ढाेरपाटन बाढी : २ महिना बित्यो, भेटिएनन् बेपत्ता

आदर्श अनलाइन, बागलुङ 
ढोरपाटन नगरपालिका–९ बोबाङमा बाढीपहिरोले नरसंहार मच्चाएको आज २ महिना पुगेको छ । भदौ १७ गते आएको बाढीपहिरोमा परी बेपत्ता भएका १५ जनाको २ महिनासम्म पनि केही पत्तो लागेको छैन ।

पहिरोमा परी २२ जनाको ज्यान गएको थियो । लामो समयसम्म खोजी गर्दासमेत बेपत्ताको अवस्था पत्ता नलागेपछि प्रहरीले जिल्ला प्रशासन कार्यालयमार्फत गृहमन्त्रालय हुँदै देशभर उनीहरूको हुलियासहितको जानकारी पठाएको छ । खोला किनार र बाढीपहिरो प्रभावित क्षेत्र आसपास सक्रिय खोजी भने रोकिएको छ । ‘हामीले खोजी रोकेका छैनौं, खोज्ने प्रक्रिया बद्लिएको छ ।’ प्रहरी उपरीक्षक लोकेन्द्र श्रेष्ठले भने, ‘सबै जानकारीसहितको विवरण देशभर पठाएका छौं, सबैको अवस्था अज्ञात छ ।’

जिल्ला प्रशासन कार्यालयले गृहमन्त्रालयको निर्देशनमा सबै बेपत्ताका परिवारलाई मृतकसरहको राहत उपलब्ध गराएको छ । भुजीखोलामा आएको बाढीपहिरोका कारण प्रभावित क्षेत्रको पुनःनिर्माणका लागि प्रक्रिया सुरु भएको छ ।

बाढीपहिरोमा परी ढोरपाटन नगरपालिका–९ बोबाङका ३१ वर्षीय जीतबहादुर घर्ती मगर, नौै वर्षीय शेसन विक, ४ वर्षीय रवि विक, २२ वर्षीय मनकुमारी विक, २१ वर्षीय टेकमाया विक, १० महिनाकी तिर्सना विक र १५ वर्षीया मनिषा विक बेपत्ता रहेका छन् ।

त्यस्तै, सोही ठाउँकै ५५ वर्षीय कौशिला पुल, २६ वर्षीय विलास पुन, ५५ वर्षीया तुलमती घर्ती, ५ वर्षीय विराज विक, १० महिने शिशु उमिसा विक, ३ वर्षीय करली पुन, ८ वर्षीय मोहन विक र १२ वर्षीया समुन्द्र विक बेपत्ता छन् ।

बेपत्तामध्ये अधिकांश एकाघरका परिवार छन् । बाढीपहिरोमा बेपत्ता भएका ३८ जनामध्ये २२ जनाको शव फेला परेको थियो भने १ जना सकुशल भेटिएका थिए । बाढीपहिरोका कारण ढोरपाटन नगरपालिकाको वडा नं ६, ७, ८ र ९ का १ सय ३० घरमा क्षति पुगेको तथ्यांक नगरपालिकासँग छ । 

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *