अमेरिकी चुनावको सन्देश

सम्पादकीय
विश्व समुदायमा शक्तिशाली देशको रुपमा स्थापित अमेरिकामा यसै साता निर्वाचन सम्पन्न भयो । विश्वव्यापी रुपमा देखिएको कोरोना महामारीका बीचमा पनि निर्वाचन सफलता पूर्वक सम्पन्न गरेर अमेरिकाले विश्व समुदायलाई सकरात्मक सन्देश समेत प्रवाह गरेको छ । अर्को तर्फ निकै कडा स्वभावका राष्ट्रपति डोनल्ड ट्रम्पको दोस्रो कार्यकालको प्रतिस्पर्धा र जित प्रति धेरैको चासो थियो । शक्ति राष्ट्र भएकाले अमेरिकाको निर्वाचनमा कसले जित्छ भन्नेमा धेरै देश र नागरिकको स्वभाविक चासो र चिन्ता थियो । नेपाल र नेपालीले पनि अमेरिका निर्वाचनमा उत्तिकै चासो राखे । कारण बैधानिक र अवैधानिक बाटोबाट हजारौ नेपाली अमेरिका पुगेका छन् । यस्ता निर्वाचनले आप्रवासीको एजेण्डालाई पनि कुन दिशा तर्फ डो¥याउने सुनिश्चित गर्दछ ।

जे होस् कडा प्रतिस्पर्धा र लामो रस्साकस्सीपछि अमेरिकाको ४६औँ राष्ट्रपतिको रुपमा डेमोक्रेटिक पार्टीका नेता जो बाइडेन र उपराष्ट्रपतिको रुपमा कमला ह्यारिस विजयी भएका छन् । ह्यारिस अमेरिकाको इतिहासमा पहिलो अस्वेत र भारतीय मूलकी महिला उपराष्ट्रपतिको इतिहास बनाउन सफल भएकी छिन् । बाइडेनले संसदमा २७० इलेक्टोरल कलेज भोट आवस्यक पर्नेमा २८४ भोट ल्याउँदै विजयी भएका हुन् । निकटतम प्रतिस्पर्धी डोनल्ड ट्रम्पले भने २१४ भोट मात्रै ल्याए । निर्णायक राज्य मानिएको पेन्सिल्भेनियामा बाइडेन र ह्यारिसले जितेसँगै सिएनएन, बीबीसी, एपी लगायत अन्तराष्ट्रिय मिडियाले डेमोक्रेट उम्मेदवारहरुले जितेको जनाएका हुन् । झण्डै एक साता लागेर सम्पन्न भएको यसपटकको अमेरिकी निर्वाचन ऐतिहासिक मानिएको छ । सबैभन्दा धेरै मतदाता यसपटक थिए । साथै हुलाक मार्फत पनि मतदान गरिएको थियो ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पमा सत्ता र शक्तिको एक खालको दम्भ र अंहकार सदैव देखिरह्यो । उनले आफ्नो पाँच वर्षे कार्यकालभर त्यो कुनै न कुनै रुपमा विश्व समुदाय माझ अभिव्यक्त गरिरहे । चाहे बिभिन्न शक्ति राष्ट्रबीचको बेमेलमा होस् या कोरोना भाइरसको महामारीमा होस् या अन्य बिषय र बिवादमा होस् । उनको अपत्यारिला गैरजिम्मेवारपूर्ण अभिव्यक्तिले विश्वसमुदाय तरंगित बनिरह्यो । यसकारण पनि अमेरिकी जनताले फेरी एकपटक जनताको शक्ति स्मरण गराएका छन् । र अमेरिकी निर्वाचनको अन्तिम मत परिणाम सँगै ट्रम्प दोस्रो कार्यकाल चलाउन नपाउने अमेरिकाका थोरै राष्ट्रपति मध्येमा परेका छन् । सामान्यतः अमेरिकामा दुई कार्यकालसम्म राष्ट्रपति बन्ने चलन छ । यसबाट नेपालका सत्तासिनहरुले पनि आफ्ना जनता प्रतिको दायित्व बिर्सेर सत्ता दम्भ र अंहकारको अल्झनमा रहिरहने हो भने दुई तिहाइको सत्ता आरोहण गरेको नेकपा र प्रधानमन्त्री केपी ओली पनि ट्रम्पकै हालतमा पुग्न कसैले रोक्न सक्ने छैन ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *