हङकङमा भयानक आगलागीः बागलुङे सहित ७ जनाको मृत्यु

आदर्श अनलाइन,बागलुङ

हङकङको जोर्डन स्थित नेपाली रेष्टुरेन्टमा आइतबार राति भएको आगलागीमा घाइते भएका १८ जनामध्ये सात जनाको मृत्यु भएको हङकङ सरकारले पुष्टि गरेको छ।

हङकङ निवासी बागलुङका राज कँडेलको छोराको जन्मदिन मनाउने क्रममा आइतबार राती करिब साढे ८ बजे आगलागीमा परेर मृत्यु भएका सात जना नै नेपाली हुन्।

तिहारको भाइटीकाको अघिल्लो रात भएको यो भयानक घटनाले हङकङमा बसोबास गर्ने नेपाली स्तब्ध भएका छन्। घटनाबारे सुनेपछि कतिपयले आइतबार रातीदेखि नै पार्टीहरू रद्द गरेका छन् भने केहीले सोमबारको भाइटीका कार्यक्रम पनि रद्द गरेका छन्।

हङकङमा पछिल्लो एक दशकयता भएको यो सबैभन्दा भयानक आगलागीको घटना हो। निर्माण क्षेत्रमा काम गर्ने क्रममा कतिपय मृत्युका घटनाहरू समेत भएपनि हङकङमा स्थायी रुपमा बसोबास गर्ने ४० हजार नेपालीका लागि यो अहिलेसम्मकै सतब्ध पार्ने ठूलो घटना हो।

हङकङकी प्रमुख कार्यकारी क्यारी लामले सोमबार घटनास्थलको निरीक्षण गर्दै मृतकका परिवार र स्तब्ध नेपाली समुदायप्रति समवेदना व्यक्त गरेकी छन्। उनले सम्बन्धित विभागका अधिकारीहरूलाई घाइतेको उपचारमा ध्यान दिन र घटनाको कारण पत्ता लगाउन निर्देशन दिएकी छन्।

हङकङको याउचिमोङ जिल्लामा पर्ने घटनास्थल क्यान्टोन रोड र साइगोन रोडको बीचमा पर्छ, जुन नेपालीहरू बसोबास गर्ने एउटा मुख्य क्षेत्र हो। यस क्षेत्रका पुराना घरहरूमा नेपालीले साना साना व्यवसाय सञ्चालन गर्नुको साथै बसोबास समेत गर्दै आएका छन्।

यस क्षेत्रकी जिल्ला परिषद सदस्य लेस्ली चानका अनुसार एक नेपालीले बिना लाइसेन्स सो रेष्टुरेन्ट सञ्चालन गर्दै आएका थिए।

चानका अनुसार मृत्यु भएका सात जनामध्ये चार जना पुरुष र तीन जना महिला छन्, जो ८ देखि ४८ वर्ष उमेरका हुन्। मृतक र थप ११ जना घाइते नेपाली समुदायका रहेको चानले बताइन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ।

यसअघि सोमबार नै हङकङस्थित नेपाली महावाणिज्य दूतावासले घटना विवरण सार्वजनिक गर्दै सात जनाको मृत्यु भएको र ११ जना घाइते रहेको जनाएको थियो।

बागलुङ समाज हङकङका सचिव शक्तमान बुढाथोकीका अनुसार सो समाजका आजीवन सदस्य राज कँडेलको छोराको जन्मदिन मनाउने क्रममा आगलागीको घटना भएको हो। त्यसैले मृत्यु हुने र घाइते पनि बागलुङका उनकै परिवार र नातेदारका धेरै परेको बुढाथोकीले बताएका छन्।

बागलुङ समाज हङकङका सदस्य कृष्ण कँडेलको परिवारका ४ जना, आजीवन सदस्य राज कँडेलको परिवारका ३ जना, उनकी बहिनी पूजा कँडेलको परिवारका ४ सदस्य घटनामा परेको बुढाथोकीले बताए।

हङकङका फायर सर्भिस विभागका एक अधिकारीका अनुसार रेष्टुरेन्टमा बाहिर निस्कने अतिरिक्त ढोका नहुँदा आगलागी भएपछि मानिसहरू भान्साको पछाडि फसेका थिए।

बिल्डिङको पहिलो तलामा रहेको रेष्टुरेन्टभित्र आगलागी भएपछि केहीले भागेर ज्यान जोगाउन सफल भएका छन्। करिब ८ बजेर ३५ मिनेटमा एक जना झ्यालबाट चिच्याउँदै भाग्ने क्रममा खसेर घाइते भएका थिए। चानका अनुसार घटना भएको बिल्डिङबाट उद्धार गरिएका मानिसहरूलाई जिल्ला परिषदले सहयोग गरिरहेको छ र सो क्षेत्रमा घटनाको अनुसन्धान भइरहेकाले तीमध्ये केहीले केही दिन होस्टलमा बस्नु पर्ने हुनसक्छ। -नेपालखबरबाट

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *