तिहारको शुभकामना

सम्पादकीय
नेपाली समाजमा दोस्रो ठुलो महान पर्वका रुपमा लिइने तिहार अर्थात् दीपावली सुुरु भएको छ । अघिल्ला वर्षमा यो समयमा तिहारको रौनकता र झझल्को गाउँदेखि शहर सम्म पृथक रुपमा हुने गरे पनि यसवर्ष भने त्यतिधेरै उत्साह कतै कसैमा देखिदैन । विश्वव्यापी रुपमा आएको कोरोना भाइरसले यस्ता चाडपर्वहरु खल्लो मात्रै बनाइदिएको छैन । जीवनका दैनिकी, योजनाहरु पनि पुरै अस्तव्यस्त बनाइदिएको छ । बडादसैं पनि जो जहाँ छौ, त्यही मनाउन नेपाल सरकारले निर्देश गरे अनुसार धेरैले त्यही गरेर मनाए पनि । अहिले तिहार पनि त्यही हिसावले मनाउनु पर्ने बाध्यात्मक परिस्थितिमा हामी छौ । किनकी कोरोना भयावह सुरु भएको ८ महिना लामो समय बितिसक्दा पनि अझै कोरोना संक्रमण समाजमा बढ्दो क्रममा देखिएको छ ।

कोरोना संक्रमणको जोखिमका बीच कात्तिक कृष्ण त्रयोदशीदेखि यमपञ्चक अर्थात तिहार बिहीबारदेखि सुरु भएको छ । पहिलो दिन यमदीपदान भए पनि काग तिहार शुक्रबार परेकाले दोस्रो दिनबाट मात्रै पुजाआजा गर्न थालिदैछ । यस अवसरमा यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ । तेस्रो दिन कात्तिक २९ गते शनिबार बिहान नरक स्नानसहित कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा गर्नुपर्छ । अपराह्न १ः४९ बजेसम्म कात्तिक कृष्ण चतुर्दशी र त्यसपछि आँैशी तिथि लाग्ने भएकाले शास्त्र सम्मत रुपमा पर्व सम्बन्धी निर्णय गरिएको पञ्चांक निर्णायक समितिले जनाएको छ । गाई, गोरु र आत्म (म्ह) पूजा कात्तिक ३० गते आइतबार गर्नुपर्ने शास्त्रीय वचन छ । त्यसपछि कार्तिक शुक्ल प्रतिपदा प्रारम्भ हुने भएकाले म्हपूजा यसै दिन गर्नुपर्ने हुन्छ । यसपटक तिहार मंसिरमा पुगेको छ । मंसिर १ गते सोमबार तिहारको मुख्य दिन भाइटीका पर्व मनाइन्छ । बिहान ११ः३७ बजे भाइटीकाको साइत उत्तम छ । नेवारी समुदायले भने मंसिर २ गते भाइटीका लगाउने तय भएको छ ।

तिहारको आफ्नै मौलिक सँस्कृति, पहिचान र बिशेषता छ । यो तिहार पर्वका पाँच दिनमा एकैसाथ पशुपंक्षीदेखि मानिसको समेत पुजा गरिन्छ । यसले पृथ्वीजगतमा सबै प्राणीको उत्तिकै अपरिहार्यता र सम्मान गर्नुपर्ने यथार्थतालाई बोध पनि धेरथोर गराउँदै आएको छ । चाहे सन्देश बाहकको रुपमा लिइने कागको पुजा होस् या घरको रक्षकको रुपमा राखिने कुकुरको पुजा होस् या गाइभैसी गोरुको गोबद्र्धन पुजा होस् या लक्ष्मीको पुजा होस् या दिदी भाईहरु बीचको पुजाआजा होस् । यसले आपसी सम्बन्धलाई मजबुत बनाउन नै बिशेष भुमिका खेलिरहेको छ । समग्रमा हेर्दा तिहारका पाँचका दिनले हाम्रा संस्कार र सभ्यताको सांगोपांगो झल्को दिन्छन् । उज्यालो पर्वका रुपमा लिइने यो चाँडले सत्य र असल कार्यका लागि बत्तीजस्तै प्रज्वलित हुन सबैलाई प्रेरित गर्ने विश्वास गरिन्छ । यसले आपसी मेलमिलाप, सद्भभाव, स्नेह र प्रकृति पूज गर्न पनि सिकाएको छ । तिहारका पाँच दिन छुट्टाछुटै महत्व र अर्थ सहितको पुजाआजा गर्दै हामी सबैले यसको मर्म बुझ्नु र जीवनमा त्यसको सन्देश र महत्वलाई अनुसरण गर्नु यसको महत्वपूर्ण पाटो हो । अहिलेको कठिन अवस्थामा आफु सचेत र सुरक्षित हुँदै तिहार मनाउनुहोस् । तिहार अर्थात् दीपावलीको तपाई सम्पूर्णमा हार्दिक शुभकामना !!

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *