सिवाईसीको पहिलो त्रैमासीक समिक्षा

आदर्श अनलाइ, बागलुङ

कोरोना भाईरस (कोभिड १९) को प्रभावका बाबजुद पनी बागलुङ बजारमा केन्द्रिय कार्यालय रहेको सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लि. ले आ.व. ०७७।०७८ को पहिलो त्रैमासीक समिक्षा बैठक चरणबद्ध रुपमा सञ्चालन गरिरहेको छ ।

संस्थाले शाखा कार्यालयहरुलाई विभिन्न कलष्टरमा विभाजन गरी पायक पर्ने ठाउँहरुमा समिक्षा बैठकको आयोजना गर्दै आईरहेको छ । यसै क्रममा मङ्गलबार गुल्मीको पुर्तिघाटमा संस्थाले समिक्षा बैठक सम्पन्न गरेको छ ।

संस्थाका शाखा कार्यालयहरुले पहिलो त्रैमासीकमा हाँसील गरेको प्रगतीको समिक्षा, भावि कार्यदिशा र शाखा कार्यालयहरुमा रहेका समस्याहरुको पहिचान तथा समस्याको समाधान गर्ने उद्देश्यका साथ आयोजना भएको बैठकमा संस्थाका कुश्मिसेरा, शान्तिपुर, बेलवगर, पुर्तिघाट र खैरेनी शाखाका प्रमुखहरुको सहभागिता रहेको थियो ।

बैठकमा संस्थाले सञ्चालन गरेका कार्यहरुको प्रगती समिक्षा गर्दै कार्यक्रममा देखिएका सवल पक्ष तथा सुधार गर्नुपर्ने पक्षहरु, वित्तीय सदृढिकरण, सेवा विस्तार, बचत संकलन, ऋण लगानी, सामाजिक कार्य लगाएतका विषयमा छलफल गरी संस्थाका कार्यक्रमलाई अझ थप सवलीकरण, सुदृढिकरण र प्रभावकारी बनाउन एवं आगामि त्रैमासका लागि कार्ययोजना निर्माणका लगाएतका विभिन्न विषयहरुमा छलफल तथा समिक्षा भएको थियो ।

समिक्षा बैठकमा संस्थाको मुख्य प्रवद्र्धक संस्था चारतारे युवा क्लव नेपालका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले लघुवित्त संस्थाको प्रमुख आधार भनेकै संस्थाका सदस्य भएको बताउनु भएको थियो । पौडेलले पछिल्लो समयमा लघुवित्त संस्थाहरुले लघुवित्तको मर्म विपरीत सदस्यहरुको आर्थिक तथा सामाजिक विकासमा भन्दापनी नाफामा वढि केन्द्रित हुँदा समस्या सिर्जना भईरहेको बताउनु भएको थियो । बैठकका क्रममा उहाँले शाखा कार्यालयहरुले अहिलेको विषम परिस्थीतीमा कसरी अगाडि बढ्न सकिन्छ भन्ने विषयमा सहजिकरण गर्नुभएको थियो ।

बैठकमा संस्थाका सञ्चालक डोलिन्द्रप्रसाद शर्माले सदस्यहरुले समयमा कर्जा नतिर्ने, लिएको कर्जा सदुपयोग नगर्ने, धेरै संघसंस्थाबाट कर्जा लिने, एउटै व्यक्तिले धेरै व्यक्तिको कर्जा चलाउने, नियमित बैठक नबस्ने, बैठक संचालनका आधारभूत क्रियाकलापको पालना नगर्ने लगायतका विकृतिहरु अहिले लघुवित्त क्षेत्रमा देखा परिरहेकाले संस्थाका कर्मचारीहरु चनाखो हुनुपर्नेमा जोड दिनुभएको थियो । समिक्षा बैठकमा शर्माले नेपालमा लघुवित्तको अवधारण, भावि कार्यदिशा र सिवाईसीको भावि योजनाका लगाएतका विषयबस्तुहरुमा सहजिकरण गर्नुभएको थियो ।

बैठकका क्रममा संस्थाका प्रवन्ध सञ्चालक अनिल कुमार झा ले संस्थालाई नेपालमै नमुना संस्थाको रुपमा विकास गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । कार्यक्रमकै क्रममा शाखा कार्यालयका प्रमुखहरुले आ–आफ्नो शाखाको पहिलो त्रैमासको प्रगती र आगामि कार्ययोजना प्रस्तुत गर्नुभएको थियो ।

संस्थामा पहिलो त्रैमासीकसम्ममा २५ वटा शाखा कार्यालय, ३९ हजार ७ सय ३७ सदस्य, २२ हजार ५ सय ९६ ऋणी सदस्य, १ अर्व १६ करोड लगानीमा रहिरहेको कर्जा, ७४ करोड ६० लाख बचत र १२५ जना कर्मचारी रहेका छन् । कार्यक्रम संस्थाका प्रवन्धक संगिता शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *