आदर्श अनलाइन, नवलपरासी
नवलपरासी बर्दघाट सुस्तापूर्व नवलपुरको विनयीत्रिवेणी गाउँपालिका–१, बहुवान सिस्यानीमा झोलुङ्गे पुल निर्माण भएपछि यस क्षेत्रका स्थानीयवासी खुसी भएका छन् । विनयी खोलाका कारण बर्सेनि सास्ती खेप्दै आएका यस क्षेत्रका स्थानीयवासी अहिले झोलुङ्गे पुल निर्माण भएपछि खुसी भएका हुन् ।
विगतका वर्षमा आवतजावतका लागि खोला तर्नुपर्ने बाध्यता स्थानीयवासीको थियो । बर्सेनि वर्षातको समयमा स्थानीयवासीले ज्यानसमेत गुमाउने गरेको स्थानीय धनबहादुर सोमैले बताए । अब पुल बनेपछि दैनिक आवतजावतमा सुविधा पुग्ने उनको भनाइ छ । बिरामी हुदाँ उपचारका लागि जानसमेत वर्षाको समयमा निकै समस्या हुने गरेको उनले बताए ।
केही समयअघि गण्डकी प्रदेशका भौतिक पूर्वधार विकासमन्त्री रामशरण बस्नेत कोरोला त्रिवेणी सडकको अध्ययनका लागि यस क्षेत्र पुग्ने क्रममा स्थानीयवासीले त्यहाँको समस्या बताएका थिए । त्यसपछि प्रदेश सरकारको लागतमा पुल निर्माण भएको हो । सोमबार पुलको उद्घाटन कार्यक्रममा मन्त्री बस्नेतले यस क्षेत्रका स्थानीयले माग गरेबमोजिमको पुल निर्माण सम्पन्न भएकामा खुसी लागेको बताए ।
भारतसँग जोडिन कोरला–त्रिवेणी सडकमा महत्वपूर्ण क्षेत्रको रूपमा बहुवान रहेको छ । बहुवानसम्म अहिले कच्ची सडक रहेको छ । यहाँबाट त्रिवेणीसम्म करिब १९ किलोमिटर खण्डमा ट्रयाक खोल्नुपर्ने छ । ट्रयाक खुलेमा गण्डकी प्रदेश सोझै आफ्नै प्रदेशको बाटो हुदै भारतीय सीमा नाकासँग जोडिने छ । यद्यपि चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र पर्ने भएकाले सडक निर्माणको काम अगाडि बढ्न सकेको छैन । बहुवानमा त्रिवेणी नाका जोड्ने सडक निर्माणका लागि आवश्यक कामहरु भइरहेको र यस क्रममा रहेका केही कानूनी अड्चन हटाउँदै यस सडकखण्ड खोलेर छाड्ने मन्त्री बस्नेतले प्रतिबद्धता व्यक्त गरे ।