कृषकले फेरेको सिंगो गाउँको परिचय

खेमराज गौतम, बागलुङ
बि.स.२०६० सालमा व्यावसायिक कृषि गर्न गाउँबाट बागलुङ नगरपालिका–३ पावर हाउस झर्नुभएका गंगा थापाको अहिले जिल्लाकै अब्बल अगुवा कृषकको परिचय छ । उहाँले व्यावसायिक तरकारी उत्पादनबाट आफ्नो परिवारको मात्रै जीवन बदल्नुभएको छैन, अहिले सिंगो गाउँकै परिचय बदल्न सफल हुँनुभएको छ ।

नेपाल विद्युत प्राधिकरणको पावर हाउस रहेकाले पावर हाउसका नामले चिनिने समथर खेतको वास्तविक नाम नै थिएन । अहिले उक्त पावरहाउस समेत बन्द अवस्थामा छ । उसो त कृषि उपजका लागि उर्वर भुमी रहे पनि २०६० सालमा एउटा मात्रै घर थियो उक्त समथर भागमा । १० /१२ वर्ष पहिले ‘पावर हाउस’ भनेर चिनिने उक्त गाउँ अहिले ‘कृषि गाउँ’का रुपमा स्थापित बनेको छ । नाम मात्रै हैन व्यवहारमा समेत साच्चीकै कृषि उपजका लागि प्रख्यात बन्दै आएको छ ।

जग्गाधनीले गर्दै आएको परम्परागत र निर्भाहमुखी खेतीबाली विस्तारै कम हुँदै गए पछि बाँझिन समेत थालेको उर्वरभूमी एक दशकमा कायापलट भएको छ । अहिले कृषि गाउँमा मात्रै उत्पादन भएका कृषि उपजले बागलुङ बजारको अधिकांश माग धान्न थालेको छ । भने बजारका उपभोक्त कृषि गाउँकै खेतबारीमा समेत गएर तरकारी किनेर ल्याउन थालेका छन् ।

जिल्लाको कुना काप्चाबाट जिल्ला सदरमुकाम आएर जग्गाको खोजी गर्नेका लागि कृषि गाउँ बदरान सावित भएको अगुवा कृषक गंगा थापाले बताउनुभयो । कृषि गाउँमा आधूनिक खेती अपनाउनेहरुको अधिकांशको जग्गा आफ्नो छैन । भाडाको जग्गामा व्यावसायिक तरकारी, कुखुरा, अण्डा, बंगुर, माछा तथा केरा खेती गर्दै आएका कृषकहरुले एउटा सिंगो गाउँको परिचय बदल्न सफल भएको अगुवा कृषक थापाले बताउनुभयो ।

“म २०६० सालमा यहाँ आउँदा एउटा मात्रै घर थियो, सबै खेतमा धानबाली लगाइन्थ्यो” अगुवा कृषक गंगा थापाले भन्नुभयो, “पछिल्लो एक दशकमा यो गाउँमा आमूल परिवर्तन भयो, म नै यस ठाउँको पहिलो व्यावसायिक कृषक भएका कारण यसलाई कृषि गाउँ भन्न थालियो, अहिले म सहित ५० भन्दा बढी कृषकले व्यावसायिक रुपमै कृषि उपज निर्यात गर्नुहुन्छ ।” आर्थिक रुपमा सबल बन्दै गएका केही कृषकहरुले भाडाको जग्गा विस्तारै खरिद गरेर आफ्नो नाममा लिएका छन् ।

जाँगर भएका तर व्यावसायिक बन्न नसकेका धेरैलाई कृषि कर्ममा लाग्न समेत प्रेरित गर्नुभएका थापाले कृषि कर्मबाटै सोही स्थानमा ७ रोपनी जग्गा खरिद गरिसक्नुभएको छ । उहाँले भाडामा लिएको थप सात रोपनी गरी १४ रोपनी जग्गामा व्यवासायिक तरकारी र च्याउ खेती गर्दै आउनुभएको छ । अहिले उहाँले खरिद गरेको सात रोपनी जग्गाको मुल्य मात्रै रु. दुई करोड बढी पर्दछ । “कृषिबाटै श्रीमती र छोरा छोरी पढाए र सात रोपनी जग्गा समेत जोडे” थापाले भन्नुभयो ।

गौडाकोटदेखि काठेखोलाको पुल सम्मको उर्वर भूमि कृषि गाउँका रुपमा परिचित छ । झण्डै ४०० रोपनी क्षेत्रफलमा ५० भन्दा बढी कृषकहरुले व्यावसायिक तरकारी, अण्डा, लोकल तथा ब्रोइलर कुखुरा, बंगुर, माछा, गाई, भैसी तथा केरा खेती गर्दै आएका छन् ।

रोजगारीको शिलशिलामा दुई वर्ष साउदी अरब, चार वर्ष मलेसिया र चार वर्ष भारतमा बिताउनुभएका काठेखोला गाउँपालिका–४ तंग्रामका ३२ वर्षिय जगबहादुर बिकले पाँच वर्ष अगाडी मात्रै कृषि गाउँमा आएर व्यवासायिक तरकारी खेती थाल्नुभयो । उहाँले कृषि गाउँमा रेजिना कृषि तथा पशुपालन फर्म दर्ता गरेर १५ रोपनी क्षेत्रफलमा तरकारी खेति र पाँच सय केराका बोट लगाउनुभएको छ । बोइलर कुखुरा पालन गर्दै आउनुभएका बिकले विदेशमा भन्दा स्वदेशमै गरेको कामले धेरै सन्तुष्टी मिलेको बताउनुहुन्छ ।

“स्वदेशमानै केही गर्ने सोचका साथ बागलुङ आएको म उपर्युक्त जग्गा खोज्ने क्रममा कृषि गाउँमा आएको थिए” बिकले भन्नुभयो–“यहाँ म जस्तै धेरै कृषकहरुले गरेको काम देखेर आफूलाई समेत हौसला प्राप्त भएको छ ।” उहाँले सबै खर्च कटाएर वार्षिक दुई लाख बन्दा बढी रकम बचत गर्दै आएको बताउनुभयो । “बन्दाबन्दी पूर्व तरकारी बिक्री गर्न अन्य जिल्ला समेत लगिन्थ्यो, भारतीय तरकारी सँग प्रतिस्पर्धा गर्दा समस्या हुन्थ्यो” बिकले भन्नुभयो “अहिले तरकारी खरिदका लागि घरमै ग्राहक आउँछन्, भने जति मुल्य दिन्छन् ।” विदेशमा कृषि खेतीको अनुभव सँगालेर गाउँ फर्किएका बिकले आफ्ना उत्पादनले बन्दाबन्दीको समयमा बजार पाउदा थप तरकारी व्यवसाय गर्न हौसला मिलेको बताउनुभयो ।

कृषि गाउँकै स्थानीय नारायण शर्माले ७ वर्षअघिबाटै नारायण कृषि फर्म मार्फत १० रोपनी जग्गामा फैलिएको ११ पोखरीमा माछा पालन, फलफूल खेतीमा केरा, एक हजार ४ सय बोइलर कुखुरा, एक सय लोकल कुखुरा, टर्की, हाँस लगायत पाल्दै आउनुभएको छ । “जग्गा निकै समथर, सिञ्चाइको सुविधा भएको हुनाले यस क्षेत्रमा किसानको आर्कषण भयो” शर्माले भन्नुभयो “भाडामा २५ रोपनी र आफ्नो ४५ रोपनी गरी ७० रोपनी जग्गामा व्यावसायिक उत्पादन गर्दै आएको छु ।” हालैबाट व्यावसायिक पुष्प खेती समेत शुरु गर्न थाल्नुभएका शर्माले बजार नजिक भएका कारण बिक्रिका लागि समस्या नभएका कारण उत्पादन गर्न समेत किसान उत्साहित देखिने गरेका छन् । ग्रामिण क्षेत्रमा सडक यातायातका कारण समस्या हुने भएकाले नजिक बजार भएका कारण यहाँका कृषकहरुलाई बजारको चिन्ता नभएको शर्माको भनाई छ ।

आफू यहीकै स्थानीय भएपनि शुरुमा निर्भाहमुखी कृषि गर्दै आएको शर्माको भनाई रहेको छ । शर्माले माछापालन तथा कुखुरापालन बाट मासिक खर्च कटाएर एक लाख बचत गर्दै आउनुभएको छ । तित्याङ जाने काठेखोला पुल नजिकै उनले बनाएका ११ वटापोखरीमा एक हजार भन्दा बढी नैनी, ग्रास कार्प, रहु, सिल्भर जातका सानाठुला गरी ३० हजार बढी माछा छन् ।

बि.स २०७० सालमा बाझो जमिन र खेर गइरहेको पानी देखेपछि माछापालन गर्ने सोच बनाएर शर्माले सञ्चालन गर्दै आएको नारायण कृिष फर्म मार्फत दैनिक माछा बिक्रिगर्ने गरेको बताउनुभयो । जिल्लामा माछाको माग अत्याधिक रहेकाले माग अनुसारको माछा उत्पादन गर्न नसकिएको शर्माको भनाई छ । अहिले शर्माको फर्ममा ४० लाख लगानी छ । विगतमा विभिन्न व्यापार, कृषि तथा फर्निचरको व्यवसाय समेत गर्नुभएका शर्माले माछाबाट राम्रो आम्दानी हुन थालेपछि अहिले यसलाई नै बढी व्यवसायिक बनाएको बताउनुभयो । १० रोपनी क्षेत्रफल मारहेको उहाँको फर्ममा माछा संगै १ हजार ४ सयबोइलर कुखुरा, एक सय बढी लोकलकुखुरा, केही दर्जन हाँस र टर्की रहेका छन् । यस संगै शर्माले उखु, केरा खेतीपनि गरेका छन् । त्यस बाहेक शर्माले अन्य जग्गामा धान, गहुँ लगायतको खेती गर्दै आउनुभएको छ ।

उखु र केराकापातहरु माछालाई नै आहारा हुने भएकाले दोहोरो फाइदाका लागि उखु र केराखेती थालेको शर्माको भनाई छ । उहाँले तित्याङ जोड्ने काठेखोलाको पुलनजिकै फुलबारी कटेज नामको एउटा रेष्टुरेन्ट पनि सञ्चालन गर्दै आउनुभएको छ । अहिले दैनिक रुपमा लोकल तथा स्वादिष्ट माछा खान मन पराउनेहरु सोही रेष्टुरेन्टमा जाने गरेका छन् । पोखरीबाट माछा छोपेर रेष्टुरेन्टमा माछा बनाएर खुवाउने योजना अनुसार शर्माले अझै थप लगानी बढाउन लागेको बताउनुभयो ।

“लोकल माछा लोकल कुखुरा रेष्टुरेण्टको मुख्य आर्कषण हो” शर्माले भन्नुभयो “लोकल माछा र कुखुराका पारखीहरुका लागि हाम्रो रेष्टुरेण्ट मुख्य गन्तव्य बन्दै आएको छ ।” आफ्नो देश छोडेर विदेश जाने युवाहरुका लागि उनले नेपालमा पनि केहीगर्न सकिन्छ भन्ने उदाहरण दिनुभएको छ । उहाँको यो पेशामा घरपरिवारको सहयोग पनि उत्तिकै छ । दाजुभाई तथा छोराछोरीले समेत शर्मालाई काममा धेरै सहयोग गर्छन् । थपदुई जनालाई रोजगारी दिएको बताउदै आउनुभएको छ ।
अहिले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण ठप्प भएको व्यवसायलाई अगाडी बढाउनका लागि परिवारको साथले धेरै सहयोग मिलेको शर्माले बताउनुभयो ।

कोरोना भाइरसका कारण बाहिरबाट कुखुराका चल्ला ल्याउन समस्या भएपछि उहाँले अण्डाबाट कुखुराका चल्ला कोरल्ने ह्याचरी घरमै बनाएर राख्नुभएको छ । २३ वर्षीय समाधान शमौलेनै निर्माण गरेको त्यस ह्याचरी मेसिनबाट चल्ला निकाल्दै आएको शर्माले जानकारी दिनुभयो ।

कृषि गाउँमा दूध देखि मासु सम्म र तरकारी देखि फलफूल सम्म उत्पादन हुँने भएकाले जिल्लामै नमूना गाउँका रुपमा चिनिन थालेको छ । यस स्थानमा कृषि कर्म गर्नका लागि अध्ययन भ्रमण समेत आउने गरेका छन् ।

कृषि गाउँमै पुष्प पुन लगायतले बंगुर पालन र सरिता गौतम लगायतले व्यावसायिक गाई भैसी पालन गर्दै आउनुभएको छ । यसरी एउटा सिंगो गाउँनै व्यावसायिक कृषि उपजमा लाग्नु धेरैका लागि नौलो र उदाहरणीय भएको छ । कृषि उत्पादनमा व्यावसायिक खोज्नेहरुका लागि पनि यो गाउँ अध्ययन अनुसन्धानको समेत उपर्युक्त गन्तव्य बन्ने देखिएको छ । दश वर्ष अघिको एउटा उजाड थलो अहिले कृषि गाउँका रुपमा प्रख्यात भइसकेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *