तमानमा अझै बाँकी छ पञ्चायत घर

डम्मर बुढा मगर, बागलुङ
नेपालमा पञ्चायती व्यवस्था ढलेको वर्षौ बितिसक्यो । २०४६ सालमा भएको जनआन्दोलनबाट पञ्चायती व्यवस्था ढल्यो । ३० वर्ष लामो निरकुंश पञ्चायती व्यवस्था ढलेर प्रजातन्त्रको पुर्नबहाली भएको ३० वर्ष पुरा हुँदा पनि बागलुङको तमानखोला गाउँपालिकामा पञ्चायत भवन अझै देख्न सकिन्छ ।

तमानखोला गाउँपालिका वडा नम्बर ३ तमान गाउँमा रहेको पञ्चायत भवन जिर्ण अवस्थामा छ । पञ्चायती व्यवस्था ढले यता केही वर्ष अगाडीसम्म स्थानीयले मर्मत सम्भार गरे पनि पछिल्लो समय कसैको पनि यस तर्फ ध्यान नगएको स्थानीय भेषबहादुर पुन बताउनुहुन्छ । पञ्चायती व्यवस्थाको झलकको रुपमा रहेको भवनलाई संरक्षण गरेर राख्नुपर्नेमा उहाँको जोड छ ।

पञ्चायतकालमा पधान उप–प्रधानहरुले यही भवनमा कार्यालय स्थापना गरेर काम गर्ने गरेका थिए । तमान गाउँमा रहेको पञ्चायत कार्यालयबाट खुङ्खानी, नर्जाखानी, लाम्मेला, बोङ्गादोभान लगायतका स्थानका जनतालाई सेवा प्रदान गरिन्थ्यो ।

यहाँ गाउँमा केही बदमासी गर्ने, अपराधीक क्रियाकलाप गर्नेलाई सजाय समेत दिइन्थ्यो । तमान पञ्चायत क्षेत्रमा तत्कालीन अवस्थामा खप्रसाद बुढा मगर लगायतले शासन गरेको स्थानीयको भनाई छ । गाउँपालिकाले यसको इतिहाँस र को–को पञ्चायतले शासन गरे भन्ने बारे गाउँपालिकाले खोजी गरिरहेको छ ।

गाउँपालिका भित्रका पुराना ऐतिहासिक, पौराणिक महत्व राख्ने तत्कालिन समयमा निर्मित पूर्णधारको सम्भव भए सम्म संरक्षण गरिने तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले बताउनुभयो ।

‘गाउँपालिकामा ऐतिहासिक महत्व बोकेका संरचनाहरु धेरै छन्, यिनीहरुको पहिचान गरेर संरक्षण गर्ने सोँचमा छौँ,’ अध्यक्ष बुढा मगरले भन्नुभयो ‘त्यो व्यवस्था या समयलाई हेरेर हामीले अहिले नयाँ ढंगले काम गर्नमा यस्ता ऐतिहासिक संरचना र प्रतिकहरुले भुमिका खेल्नेछ ।’

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *