फेरी उठ्दैछ बेलढुंगा (फोटो फिचर सहित)

दिल शिरीष,बागलुङ

छोटो समयमै पर्यटक माझ स्थापित गन्तव्य बन्न थालेको ‘बेलढुंंगा’ को माथिल्लो भाग गत भाद्र १० गते राति भत्कियो । बेलढुंगाको पर्यटकीय पूर्वाधार विकास र प्रर्वद्धनमा सक्रिय भएका दुवै जिल्लाका स्थानीय अगुवा निराश भए । तर, अहिले फेरी स्थानीय जनप्रतिधि र अगुवा मिलेर ‘फेरी उठ्नेछ बेलढुंगा’ अभियान चलाएका छन् । अभियान अन्र्तगत अब बेलढुंगा र तल देउराली, स्वर्गाश्रम लगायतका स्थानमा प्रकृति र पर्यटनमैत्री संरचना निर्माण गरिनेछ ।

प्राकृतिक भ्यू टावरको रुपमा रहेको बेलढुंगाबाट विहान सुर्याेदयको अवलोकन गर्दै पर्यटक

पछिल्लो समय अग्ला डाँडापाखामा स्थानीय र तीन तहको सरकारले भ्यू टावर बनाउने लहड छ । तर, बागलुङ जिल्लाको काठेखोला ३ धम्जा ओखले र म्याग्दी जिल्लाको बेनी नगरपालिका ३ भकिम्लीको सिमानामा प्राकृतिक रुपमै बनिबनाउ भ्यू टावर अर्थात बेल आकारको अग्लो ढुंगा छ । जहाँबाट धौलागिरी, निलगिरी, माछापुच्छ«े, अन्नपूर्ण, गुर्जा लगायतका दर्जन बढी हिमश्रृखंला, हरियाली जंगल र धौलागिरीका म्याग्दी, पर्वत, बागलुङका करिब तीन दर्जन गाउँबस्ती, महत्वपूर्ण धार्मिक र ऐतिहासिक क्षेत्रलाई अवलोकन गर्न सकिन्छ । यो समुद्री सतहदेखि २६ सय मिटरको उचाइमा घना जंगलको बीचमा छ ।

बेलढुंगामा सुर्याेदयको दृश्यसँगै सेल्फी लिदै पर्यटक

बेलढुंगाको करिब १० मिटर जति उचाई र त्यसमा निर्माण गरिएको पूर्वाधार भत्किए पनि प्राकृतिक भ्यू टावरको पहिचान कायमै रहेको स्थानीय सामाजिक अगुवा गोपाल श्रीसले बताए । ‘बेलढुंगाको माथिल्लो भाग खसे पनि अहिले दैनिक दर्जनौको संख्यामा आन्त्रिक तथा बाह्य पर्यटक आइरहेका छन्,’ श्रीसले भने, ‘कोरोना कहरका कारण घुम्नमा रोक लगाए पनि हामीलाई रोक्न हम्मे हम्मे परिरहेको छ, यसलाई अब नयाँ हिसावले संरचना निर्माण गर्ने तयारीमा छौ ।’

सम्मुखमा रहेको हिमाललाई पृष्ठभुमीमा पारेर फोटो खिच्दै स्थानीय र पाहुना

‘बेलढुंगा’ क्षेत्रको समग्र विकास र प्रर्वद्धन गर्न अहिले ‘बेलढुंगा’को फेदबाट दुई जिल्लालाई जोड्ने गरि मोटरबाटो निर्माण गरिएको छ । ‘बेलढुंगा’को फेदी देउराली डाँडादेखी ‘बेलढुंगा’ मा पुग्नका लागि पदमार्ग समेत निर्माण गरिएको छ ।

२६१० मिटरको उचाईमा अवस्थित बेलढुंगा चढ्ने क्रममा ।

‘बेलढुंगा’ चढ्न दुवै जिल्लाका गाउँहरुबाट आधा घण्टा उकालो चढे पछि देउराली डाँडाबाट १० मिनेटमा पुग्न सकिन्छ । ‘बेलढुंगा’लाई आकर्षक गन्तव्य स्थल बनाउने गरि धम्जाको ओखलेमा ‘बेलढुंगा’ सामुदायिक होम स्टे समेत सञ्चालनमा छ ।

बेलढुंगाबाट दृश्यावलोकन पश्चात फर्किने क्रममा

उता, देउराली डाँडाबाट म्याग्दी तर्फ केही तल पुगे पछि धार्मिक हिसावले महत्व राख्ने स्वर्गाश्रम छ । प्राकृतिक विपद्ले केही समस्या र चूनौती खडा भए पनि बेलढुंगालाई नयाँ ढंगले विकास गर्न लागिएको बेनी नगरपालिका वडा नम्बर ३ भकिम्लीका अध्यक्ष पदम पुनले बताए । ‘यो ठाउँ धार्मिक र प्राकृतिक दुवै हिसावले गन्तव्य स्थल बन्ने राम्रो सम्भावना छ,’ अध्यक्ष पुनले भने, ‘यो सिमानामा भएकाले एक जिल्ला र गाउँले गरेर मात्र हुँदैन, दुवै जिल्ला र गाउँको साझा अपनत्व हुने गरी विकास संरचना र प्रर्वद्धन गर्ने अभियानमा हामी लागिरहेका छौ ।’

बेलढुंगामा सामुहिक फोटो खिचाउँदै दिदीबहिनीहरु ।

बाह्रै महिना हिमश्रृखंला र प्राकृतिक भू–बनोटलाई अवलोकन गर्न सकिने यस क्षेत्रमा चैत्र–बैशाखमा फुल्ने रातो र सेतो लालीगुराँसले मनमोहक थप्दछ । ‘बेलढुंगा’को प्रचार प्रसार र पुर्वाधार तयार गरेर आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गरि गाउँको बसाई सराई रोक्ने दुवै तर्फका वडाको योजना छ । ‘यो महत्वपूर्ण माध्यम हुन सक्छ, यसको सबै किसिमले विकास र उपयोगमा अब ध्यान केन्द्रित गर्नुपर्छ,’ स्थानीय लोक श्रीसले भने,‘ ‘बेलढुंगा’को पहिचान र प्रचारसँगै स्थानीय किसानलाई अर्गानिक उत्पादन, परम्परागत खेतिप्रणालीमा सुधार गरेर व्यवसायिक हिसावले पनि अघि बढाउने योजना छ ।’

बेलढुंगा तल देउरालीमा हिमाल नियाल्दै आगन्तुक र स्थानीय । यहाँबाट करिब १० मिनेट उकालो चढेपछि बेलढुंगा पुगिन्छ

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *