कोरोनासँगै घरबेटीको डर


सम्पादकीय

कोरोना भाइरस (कोभिड १९) को संकट र सकस लामो समयदेखि जारी छ । मानव जीवनकै कठिन र जटिल समस्याको रुपमा देखिएको कोरोना भाइरसको भयावह सुरु भएको ७ महिना लामो समय बितिसक्दा पनि जोखिम र भय हटेको त छैन नै, घटेको पनि छैन । बरु शुरुवाती समयमा भारत लगायतका देशबाट आएकाहरुमा कोरोना संक्रमण भएकोमा पछिल्ला दिनमा समुदाय स्तरमा पनि क्रमशः कोरोना फैलिँदो छ । यही क्रममा आइरहेको नेपालीको महान चाडहरु सँगै दुरदराजका गाउँहरु सम्मै कोरोना पुग्ने जोखिम बढ्दो छ ।

खासगरी शहर बजारहरुमा कोरोना फैलिरहँदा घर नभएका डेरावालहरुलाई एक साथ दुई डर या जोखिम देखिन्छ । एउटा कोरोना संक्रमणबाट कसरी जोगिने भन्ने मुख्य र गम्भीर बिषय त छँदैछ, यसका अतिरिक्त यदी कोरोना संक्रमण भइहाल्यो भने के घरबेटीले सहज र स्वभाविक रुपमा लिन्छन् होला ? या संक्रमित व्यक्तिसँगै अरु परिवारका सदस्यलाई पनि सिधै र घुमाउरो शैलीमा सास्ती र सकस देलान् ? निश्चय पनि आजको संकट र समयको या गम्भीर र संवेदनशिल सवाल हो । राजधानी काठमाण्डौं लगायत मुख्य सहरमा डेरा गरेर बस्नेहरू कोरोना संक्रमित भएका छन् । तर, उनीहरुका घरबेटी यो बारेमा बेखबर हुन्छन् । घरबेटी मात्र होइन, कोठा छेउछाउकालाई पनि नभन्ने, अरु दैनिकी जस्तै समय व्यतित गरिरहेका घटना अनगिन्ती छन् । यसले कोरोना संक्रमण कति फैलिएको होला ? हामी अहिले त केबल अनुमान मात्र गर्न सक्छौ । यदी साँच्चिकै बिभिन्न पेशा, व्यवसाय, रोजगारीको शिलशिलमा शहर पसेका र बसेकाहरु संक्रमित भए । र कोरोना संक्रमण पुष्टि भइहाल्यो, अस्पतालका आइसोलेसन भरिभराउ भए भने निकै कहाली लाग्दा दिन हाम्रा बीचमा आउन सक्छन् । कतिपय घटनाक्रमले पनि त्यो देखाइसकेको छ । संक्रमण भएको थाहा पाए घरबेटीले कोठामा बस्नै नदिने, उपेक्षा गर्ने भयले डेरावाला कोरोना पुष्टि भएर पनि लुकाएर बसिरहेको घटनाले कोरोनासँगै डेरावालसँग पनि खतरानक डर आजको समयमा छ । यो विश्वव्यापी महामारीमा पनि एउटा नागरिकले बस्ने ठाउँकै अभावमा आफुलाई लागेको रोग भनेर समयमा सुरक्षित उपचार र आवास पाउन सक्ने वातावरण नबन्नु दुखद र गम्भीर बिषय हो ।

कोरोना भयावहको शिकार सामान्य डेरावाल मात्र होइन, फ्रन्टलाइनरको रुपमा काम गरिहेका स्वास्थ्यकर्मी त यसको शिकार बनिरहेका छन् । चिकित्सक, नर्स आज पनि घरमा कोरोना लिएर आउने सन्त्रासमा घर छोड्न या घर नआउन घरबेटीको बारबार कचकच सुनिराख्नुपर्ने बिडम्बनापूर्ण अवस्थामा छन् । यस्तो बेलामा अरु डेरावाल नागरिक अझ बढी दबाब र तनाबमा स्वभाविक छन् । कोठा तथा फ्ल्याट भाडामा लगाएर पैसा असुल्ने कुनै पनि घरबेटीले डेरावाललाई अहिलेको बिषम परिस्थितिमा मानवीय व्यवहार गर्न सक्नुपर्छ । कोरोनाबाट मात्रै होइन, घरबेटीबाट जुनसुकै परिस्थिति र मनस्थितिमा पनि डेरावाल सुरक्षित बन्ने अवस्था सिर्जना गर्नुपर्छ । तसर्थ, कोरोना सँगै अहिले समाज र बिशेष गरी शहरमा देखिएको डेरावालको संशयमा स्थानीय सरकारले अलि गम्भीरताका साथ सहजीकरण गर्नुपर्छ । यो कुनै एक व्यक्तिमा सिमित नरहेर अधिकसम्म पुग्ने शक्तिशाली भाइरस भएकाले विश्व समुदायलाई आततायी बनाइरहेको छ । अब यसलाई परास्त गर्न सामूहिक चेतना र एकताको खाँचो छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *