कोरोना, मिडिया र संकट

सम्पादकीय
नेपाली समाजमा एउटा गजल चर्चित छ–
मर्ने कसैलाई रहर हुँदैन
तर नमरेको कुनै प्रहर हुँदैन
भागेर जाउ,कुन ठाउँ जाउँ ?
मान्छे नमर्ने शहर हुँदैन
कोरोना भाइरस (कोभिड १९)का कारण विश्व समुदाय यतिबेला जटिल संकटमा छ । नेपाल संकटमा छ, हर नागरिकको जीवन संकटमा छ । कोरोनाले भयावह नबनाएको कुनै त्यस्तो भुगोल सायदै होला । अहिले मानिसहरु कोरोनाबाट भाग्न त खोजिरहेका छन्, तर कहाँ जाने ? त्यस्तो सुरक्षित ठाउँ कहाँ छ, जहाँ कोरोना संक्रमणको जोखिम र भयावहले ग्रस्त नबनाएको क्षेत्र होस् । समग्र देश, क्षेत्र, गाउँ, टोल कोरोना संक्रमण, थप जोखिम र भयावहले आक्रान्त भइरहेको छ । कोरोना भाइरसको भयावह सुरु भएको ८ महिना लामो अवधि बितिसक्दा पनि यसको रोकथाम र नियन्त्रण सहज हुन सकेको छैन । बरु झन् भन्दा झन् पछिल्ला दिनमा कोरोना संक्रमण बढेको छ ।

कोरोना महामारीका कारण सबै क्षेत्र संकटमा पर्दा मिडिया पनि संकटमा नपर्ने कुरा भएन । उसो त मोफसलमा मिडिया सञ्चालन गर्नु यसअघि पनि कम्ती चूनौतीपूर्ण काम थिएन । त्यसैले पवित्र उद्धेश्य लिएर सञ्चालनमा आएका कैयन सञ्चार माध्यम बन्द भए । कति जर्बजस्त चलेका छन् नियमितताको नाममा मात्र । यसमा पछिल्लो वर्ष कोरोना महामारी आए पछि सञ्चार माध्यम अझ बढी प्रभावित भएका छन् । बिज्ञापन बजारमा निर्भर मिडियाहरु अहिले धराशायी हुने अवस्थामा छन् । नेपालकै प्रतिष्ठित मिडिया हाउसहरुले आफ्ना नियमित प्रकाशन बन्द गर्ने घोषणा मात्रै गरेका छैनन्, त्यहाँ कार्यरत अनुभवी पत्रकारहरुको ठुलो संख्यालाई जर्बजस्त बिदाई गरेका छन् । कतिको तलब रोकिदिएका छन्, कतिलाई आधा तलबमा चित्त बुझाउन बिबश बनाएका छन् । यसै कारण नेपाल पत्रकार महासंघले बुधबार काठमाडौंमा तीन वटा ठुला सञ्चार गृह अगाडि धर्ना दिएर दबाब आन्दोलन थालेको छ । कालो ब्यानरसहित महासंघका पदाधिकारी तथा पत्रकारहरूले धर्ना दिएका हुन् ।

कोरोनाका कारण बागलुङका मिडिया पनि अहिले संकटमा छन् । जिल्लामा १० रेडियो, ३ दैनिक, ६ साप्ताहिक, एक टेलिभिजन, आधा दर्जन बढी अनलाइन सञ्चालनमा छन् । बिज्ञापन बजारको मुख्य श्रोत सदरमुकाममा व्यापार व्यवसाय ठप्प हुँदा अब मिडिया के कसरी चलाउने ठुलो संकट, संशय र द्धिविधामा छन् । अब मिडिया सञ्चालनमा परम्परागत तौरतरिका र पद्धतिले काम गर्ने अवस्था छैन । काम चलाउ शैलीको परम्परागत प्रवृत्ति बदल्नुपर्छ । सञ्चार माध्यम सञ्चालक, पत्रकार कर्मचारीले बिषयको नयाँ सोँच, खोज सहित नयाँ विकल्प र बाटोहरु अपनाउनु पर्दछ । मानव जीवनकै कठिन अहिलेको संकट मात्र होइन, हर संकटमा मिडिया र मिडियाकर्मीको भुमिका नेपाली समाजका लागि महत्वपूर्ण छ । तर, स्थानीय सरकारहरु यसलाई नजर अन्दाज गरिरहेका छन् । स्थानीय सरकारलाई मिडिया पनि विकास र परिवर्तनको साझेदार हो भन्ने अनुभूति सहित मिडियालाई उपयोग र सहयोगको नीति अख्तियार गर्न पहल र समन्वय गर्नुपर्छ । पत्रकारहरुले पनि अहिलेको संकटलाई मनन गर्दै यसबीचमा आफ्नो पत्रकारितालाई अझ बढी निखार ल्याउनमा प्रयत्नशिल हुनुपर्छ । नत्र मिडिया र मिडियाकर्मीका लागि यो संकट निकै महंगो सावित हुने निश्चित छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *