभागमा कोरोना भूसको आगो झैं फैलिदो छ । दसैं विगतमा जस्तै गरि मनाउने अवस्था सोच्न पनि भूल हुने ठानेको छौं । दसैंको बेला देशको सबै अस्पतालहरु कोरोना संक्रमितले भरिभराउ भएर उपचार गर्न नसक्ने अवस्थामा छन् । लामो समय लकडाउन गर्दा नियन्त्रण नभएको कोरोना सरकारले दसैंको मुखमा आएर निशुल्क उपचार नगर्ने घोषणा गरेको छ । सानो भूलबाट पनि होसियार भएर दसै मनाएमा मात्र कोरनाबाट बचिने सन्देस प्रवाह गरेको छु । यसैले यो बर्ष जन्मघर र परिवारलाई भेट्न नजाने निधो गरि कर्म घर बागलुङमै बसेर कोरनाबाट परिवार र आफन्तलाई जोगाउने निर्णय गरेका छौ । दसैं भनेर गाडी चढेर बजार जाने,भिडभाडमा गएर परिवार लगेर किनमेल गर्ने, साथिभाइ भेटेर रमझम गर्ने, काम स्थगित गरि चाडपर्व सकिए पछि सुनसानमा किनमेल गर्ने निर्णय लिएका छौ । यति मात्र हैन, दसैंमा ठुलाको आर्शिवाद लिन टीका थाप्ने आफन्त, नातागोताकहाँ गएर टीका नलगाउने मेरो सिंगो परिवारको योजना छ । दसैंमा ठुलाबडाको आशिष र भेटघाट अनलाइनबाट गरिने छ । यसैले सिंगो परिवारको खाली निधार राखेर कोरनाबाट जोगिन हामी आफै नमुना देखाउन सके मात्र वास्तविक र व्यवहारिक अर्थमा जिम्मेवारीपूर्ण भुमिका निर्वाह गरिनेछ । सरकारले निर्धारण गरेको स्वास्थ्य मापदण्डहरुको पालनामा दसैंमा झनै सतर्कता बढाउने प्रतिबद्वता गरेका छौं । दसैंमा हुने भेटघाट पनि सचेतना अपनाउने कोशिस गरिने छ । दसैंमा लेख्ने,पढ्ने र टेलिभिजन अनलाइनबाट मनोरञ्जन लिने साँेच बनाएका छौं ।
कोरोना महामारीमा दसैंमा निम्न कुरा ख्याल राख्न सुझाब पेश गर्दछु ।
१. कोरना लागेपछि मात्र थाहा नहोस्, आफ्नै सानो होसियारी नपुग्दा कोरना भयो । म मात्र त हो नि, जोगिन्छु भनेर वा रिसाउछन् कि भनेर पुजनिय र मान्यजनकहा टीका थाप्न नहिँडौ । राज्यले हिँड्न दिएको भनेर यातायातमा भिडभाड गरि यात्रा नगरौं । आफ्नै घर परिवारमा टीका लगाउन परे खुल्ला फराकिलो ठाउँमा लगाउने । टीका लगाउँदा मास्क,फेससिड, सेनिटाइजर लगाई टाढै बसेर कुरेर कडाई पुर्वक सुरक्षा सचेतता अपनाऔ । मान्यजन र बृद्वहरु, दीर्घ रोगी र बालबालिकालाई ख्याल गरौ ।
२. राजधानी र जिल्ला सदरमुकामबाट गाउँमा र गाउँबाट शहरमा कोरना सर्ने क्रम बढेकाले सकभर यस्तो जाने आउने काम यस पटक नगरौं । अति आवश्यक परे आफ्नो परिवारको स्वास्थ्य सुरक्षा गरि सानो र निजी गाडीमा जाऔं । मान्यजन, घरपरिवार र आफन्तजनलाई कोरोनाले ज्यानै लिने उपचार नहुने र महङ्गो लाग्नेबारे फोन अनलाइनबाट जानकारी दिऔ । उहाँहरुलाई नआउदै खुसी हुने बनाऔं
३. मन्दिर जाने, पुजाआजा, बलि, खेलकुद नाँचगान गरि भिडभाड नगरौ । सरकारले लकडाउन नगरे पनि आफ्नो ज्यान आफै जोगाऔं, स्वअनुशासन पालना गरौ । स्थानीय सरकारलाई चाडपर्वमा निषेधज्ञा गर्ने, कोरना सचेतना फैलाउन अनुरोध गरौ ।
४.कोरना संक्रमित जसलाई पनि हुन सक्छ भन्ने ख्याल गरौं । चाडपर्वमा कोरोना फैलिन्छ भन्ने निश्चित छ भन्ने बुझेर व्यवहार गरौ । चाडपर्व मनाउन पैसाको अभाब भएको बेला दसैंमा कोरोना सारेर उपानर गर्न झनै पैसाको समस्या खेप्न नपरोस् भनेर पुर्ववत सजगता अपनाऔं ।

राम शर्मा
अधिकारकर्मी, बागलुङ

कोरनाका कारण विश्व आक्रन्त छ । मानिसको मन, आस्था बन्धक छ । ब्यवहारिक र ब्यापारिक तिब्र प्रतिस्पर्धाका कारण मान्छे रोग लुकाउन उद्वत छ । डेरामा बस्नेलाइ घरबेटीका डरले रोग लुकाउनु छ व्यापारिक हिसाबले रोग लुकाइएका छन् । लाग्छ कोरना संक्रमण नभएको त्यस्तो ठाउँ नै छैन । ययसपालीको दसैंको टीका कसरी लगाउने भने बारेमा हामी दाजु भाइले सल्लाह गर्दा बुढा भएका बुबाआमालाई संक्रमणबाट जोगाउन आ–आफ्नो घरमा मात्रै टीका लगाउने,खानपिन गर्ने परिवार भित्र दक्षिणाको प्रयोग नगर्ने, आफ्नो घर परिवारका सदस्य मात्रै टीका लगाउने, ससुराली, माइत र मामाघर नजाने र आफ्नै परिवारले मात्र यस वर्षको दशै मनाउने निर्णय गरेका छौ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *