संक्रमण पछिको लापरवाही र खतरा

सम्पादकीय
कोरोना भाइरस (कोभिड १९)को संक्रमण पछिल्ला दिनमा अझ फैलिँदो छ । गत वर्षको चैत्र पहिलो सातादेखि सुरु भएको कोरोना संक्रमण जोखिम र भयावह अझै कायम छ । यो नियन्त्रण उन्मुख हुनुको साटो थप फैलिने क्रममा छ । नेपालमा पनि राजधानी काठमाण्डौं सहित अधिक जिल्लामा कोरोना संक्रमित हुने संख्या ठुलो छ । पछिल्ला दिनमा त कोरोना संक्रमणको शिकार हुने मात्र होइन,मृत्यु समेत हुने संख्या बढ्दो छ । नेपालमा हाल सम्म १ लाख ९४ हजार बढी संक्रमित हुँदा ११ सय बढीको मृत्यु भइसकेको छ । बागलुङमा मात्रै पनि ७ सय १९ जना संक्रमित भएका छन् । जसमध्ये ८ जनाको ज्यान गइसकेको छ । उसो त कोरोना संक्रमणबाट ग्रस्त भइसके पछि निको हुने संख्या पनि अधिक छ । संक्रमित मध्ये ६ सय ७ जना संक्रमित त कोरोना जितेर घर फर्किसकेका छन् ।

कोरोना संक्रमण दिन प्रतिदिन नियन्त्रण भन्दा फैलिनुको कारण धेरै छन् । मुख्यतः संघीय सरकारकै भुमिका कोरोना नियन्त्रणमा फितलो देखियो । कोरोना संक्रमणको भयावहको सुरुवातीदेखि ८ महिनाको समय बितिसक्दा पनि सरकारले दुरदृष्टि र संवेदनशिलताका साथ कदम चालेको भए पूर्ण रुपमा नियन्त्रण सम्भव नभए पनि धेरै हद सम्म कोरोना रोकथाम नियन्त्रण सम्भव थियो । तर सरकारकै यथेष्ट पहल, प्रयत्न र यथोचित कदमको अभावमा अहिले भयावहको अवस्था सिर्जना भयो । यसमा नागरिकको गैरजिम्मेवार भुमिका पनि उत्तिकै देखिन्छ । चाहे कोरोना संक्रमित भएकाहरु होउन् या नभएका नागरिकहरु । सरकारले निर्देश गरेको स्वास्थ्य सुरक्षाको न्युनतम मापदण्ड पनि कार्यान्वयन नगर्ने परिपाटी व्याप्त देखिएको छ । मास्क, सेनिटाइजरको प्रयोग नगर्ने, भिडभाड गर्ने, सामाजिक दुरी कायम नगर्ने प्रवृत्ति बढ्यो । हुँदा–हुँदा कोरोना संक्रमित भएकाहरु खुलेआम रुपमा गाउँ शहरमा घुम्ने परिदृश्य र घटना पनि यसबीचमा दोहोरिरह्यो । चाहे त्यो काठेखोला गाउँपालिकाको धम्जामा होस् या बागलुङ नगरपालिकाको सिगानामा होस् । संक्रमण पुष्टि भएकाहरु नै खुलमखुल्ला हिँड्दा या लापरवाही गर्दा पनि यसबाट कोरोना फैलिएको छ ।

कोरोना अब सहज हिसाबले नियन्त्रण हुने अवस्था रहेन । यो नेपालमा मात्रै होइन, विश्व समुदायमा पनि कोरोना महामारीले आततायी बनाएको छ । अमेरिका जस्तो शक्तिशाली देश होस् या चीन जस्तो विकासको पथमा तिव्रतर गतिमा अघि बढेको होस् । सर्वत्र कोरोनाको समस्या र भयावह छ । फेरी यसको भ्याक्सिन परीक्षण भए पनि अहिले सम्म आउन सकेको छैन । यसकारण पनि कोरोना भाइरसको खतरा बढी छ । यसको उपचार नभए पनि लक्षणहरु हेरेर उपचार गर्नुपर्ने बाध्यात्मक अवस्था छ । यस्तो अवस्थामा सरकार त थप गम्भिर र जिम्मेवारी बन्नैपर्नेछ । हर नागरिक पनि उत्तिकै जिम्मेवार हुन आवश्यक छ । यसमा संक्रमण पुष्टि भएकाहरु पनि अस्पताल या होम आइसोलेसनमा सचेत र सुरक्षितपूर्वक बस्नुपर्छ । अर्को तर्फ संक्रमित भएकाहरुलाई हेर्ने बिभेद र अपमानपूर्ण दृष्टिकोण र व्यवहार पनि बदल्नुपर्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *