कोरोनाले संकटमा होम-स्टे,पाएनन् स्थानीय उत्पादनले बजार

फाइल तस्बिरः जिल्लाको भकुण्डे होम स्टेमा गत वर्ष पाहुनालाई स्वागत गर्दै स्थानीय ।

डम्मर बुढा मगर, बागलुङ

महारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण पछिल्लो समय फस्टाउदै गरेका होम स्टे संकटमा परेका छन् ।

गत वर्षको चैत्रमा लकडाउन भए यता जिल्लाका होम-स्टे सुनसान बनेका छन् । जिल्लाको पहिलो तथा चर्चित बानपा १० भकुण्डेको अतिथी सत्कार होम स्टे पनि सुनसान छ । कारण कोरोना संक्रमणको जोखिमले फोन सम्पर्क गरेर आउन खोज्नेलाई पनि पाहुना नराख्ने जानकारी दिन बाध्य भएको होम स्टे सञ्चालक खिमबहादुर थापा बताउँनुहुन्छ । कोरोना कहरका बीच पनि यहाँ आउन खोज्नेहरुले त सम्पर्क गरिरहेका छन्, उहाँले भन्नुभयो, हामीले नै संक्रमण जोखिमको डरले नआउन भनेका छौ, पाहुनाहरुले चित्त दुखाउनु भयो कि भन्ने लागेको छ तर के गर्नु अहिले अवस्था नै यस्तो छ ।

कोरोना भयावह सुरु भए पछि अहिले सम्म होम स्टेमा एक जना पनि पाहुना नआएको सिग्दी सामुदायिक होम स्टेका अध्यक्ष हिराबहादुर पुनले बताउनुभयो । लकडाउनको अवधी होम स्टेमा आन्तरिक तथा बाह्य पर्यटकको चहल पहल हुने सिजन हो । कोरोनाले गर्दा होम स्टे व्यवसाय पूर्ण रुपमा प्रभावित भएको छ । ‘पर्यटक आउने समयमा लकडाउन भयो, लकडाउन भएदेखि एक जना पनि पाहुना आउनु भएन, यस्तो बेला राख्ने कुरा पनि भएन,’ अध्यक्ष पुनले भन्नुभयो ‘अझै केही समय पाहुना राख्ने अवस्था सिर्जना होला जस्तो छैन, यसले गर्दा धेरै ठूलो नोक्सान बेहोर्नु पर्ने बाध्यात्मक अवस्था छ ।’

गत वर्षमा चैतदेखि असोज÷कार्तिक महिना सम्म धेरै पाहुना आफूहरुको होम स्टेमा आउने गरेको र आम्दानी पनि राम्रो थियो । गत वर्ष होम स्टेमा पाहुनाहरुको बाक्लो उपस्थितीले गर्दा आफूहरुले उत्पादन गरेका स्थानीय उत्पादनले पनि राम्रो बजार पाएको थियो । यस वर्ष उत्पादनलाई बढाएको तर बिक्री नहुँदा समस्या परेको स्थानीयको गुनासो छ ।

‘पोहोर साल धेरै पाहुना आउनुभयो, हामीले गाउँमा उत्पादन गरेको लोकल कुखुरा, खसी, बोका, कोदो लगायतका चिजहरु अन्य ठाउँबाट मगाउनु परेको थियो, त्यही अवस्था आउँछ भने हामीले नै कुखुरा लगायतका सामग्री गाउँमै उत्पादन ग¥यौँ’ पुनले भन्नुभयो ‘के गर्ने यस्तो अवस्था आयो, उत्पादन भएका सामग्री बिक्री हुन सकेनन्, ठूलो नोक्सानी भयो ।’

बरेङ गाउँपालिका वडा नम्बर २ सिग्दी गाउँमा मगर समुदायका केही व्यक्तिहरु मिलेर ५ घरमा गत वर्षदेखि सामुदायिक होम स्टे संचालन गरेका थिए । संचालन गरेको केही समयमै सो होम स्टेले धेरै आन्तरिक तथा बाह्य पर्यटक भित्राउन सफल भएको थियो ।

निसीखोला गाउँपालिकाका वडा नम्बर २ को अर्नाकोटमा रहेको अर्नाकोट सामुदायिक होम स्टे पनि कोरोनाका कारण उस्तै समस्यामा छ । कुनै समय आन्तरिक पर्यटकले भरीभराउ हुने होम स्टे अहिले सुनसान छ ।

गत वर्षलेखि नै संचालनमा आएको यो होम स्टे धेरैको रोजाईमा परेको थियो । यो होम स्टे उच्च पहाडको शिर माथि रहेकाले धेरैको आकर्षण र आगमन हुने गरेको थियो । कोरोना संक्रमणका कारण होम स्टे सुनसान भएको संचालक लालबहादुर कुँवरले बताउनुभयो । उहाँ चालन भएपछि धेरै पाहुन होम स्टेमा आउने गरेको भन्दै कोरोनाका कारण रोकिएको बताउनुभयो । ‘कोरोना संक्रमणभन्दा पहिले धेरै पाहुना पर्यटक आउथे, अहिले सुनसान छ,’ उहाँले भन्नुभयो ‘अहिले त पाहुना पर्यटक आउँदा पनि डराउनु पर्ने अवस्था छ, कस्तो परिस्थिति आयो ?’ आफूहरुले गत वर्षदेखि होम स्टे संचालन गरेको र केही अनुभवहरु पनि बटुली रहेको अवस्थामा थप व्यवस्थापन गर्दै गए पनि कोरोनाले चौपट पारेको बताउनुभयो । होम स्टेलाई केन्द्रित गरेर उत्पादन गरेका स्थानीय उत्पादन पनि मुल्य र बजार नपाएर खेर जाने अवस्थामा पुगेको उहाँको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *