कोरोना, डिप्रेसन र दैनिकी

सम्पादकीय
कोरोनाले अनेक समस्या र संकट निम्त्याएको छ । पहिलो त कोरोना भाइरस (कोभिड १९)बाट कसरी जोगिने भन्ने मुख्य सवाल छ । जो सबैले देखिने गरी छरपष्ट पनि छ । विश्वका जुनसुकै भुगोलका नागरिकलाई कोरोनाले आक्रान्त बनाएको छ, तर्साएको छ, झस्काएको छ । यसबाट बच्न मानिसहरुले हर तरहको प्रयास जारी राखेका पनि छन् । माक्स, सेनिटाइजर, साबुन पानीको प्रयोगदेखि सामाजिक दुरी राख्न प्रयत्नशिल छन् । तर पनि कोरोनाले दैनिक मानिसलाई संक्रमण गरिरहेको छ । चाहे धनी, सम्पन्न, शक्तिशाली होउन् या गरिब, विपन्न । सबैलाई कोरोनाले ग्रस्त बनाइरहेको छ । जसका कारण धेरै मानिस तनाब र दबाबमा बाँच्न विवश बनेका छन् ।

विश्वमा कोरोना भयावह सुरु भएको ७ महिना बढी भयो । यस अवधिमा कोरोना महामारीका कारण अधिकांशमा मानसिक स्वास्थ्य समस्या बढ्दै गएको पाइएको छ । बालबालिकासँगै अभिभावकको मानसिक स्वास्थ्यमा पनि कोरोनाले प्रभाव पारेको द न्युयोर्क टाइम्सले जनाएको छ । अमेरिकन साइकोलोजिकल एसोसिएनसको एक अध्ययनले सन्तान नभएका अभिभावकभन्दा सन्तान भएका अभिभावकमा मानसिक समस्या बढेको देखिएको छ । महामारीपछि अभिभावकमा डिप्रेसन र चिन्ताको स्तर ह्वात्तै बढेको पनि अध्ययनमा उल्लेख छ । विशेषगरी १८ वर्ष मुनिका सन्तानसँग रहने अभिभावकमा मानसिक तनाव बढी छ । द युनिभर्सिटी अफ ओरेगनको ¥यापिड इसीको एक सर्वेक्षणले पाँच वर्ष मुनिका बालबालिकाका अभिभावक बढी तनावमा रहने गरेको देखाएको छ । ६३ प्रतिशत अभिभावकले महामारीका बेला भावनात्मक समर्थन गुमाएको बताएका छन् । हार्वर्डको ग्र्याजुएट स्कुल अफ एजुकेसनका अनुसार ६१ प्रतिशत अभिभावकले महामारीमा आत्तिने गरेको र चिन्तित भएको स्वीकारेका छन् । उनीहरु ५, ६ र ७ वर्षका बालबालिकाका अभिभावक थिए । अध्ययनका अनुसार विशषेगरी दुई किसिमका अभिभावकमा मानसिक स्वास्थ्य समस्याको जोखिम बढ्दो छ । गर्भवती अनि भर्खरै शिशु जन्माएका महिला र बालबालिकाको आधारभूत आवश्यकता पूरा गर्न संघर्ष गरिरहेका अभिभावकमा जोखिम बढी रहेको अध्ययनले देखाएको छ । महामारीपूर्व चिन्ता र डिप्रेसनबाट प्रभावित हुने गर्भवती र सुत्केरी महिलाको संख्या १० देखि २५ प्रतिशत थियो । क्यानडामा भएको एक अध्ययनले यो संख्यामा ह्वात्तै वृद्धि भएको देखाएको छ ।

कोरोना मानव सभ्यताकै जटिल संकट हो । यसकारण यसले विश्वभरका सबै मानिसलाई आतंकित बनाएको छ । भयभित बनाएको छ । जसले गर्दा मानिसहरुको दैनिक रोजिरोटी खोसिएको छ । लाखौ करोडौं लगानी गरेर सञ्चालन गरेको व्यापार व्यवसाय अहिले सबै भन्दा बढी संकटमा छ । विश्वअर्थतन्त्र नै धरापमा छ । तिव्र गतिमा हिँडिरहेको अर्थतन्त्र, मानिसका जीवन यात्रा एकाएक ब्रेक लागेको छ । व्यस्त दुनियाँबाट मानिसहरुलाई कोरोनाले आफ्नो स्वास्थ्य र जीवन प्रति एक पटक फर्किएर हेर्न बाध्य पारेको छ । यसले गर्दा मानिसहरुमा आर्थिकदेखि अरु धेरै तनाव थपिएको छ । कति मानिसहरु कोरोना कारण साँघुरो दायरा भित्र रहँदा डिप्रेसन लगायतका समस्याबाट ग्रस्त छन् । अतः मानसिक तनाव र दबाब कम गर्न सबै सचेत बनौ । भयभित होइन,संयमित बनौ । अवश्य सहज र सुखद दिन छिट्टै फिर्नेछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *