नेकपाको सत्ता अवसर र चूनौतीका चौघेरा

बिज्ञानराज शर्मा
नेपाली समाजमा ’राजनीति’ भन्ने शब्द मन नपराउने शब्द मध्ये एक बन्दै गएको छ । समाज र देश बदल्न भनेर सुरु गरिने राजनीति आफू परिवर्तन गर्नमा उद्धत भए हुने र जनतालाई सपना देखाउने तर पूरा नगर्ने मुख्य कारण राजनीति प्रति तिव्र बितृष्णा बढ्दो छ । त्यसैले गरिब देशमा धनी नेताहरु देखिइ रहेका छन् । यस्तो अवस्था बनाउन कुनै न कुनै रुपमा तपाई हामी पनि जिम्मेवार छौ ।

अहिले नेपालको सबै भन्दा ठूलो राजनीतिक दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) हो । अहिले नेकपा भित्रको विवाद सतहमा छताछुल्ला छ । अहिलेको यो विषम परिस्थितिमा एकलौटी सत्ता चलाएको नेकपा भित्र आन्तरिक विवाद सतहमा छरिनु पक्कै पनि देशको हितमा रहदैन । यो देशको परिवर्तनको निम्ति नभएर गुटगत स्वार्थको लागि हो भन्ने आम बुझाई छ । नेपालमा स्थायी सरकार भए पछि आम नेपालीले परिवर्तनको स्वाद चाख्न पाउँछन् कि भन्ने आश थियो । त्यो कहिले चाख्ने पाउने हो ? थाहा छैन । तर, नेकपाको सरकारको ५ वर्ष समय सकिन अधाई वर्षको सेरोफेरोमा छ ।

नेकपाको मात्र नभएर प्रमुख प्रतिपक्ष नेपाली काँग्रेस भित्रको आन्तरिक विवाद हुँदा पनि देशमा परिवर्तन हुन सकेको छैन । सरकारले गर्ने हरेक गतिविधि तथा निर्णयहरुमा प्रतिपक्षको भुमिका हुनुपर्छ । जनताको पक्षमा निर्णय भएन भने खुलेर बिरोध गर्नुपर्दछ । तर,आफै आन्तरिक किचलोमा फस्दा त्यसको प्रत्यक्ष असर देशको समग्र गतिविधिमा पर्न जान्छ । राजनीतिक दलको यो किचलो, यो झगडा आम जनताको पक्षमा देखिदैन । यो कोरोना महामारीलाई कसरी न्यूनिकरण गर्ने भन्नेमा उनीहरुको बहस र विवाद छैन । देशको आर्थिक गतिविधि कसरी चलायमान गराउने भन्नेमा उनीहरुको चासो र चिन्ता छैन । यो परिस्थितिमा गरिब, विपन्न नागरिक, मजदुरहरुको जीवन कसरी सहज रुपमा चलाउने भन्नेमा गम्भीरता छैन । सायद यस्तो जनअपेक्षित विषयमा कुनै पनि राजनीतिक दल भित्र रहेको गुटउपगुटहरुले छलफल पनि चलाएका छैनन् । छ त केवल आफ्नो पार्टीमा आफू र आफ्नो गुट कसरी शक्तिशाली बन्ने बनाउने, आफ्नो मान्छे कहाँ नियुक्त गर्ने, मन्त्री राजदूत कसलाई बनाउने ? आफु कसरी पदमा जाने र अरुलाई कसरी हटाउने भन्नेमा छ । अहिलेको राजनीतिक झगडा परिवर्तनको लागि हो तर देशको होइन आफ्नो र आफ्नो मान्छेको…।

राजनीति गर्ने परिवर्तनको निम्ति हो । प्रतिशोधको लागि होइन । राजनीतिक दल जन्मिनु भनेको पनि परिवर्तन गर्नको निम्ति हो । नेपालमा राणा शासन फाल्न काङ्ग्रेस जन्मियो । पञ्चायत फाल्न कम्युनिष्टको जन्म भयो । गणतन्त्र ल्याउन माओवादी जन्मियो । तर, यिनिहरु नै केही दशक यता सत्तामा छन् । कहिले काङ्ग्रेसले सत्ता चलायो त कहिले कम्युनिष्टले, अहिले पनि कम्युनिष्टले ५ वर्षे स्थायी सत्ता चलाउदै छ । तर पनि अपेक्षित कामहरु गर्न सकेका छैनन् । आन्तरिक किचलो र खुट्टा तान्ने प्रवृतिबाट मुक्त हुन नसक्नु नै मुख्य कारण हो । आफ्नो जीवनभर नै आफै नेतृत्व लिने, नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण नगर्ने परम्परा तोड्न नसक्नु नै नेताहरुको मुख्य कमजोरी हो । आम जनताले मानेका युवा नेताहरु पनि परिवर्तनको लागि भन्दा पदको निम्ति राजनीति गर्नु दुखद कुरा हो । पदको निम्ति राजनीति गर्नेहरुले पद नपाउदा प्रतिशोधको भावना उत्पन्न हुन्छ । त्यसपछि गुटगट राजनीति सुरु हुन्छ । अहिले हाम्रो देशमा यस्तै छ । प्रतिशोधको राजनीति चलाइरहेका रहेका छन् ।

म नेपाल कम्युनिष्ट पार्टीको एक कार्यकर्ता, शुभचिन्तक भएको हिसाबले कामरेडहरुलाई प्रतिशोधको राजनीति छोड्न र परिवर्तनको राजनीति गर्न सुझाव दिन्छु । गुट उपगुट भन्दा माथि रहेर आम जनताको मनमा बस्ने गरि राजनीति गर्नुहोस् भन्न चाहन्छु । वृद्ध भएका नेताहरुलाई विश्राम दिन युवा नेताहरुले दबाब दिनुपर्छ । बरु आफ्नो दलमा नयाँ पुस्तालाई नेतृत्व दिने थिति बसाल्नुस् । नेतृत्व लिने उमेर तोक्नुस् र जनतालाई केही आशाबादी बनाउनुस् । यतिबेला नेकपा सत्तामा छ । जनताले काम गर्ने अवसर दिएका छन् । एउटा पार्टीले देश चलाउन पाएको छ । यस्तो अवसर कुनै पनि राजनीतिक दलले नेपालको इतिहासमा बिरलै पाउने गरेका छन् । त्यो विरलै पाउने अवसर नेकपाले पाएको छ । यो अवसर गुमाउनु हुँदैन । नेकपाको सरकारको गतिविधिबाट नेपाली जनता सन्तुष्ट देखिएका छैनन् । केही समय छ अझै देशको समस्याहरुलाई कसरी समाधान गर्ने र निकास दिने भन्ने तिर लाग्यौ । भ्रष्टाचार, अनियमितता, बलात्कार जस्ता सामाजिक विकृति र अपराध मौलाउदै गएको बेला यसलाई न्यूनिकरण गर्न देखिने गरि काम गर्नु भयो भने देशको अव्यवस्थित प्रणालीलाई व्यवस्थित गर्न तिर लाग्यौ, सबैलाई कानुन बराबर हो भन्ने आभास दिलाउने गरि काम गर्ने हो भने तपाई पदको पछि लाग्नु पर्दैन, पद तपाईको पछि लाग्ने छ । र फेरि पनि काम गर्ने अवसर नेपाली जनताले दिनेछन् ।

यो पनि पढ्नुहोस्

नेकपाको सत्ता अवसर र चूनौतीका चौघेरा

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *