मुख्यमन्त्रीको अनुगमनपछि सडक मर्मत, चल्न थाले गाडी

आदर्श अनलाइन, लमजुङ
अविरल वर्षाले भत्किएको लमजुङ रामबजारदेखि करपुरटार, भन्ज्याङ, डढुवा, गिलुङ हुँदै मालिङ जाने सडक मर्मत भएको छ ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको अनुगमन र निर्देशनपछि उक्त सडक मर्मत भई सोमबारबाट गाडीहरु चल्न थालेको उनका प्रेस संयोजक विक्रम न्यौपानेले जनाएका छन् ।

‘असोज १६ गते प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेत, सचिव रामचन्द्र श्रेष्ठ र प्राविधिकहरुको टोलीसहित मुख्यमन्त्री गुरुङ उक्त सडकको अनुगमनमा निस्कनुभयो । स्वयं मुख्यमन्त्रीको गाडी पनि जान सकेन,’ न्यौपानेले भनेका छन्, ‘लठ्ठी टेक्दै वन, भिरपाखा पखेराको बाटो हिँडेर सडकका खण्डखण्डको अवस्था उहाँले बुझ्नुभयो । सँगँसगै प्राविधिकहरु र सम्बन्धित जिल्ला कार्यालयलाई सडक तुरुन्तै मर्मतको निर्देशन गर्नुभएको थियो ।’

मुख्यमन्त्रीको त्यही अनुगमन र निर्देशनको परिणाम रामबजारदेखि करपुरटार, भन्ज्याङ, डढुवा, गिलुङ, मालिङ सडक मर्मत भएको न्यौपानेले बताएका छन् ।

कात्तिक १७ गते सोमबारदेखि उक्त सडकमा गाडीको आवातजावत सुचारु भएको हो । जिल्ला पूर्वाधार कार्यालय लमजुङका प्रमुख इन्जिनियर सुमन गिरीका अनुसार भन्ज्याङ खण्डमा पहिरो गएको ठाउँको सडक मर्मत पूरा भएको छ ।

पहिरो गएको ठाउँमा तारजालीसहितको ग्याबिन वालसमेत लगाई सडक मर्मत गरिएको जानकारी इन्जिनियर गिरीले दिए ।

उनका अनुसार उपभोक्ता समिति गठन गरी सडक मर्मत गरिएको हो । गण्डकी प्रदेश सरकारले सडक मर्मतका लागि बजेट उपलब्ध गराएको पनि इन्जिनियर गिरीले बताए । जनसहभागितासहित २१ लाख रुपैयाँ खर्चेर उक्त सडक मर्मत भएको हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *