तुल्सीराम पाण्डेय
तिहार हिन्दुहरुको दोस्रो चाड हो । यसलाई फुलहरुको चाड समेत भन्दछन्। तिहारको समयमा सबैको घरमा धेरै थरिका फुलहरु ढकमक्क फुलेका हुन्छन्। तिनै फुलहरुले घरको र चाडको शोभा बढाउँदछन। आफ्नै बारीका फुल टिपेर पुजा गर्दा र माला गास्न पाउँदा प्रकृतिसँग रमाएको आनान्द आउँछ । तिहारका पाँच दिनलाई यमपञ्चक भनिन्छ । यो पाँच दिन यमराजले आफ्नी बहिनी यमुना कहाँ गएर बिताएको र भाइटीका लगाएको विश्वास छ । कागलाई यमराजको दूत मानिन्छ । घर नजिकै काग कराएमा पुराना मानिसहरुले सुवोल सुकेल भन्दछन्।
त्रयोदशीको दिनलाई काग तिहार भनिन्छ । त्यसदिन कागको पुजा गर्ने र भात खान दिने गरिन्छ । चतुर्दशीको दिनलाई कुकुर तिहार भनिन्छ । त्यस दिन कुकुरलाई टिका लगाईदिने माला लगाईदिने र खान दिने गरिन्छ । चतुर्दशीको बिहान टिका लगाउनेहरुले नुहाएर शुद्द हुने गर्दछन्। त्यस पछि तीलको दाउरा बालेर आगो ताप्ने र नर्के फाल्ने गर्दछन् । टीका लगाईदिनेले यमराजको पुजा गरेर सबै भाइहरुलाई छुट्टाछुट्टै दियोमा बत्ती वालेर फुलको कलशसँग टाउकामा नर्केजा नर्केजा भन्दै पाँच पल्ट वा सात पल्ट रिंगाएर चौवाटामा लगेर राख्दछन्।
त्यसो गरेमा तिहारमा कुनै दुर्घटना नहुने र मरेपछि नरकमा नपरिने विश्वास गरिन्छ । औशीको दिनमा बिहानै गाईको लागि नुन कुटेर ढिकी फुकाउने गरिन्छ । त्यसपछि मात्र पिठो कुट्ने र सेलरोटी बनाउने गर्दछन्। औशीको दिनमा गाईको गोबर बाट गोवर्धन पर्वत बनाउने र पुजा गर्ने गरिन्छ । साथसाथै गाईको पुजा गर्ने तोरण तार्ने गरिन्छ तोरणमा फुलहरु र सेलरोटी राखेर पुजा गरिन्छ । तोरण धेरै कटाएर बाँधिन्छ । गाईको पुजा गरेपछि मात्र भैलो खेल्दछन्। केहि भैलेहरुले तोरणको सेलरोटी झिकेर खान्छन्। औशिको साँझमा सुनचादी र पैसालाई जम्मा गरेर लक्ष्मीपुजा गरिन्छ। लक्ष्मीपुजा गरेपछि घरमा लक्ष्मीको बास हुन्छ । कहिलेकाही औशिको औशिको अर्को दिन लक्ष्मीपुजा पर्दछ । प्रतिपदाको दिनमा देउसी भैलो खेल्नेहरुको चहलपहल बढी हुन्छ । द्धितियाको दिनमा भाइटीका लगाइन्छ । दिदीबहिनीहरुले नुहाएपछि बिहानै सँघारमा कुचो लाई साक्षी राखेर मेरा दाजुभाईका शत्रु नास होउन भन्दै ओखर फोर्दछन्। त्यसपछि टीकाको तयारी गरेर शुभसाइतमा टीका लाउछन्। टीका लाएपछि फुलको माला र पगरी लाउछन्। दिदी बहिनीलाई दाजुभाइले टीका लगाइदिन्छन्। त्यसपछि खाना खाएर केटाकेटीहरु देउसी भैलो खेल्न जान्छन् । भने पाका मानिसहरु जुवा खेल्न जान्छन्।
तिहारलाई फुलको मात्र चाड नमानेर बत्तीहरुको चाड समेत मान्दछन्। काग तिहारको साँझबाट नै सवै घरहरुको बत्ती वालेर झिलीमिली बनाइन्छ। गाउँघरमा घरका चार शुर सँघार पेटि भ¥याङ आँटी कोठा भँडार ढिकुटी ढिँकी जाँतो आँगन गोठ बाटो र चौबाटोमा समेत बत्ती बालीन्छ । यो क्रम टीकाको दिनसम्म चल्दछ र त्यसै समयमा खेत बारी र खाली ठाउँमा जुनकीरीहरु उडेर उज्यालो बनाउँदछन्। बत्ती बाल्दा माटाको पाला वा पातको दियो बनाएर बालीन्छ । तिहारमा चिउरीको पातको टपरी र दुना बनाउने चलन छ ।
चाडपर्व र मेलाहरु केटाकेटीहरुलाई नै बढी उत्साह र रमाइलो लाग्छ । तिहारको समयमा कसरी भैलो खेलेर धेरै पैसा उठाउने र रमाइलो गर्ने भनेर पहिल्यै सल्लाह गर्दछन्। आ–आफ्ना समूहहरु बनाएर एकजनाले मुखैले भटउने र घरबाट खैडजी मजुर डाम्को र मादल लिएर गाउँभरी भैलो खेल्दछन्। उठेको रकम आपसमा बाँड्दछन् । पाका मानिसहरुले समेत तिहारलाई पैसा उठाउने माध्यमको रुपमा उपयोग गर्दछन्। गाउँमा बाटो बनाउन ,मन्दिर बनाउन , स्कुल बनाउन । स्कुलमा फर्निचरको व्यवस्था गर्ना पौवा बनाउन भैलो खेलेर पैसा उठाउदछन्। आमा समूहहरुले समेत त्यसै प्रकारका काम गर्न र आफ्नो कोष बढाउन भैलो खेल्दछन्। टीका लागाउन माइतमा आएका चेलीहरुले समेत जम्मा भएर भैलो खेल्दछन्। कसैले तत्कालै रकम बाड्छन्। भने कसैले हिउदमा माइत बस्न आउँदा बनभात खाने सल्लाह गर्दछन्। सबैको घरमा पैसा नहुदाँ पाका मानिसलाई जनतन पैसा दिए पनि केटाकेटीलाई धान मकै दिने चलन थियो । त्यही धान मकै बेचेर भैलेले पैसा पार्थे । रामायण महाभारत र कृष्ण चरित्रमा आधारित गीतहरु गाएर पुराना मानिसहरुले नचरी समेत नाच्दथे । त्यसलाई कुनै ठाउँमा सोरठी र कुनै ठाउँमा मारुनी भन्दछन् । त्यस्ता पुराना नाचहरु लोप हुने अवस्थामा छन्। केहि ठाउँमा त्यस्ता नाँचका अशंहरु बनाएर सी डी र युट्युवमा राखिएको छ ।
दशैमा पिङ खेलेर भुई छोड्नु पर्ने र तिहारमा लोग्ने मान्छेले पाशा हान्नु पर्ने परम्परा छ । त्यसो गरेमा मात्र स्वर्गमा पुगिने विश्वास छ । जुवा खेल्ने मानिसले दिदी वहिनी सँग बोट मागेर लगेमा जुवा जितिने विश्वास गर्दछन्। कसैले आफ्नो न्वारनको मोटो वा टोपी लुकाएर लगेमा जुवा जितिन्छ मान्दछन्। धेरै ठाउँमा तिहारको दिनमा मात्र जुवा खेल्दछन्। कुनै ठाउँमा एकादशीसम्म खाल बस्दछ । जुवा खेल्ने मानिसको केहिको उठीवास समेत भएको छ ।
भैलेहरुलाई दान दिँदा सम्मान गर्नेहरुले चामल सेलरोटी फूल पैसा कलश सुपोमा राखो सजाएर बिचमा बत्ती वालेर आँगन ल्याएर राखी दिन्थे । धेरैले दक्षिणा मात्र दिन्थे । घरभेटि बाट दान पाएपछि भैलेहरुले आशिक दिन्छन्। आशिक दिदा पहिले घरमा गाई भैसि भेडा बाखा्र अन्नपात धेरै होस भनेर आशिष दिइन्थ्यो । त्यसपछि छोरा भर्ती होस मान पाओस पढेर मास्टर र कर्मचारी होउन भनेर आशिष दिन थालियो । त्यसपछि डाक्टर पाइलट इनजीनीयर बनुन , विदेश गएर पैसा कमाउन विदेशको पिआर र ग्रिनकार्ड बनोस भनेर आशिष दिन थालियो । अँध्यारोमा भैलो खेल्नेहरुले खरका छाना थुतेर राँको बालेर हिड्थे । होचो गोठहुनेहरुले छानो कुर्थे ।छानो थुतेको थाहा पाएमा गाली गर्ने र लखेट्ने गर्दथे।
अहिलेसम्म आइपुग्दा समय बदलिको मानिसका चाहना र आवश्यकताहरु बदलिएको देशमा राजनैतिक परिवर्तन भएर संघीय लोकतान्त्रीक गणतन्त्र आइसकेको हुनाले चाड मनाउने तरिकाहरुमा समेत परिवर्तन भएको छ ।पहिले सवैको घरमा धेरै थरिका सेलरोटीहरु बनाउँथे । अहिले मिठाइ किनेर तिहार मनाउने र बजारबाट तयारी सेलरोटी किनेर ल्याउने गर्दछन्। माला समेत रेडिमेड ल्याउँछन्। भैलेहरुलाई सवैले पैसा दिन्छन्। भैलो खेल्नेहरुले डेक र माइक लिएर हिड्दछन्। अरुले रचना गरेका गीतहरु बजाएर नाच्ने मात्र गर्दछन्। गीतमा कुनै सन्देश र ऐतिहासिक भुमिका जोडिएको हुदैन चाडको उत्साह र रमाईलो भन्दा बढी पैसा उठाउने होड देखिन्छ।
अब भैलेहरुले आशिष दिदा विदेश गएका छोरा नातीहरु ज्ञान सीप र धन लीएर देशमा फर्कुन बाउआमा र समाजको सेवा गरुन , परिबारमा मित्रता होस , सवैले देशमा बस्न पाइयोस देश बिकाश होस , अस्थीरता र भ्रष्टाचारको अन्त्य होस , सबै नागरिकमा बेथितिको बिरोध गर्ने हिम्मच आओस , कसैले बिदेश जान नपरोस भनेर आशिष दिने समय आएको छ ।