दसैं मान्न आएका युवामा कोरोना पुष्टि,काठेखोलाको धम्जा शील

आदर्श अनलाइन,बागलुङ

जिल्लाको काठेखोला गाउँपालिका वडा नम्बर-३ धम्जा पाँच दिनका लागि शील गरिएको छ ।

नेपालीहरुको महान पर्व बडादसैं मनाउन घर आएका एक युवामा दसंैकै दिन कोरोना संक्रमण पुष्टि भए पछि गाउँ नै शील गरिएको वडा सदस्य खुम भण्डारीले जानकारी दिए ।

क्षयरोग परीक्षण केन्द्रको प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा सोमवार भारतबाट आएका साविक धम्जा गाविस-८ का युवामा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमित युवकलाई धौलागिरी अस्पतालको आइसोलेसनमा पठाइएको छ ।

ती युवक एक साता अघि भारतबाट सदरमुकाम बागलुङ बजार आएका थिए । बजार आएर होम क्वारेन्टिन बसेर केही दिन अघि मात्रै पीसीआर परीक्षणका लागि स्वाब दिएका थिए । तर, स्वाबको पीसीआर रिपोर्ट नआउँदै वडा कार्यालयलाई कुनै जानकारी नदिई आएकाले गाउँ नै संक्रमणको जोखिममा परेको निष्कर्ष सहित शील गरिएको काठेखोला ३ धम्जाका वडा अध्यक्ष यामबहादुर श्रीसले जानकारी दिए । स्वाब दिए पछि कुनै लक्षण नभएकाले उनी गाउँमा परिवारका साथ दसैं मनाउन र साथीसंगी सँग गाउँघरका खेलकुद लगायतका कार्यक्रममा पनि सहभागी थिए । कोभिड १९ रोकथाम तथा नियन्त्रण प्रतिकार्य समन्वय समितिको आकस्मिक बैठकले गाउँमा ५ जना भन्दा बढी भेटघाट, भेला र आवत जावत गर्न नपाउने निर्णय गरेको छ ।

अध्यक्ष श्रीसका अनुसार, मंगलबार साँझ ७ बजेदेखि आगामी कात्तिक १५ गते राति १२ बजे सम्म लागु हुने गरी दुध, निर्माण सामग्री, खाद्यान्नको अत्यावश्यक बाहेकका सार्वजनिक यातायात, मोटरसाइकल पूर्ण रुपमा बन्द गर्ने निर्णय गरिएको छ । वडा कार्यालयले यस अवधिमा गाउँबासीलाई घरमै सुरक्षित रुपमा बस्न आग्रह गरेको छ । यस वडामा हाल सम्म भारत लगायतका ठाउँबाट आएका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *