नागरिकको स्वास्थ्यप्रति सम्वेदनशिल छौं : नगरप्रमुख पौडेल

आदर्श अनलाइन, बागलुङ
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले गठन गरेको मानव अधिकार समुहको आयोजनामा बागलुङको जैमिनी नगरपालिकामा बिहीबार स्वास्थ्यको अधिकार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा जैमिनी नगरपालिकाका नगरप्रमुख इन्द्रराज पौडेलले नगरपालिकाका नागरिकको स्वास्थ्य प्रति आफुहरु सम्बेदनशिल रहेको बताउनुभएको थियो ।

उहाँले पछिल्लो समय मानवअधिकारको दायरा फराकिलो भएकाले विकसित मुलुकको बराबरी गर्न नसके पनि उपचारात्मक, प्रर्वद्धनात्मक, सरसफाई र आधारभुत स्वास्थ्य सेवामा सम्वेदनशिल रहेको बताउनुभएको थियो ।

त्यसैगरी जैमिनी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गोविन्द आचार्यले नगरपालिकाका २९ वटा खोप केन्द्रबाट १२ प्ररकारका नियमित खोप प्रदान गर्दै आएको, नगरपालिकाका सबै स्वास्थ्य संस्थामा दरबन्दी अनुसारका स्वास्थ्यकर्मी रहेको, नगरपालिकाका ७ वटा वडामा वर्थिङ सेन्टर रहेको र बाँकी तीनमा तयारी रहेको, स्वास्थ्य संस्थामा कम्प्यूटर र इन्टरनेटको व्यवस्था, किशोर किशोरी मैत्री स्वास्थ्य सेवा, विभिन्न समयमा आँखा शिविर सञ्चालन, १ सय ३८ जना महिला स्वास्थ्य स्वंय सेविकलाई १ सय ३८ वटा स्टेचर हस्तान्तरण गरिएको बताउनुभएको थियो ।

कार्यक्रममा राङखानी स्वास्थ्य चौकीका सिनियर अहेव टुकनाथ शर्माले सामान्य रुघाखोकी लागेर तातोपानी र आरामले पनि निको हुने विरामीलाई एन्टीवायोटिक दिनुपर्ने बाध्यात्मक उपचार पद्धती आफुहरुले अवलम्बन गर्नुपरेको बताउनुभएको थियो ।

‘सल्लाह, सुझाव दिंदा स्वास्थ्यकर्मीले राम्रो उपचार नगरेको, औषधी नदिएको आरोप लाग्छ,’ उहाँले भन्नुभयो ‘निजी स्वास्थ्य संस्थामा पुगेर भएपनि औषधी खाने र सरकारीलाई गाली गर्ने प्रचलन बढी छ त्यसैले बाध्यतामा परेर पनि औषधी दिनुपर्छ ।’

उहाँले जनप्रतिनिधी र स्वास्थ्य संस्थाप्रतिको समन्वय कमजोर रहेको बताउनुभएको थियो । सरकारको नजरमा स्वास्थ्य सेवा प्राथमिकतामा नपरेको कारणले नै महामारीको समयमा ठुलो क्षती व्यहोर्नु परेको समेत बताउनुभयो । बजेट विनियोजन गर्दा स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने उहाँको धारणा थियो ।

त्यसैगरी स्वास्थ्य विमा अभिकर्ता एलु थापाले स्वास्थ्य संस्था प्रति विरामीको विश्वास बढाउने गरी स्वास्थ्यकर्मीले काम गर्नुपर्ने बताउनुभएको थियो । स्वास्थ्यकर्मीले राम्रो व्यवहार नगर्ने, समयमा चेकजाँच नगर्ने गरेका कारण स्वास्थ्य विमा गराउन समेत समस्या परेको भन्दै उहाँले चेकजाँच नै नगराई रिफर माग्ने अवस्था सिर्जना हुन नदिन स्वास्थ्य संस्था सचेत हुनुपर्ने उहाँले बताउनुभयो ।

कार्यक्रमका सहभागीले गर्भवती र सुत्केरी आमाको लागि नगरपालिकाले पोषण कार्यक्रम सञ्चालन गर्नुपर्ने बताएका थिए । सबै स्वास्थ्य संस्थामा अनुभवी स्वास्थ्यकर्मी हुनुपर्ने, कोरोनाको महामारी भन्दै विरामीलाई स्वास्थ्यकर्मीले राम्रो व्यवहार नगरेको, स्वास्थ्य संस्थाबाट प्रदान हुने सेवाहरु स्वास्थ्य संस्थाको भित्तामा चित्र सहित लेखेर टाँस्नुपर्ने, महिला स्वास्थ्य स्वंम सेविकालाई तालीम दिइनुपर्ने र स्वास्थ्यकर्मीले व्यक्तिगत आचारणमा ध्यायन दिनुपर्ने सहभागीले बताएका थिए ।

कार्यक्रम मानव अधिकार समुहका संयोजक मेघराज ढकालको अध्यक्षतामा सम्पन्न भएको सहजकर्ता साधना पन्तले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *