–शिवशरण ज्ञवाली
सिर्जना स्वछन्द हुन्छ । हावामा कावा खान्छ । यसरी कावा खाँदा कहीकही उसले राँटा छोड्छ, कहीकही फूलबुट्टा भर्छ, कहीकही काल्पनिक हुन्छ कही यर्थाथलाई टप्प टिप्छ । कही भत्काउँछ त कही निर्माण पनि गर्छ । कही लेखक आत्मअभिव्यक्ति गर्छ कही वस्तुपरक हुन्छ । सिर्जनाको गतिका बारेमा इतिहासदेखि आजसम्म धेरै बहस भएका छन् । सिर्जनाले यर्थाथमा कल्पनाको जलप लगाउँछ । यस्तो हो कि उस्तो हो भन्ने नै पाठकलाई छुट्टयाउन मुस्किल पर्छ । कल्पनाको जलप लगाउने हुँदा त्यहाँ झुट पनि आउन सक्छ अनि सत्य पनि आउन सक्छ । अनि सिर्जनाका बारेमा अनेक बहस, छलफल र तर्क हुन्छन् । ती अनुसन्धान नामले चिनिन्छन् । त्यही अनुसन्धानका क्रममा अरुको त कुरै छाडौँ भौतिक विज्ञान समेत साहित्यको पछि लागेको पाइन्छ । हुनतः अनुसन्धानको शैली वा ढाँचा सामाजिक विज्ञान र भौतिक विज्ञानमा फरक फरक रहेको हुन्छ । सामाजिक शास्त्रले कोही कसैका भनाइलाई पनि सिद्धान्त मानेको हुन्छ रे ! विज्ञानले वस्तुलाई । सामाजिक शास्त्र सिद्धान्तका कसीमा जाँचिन्छ भने विज्ञान प्रयोगमा ।
सिर्जना सिकाएर हुने कुरा हो या आफसेआफ भन्नेमा पूर्व पश्चिम दुवैतिर पर्याप्त बहस भएका छन् । दुवै क्षेत्रमा आन्तरिक प्रेरणालाई जोड दिदैं अध्ययन र अभ्यासबाट पनि सिर्जना विकास गर्न सकिन्छ भन्ने मान्यता रहेको पाइन्छ । अध्ययन अध्यापन गराउने स्थल भनेको प्राचिन गुरुकूल, गुम्बाहरु थिए भने आज शिक्षालय छन् । तर आजको शिक्षालयहरुबाट सिर्जना विकास गराउन धेरै गारो भइसक्यो । समाजमा जगजगी पैसाको छ । त्यसकारणले गर्दा मानिसहरु पैसामुखी भएका छन् । शिक्षालयहरु पनि त्यसबाट अछुतो छैनन् । राज्यको शिक्षालाई हेर्ने दृष्टिकोण नकारात्मक मात्रै होइन, प्राथमिकताको सबैभन्दा पछिल्लो नम्बरमा रहेको छ । विकसित देशको शिक्षण विधि, कक्षाकोठाको कुरा सुन्दा त हामी शिक्षाको एकदमै प्रारम्भिक तहमा छौँ जस्तो लाग्छ । विकसित देशहरु अनुदानमार्फत आफ्नो शिक्षा नीति लगाएर हामीलाई कल्पनाहीन र सिर्जनाहीन बनाउन प्रयत्नशील छन् । हाम्रा नीतिनिर्माण गर्नेहरु डलर डर्काछन् । हाम्रो गरिमामय प्राचीन्, सभ्यता, संस्कृति, शिक्षादीक्षाका पक्षमा खोज अनुसन्धान नगर्नु तर उतातिरकै सर्वाङ्ग मान्नु यसैको उदाहरण हो । बिडम्बना संस्कृत विश्वविद्यालय समेत पश्चिमा ढाँचाको शिक्षादीक्षामा लागेको छ । पश्चिमा ढाँचाले सिर्जनालाई जोड दिदैन । मध्यवर्गीय जनशक्ति उत्पादनलाई जोड दिन्छ । हामीलाई एक नम्बर होइन दुई नम्बर बनाइरहन्छ । राजा महेन्द्रको क्षमता र गल्ती दुवै थियो, नयाँ शिक्षा योजना । क्षमता यस अर्थमा उनले ल्याएको शिक्षानीतिमा अहिलेसम्म पनि कसैले परिवर्तन गर्न सकेको छैन । गल्ती यस अर्थमा बेरोजगार उत्पादन गर्ने, सिर्जना मार्ने शिक्षानीति पनि उनैले लागू गरे । त्यही शिक्षानीतिले उनकै व्यवस्थालाई बन्चरो प्रहार गरेर हत्या गरिदियो ।
विश्वविद्यालयमा नम्बरे बन्दा रहेछौँ, हामी प्राध्यापकहरु । त्यो नम्बरे बन्नका लागि सिर्जनामा प्रतिबन्ध लगाइएको छ । सिर्जनाले नम्बर पाउँदैन । काल्पनिक हुन पाइदैन । यर्थाथको यान्त्रिक मेसिन हुनुपर्छ । हामी त्यस्तै भएका छौँ । हामीले विद्यार्थीलाई पनि त्यही सिकाउँछौँ । सकेसम्म यान्त्रिक बनाउँछौँ । प्रतिभावान्हरुले यस्ता शिक्षालयहरु छाडेर हिड्छन् । प्रकाश सपूतले पनि यन्त्रालय छाडेकै रहेछन्, हरिवंशले पनि छाडेर आफ्नो बाटो लागें । मोहन कोइरालालाई दिक्क लागेर स्कुलबाट भागें । धेरै कवि कलाकारहरुले यस्ता शिक्षालयहरु छाडे । जीवन शर्माले बुझ्नु बुझे अनि आफ्नो बाटो छाडेनन् । बौद्धिकहरुलाई चुनौती दिएर उनी आफ्नै कर्ममा डटिरहेका छन् । तसर्थ समाजमा पैसाको जगजगी भए जस्तै विश्वविद्यालयमा नम्बरको जगजगी छ । पैसाजस्तै यो नम्बर पनि असामाजिक हुँदोरहेछ । समाजसँग हामीलाई चासो नहुने हुँटिट्याउँको आकाशजस्तै हाम्रो आकाश हुने । आफैमा गजक्क पर्ने बानी विकास हुने । यान्त्रिक हुने । त्यसबाट निस्कने कसरी ?
यो मनुवालाई भक्ति दाईले भनेजस्तै चिट्टामै भए पनि पद हात लागिहाल्यो । मलाई पदको छटपटी सुरु हुँदा अरु रोलक्रमले आएका साथीहरु थुप्रैथुप्रै काम गरेर थाकिसक्नुभएको रहेछ । कोही त संगठन नामको भाइरसमा प्यारालाइज भएर आएका पनि हुनुहुँदोरहेछ । गर्न खोज्नु भए होला बढी जान्ने न हो भने होलान् । अनि त चुपचाप । पद लियो सकियो । कथित मर्यादाक्रम खोज्यो । मन्त्री पनि त्यसै गर्दा हुन् कि ! म त भर्खरभर्खर जोत्न हिडेको वर बाच्छो जस्तो भएँ क्यार ! भक्ति र हिरा दाई अझै नौजवानै हुनुहुँदो रहेछ । भन्न त भक्ति दाईले ‘साप्ताहिक कार्यक्रम चौतारी’ भयौँ भन्नुहुन्छ । यसको सप्रसङ्ग व्याख्या त उहाँले नै गर्नुहोला ! तर उहाँहरु चौतारी भएको महसुस मैले गरिनँ । क्याम्पसबाट निस्कने प्रज्ञा–सारथि नम्बरबाट माथि लैजाऊ न भन्ने कुरा चल्यो । समाजसँग पनि जोडौँ । हाम्रो प्रचार पनि गरौँ । अलिअलि दाम पनि कमाऊँ । रितो गोजीले के पदीय कुरा गर्ने ? भन्ने प्रश्न जोडिएर आयो । निर्वाचित भएको सुरुसुरुको जोशमा ‘स्मारिका’ प्रकाशन गर्ने भन्ने एउटा निर्णय पनि गरिएको थियो । त्यो त्यतिकै थन्किएको थियो । पैसाको बाटोका लागि श्रम गर्ने भन्ने थियो । सय रुपैयाँ हजार रुपैयाँ हुँदै प्रज्ञा–सारथिको आजीवन ग्राहक बनाएर पाँच हजार रुपैयाँसम्म संकलन गर्ने व्यक्तिगत प्रयास त मैले गरेकै थिएँ । मलाई थाहा थियो, व्यक्तिगत प्रयासले मात्रै संस्थाको गोजी भरिदैन । आएदेखि देउसीभैलो मार्फत पैसा पनि संकलन गर्ने र संस्कृति पनि बचाउने काम हामीले गर्नुपर्छ भन्ने मत मेरो थियो । यसमा नेतृत्वलाई सहमत गराउन सकिएन बरु अरु साथीहरु यसमा सहमत हुनुहुन्थ्यो । त्यो जटिल हो भन्ने त मलाई पनि महसुस थियो । बाहिरको मान्छे आफैं बिदा छोट्टयाएर आउनुपथ्र्यो । फेरि आजकाल हामी मगन्ते भएका छौँ । त्यसैमा रमाएका छौँ । रसिद बनायो पैसा कमायो । कुनै श्रम गर्नु नपर्ने ? आफूलाई घुम्न मन लाग्यो, पैसा उठायो । पिकनिक जान मन लाग्यो पैसा उठायो । यसबाट कसरी माथि उठ्ने भन्ने सन्दर्भमा प्रज्ञा–सारथि क्याम्पस विशेषांकको रचना गर्भ तयार भयो ।
सुरुमा हामीले स्मारिका भनेर निर्णय ग¥यौँ । दिनबहादुर सरसँग सल्लाह गर्दा उहाँले स्मारिका राख्न नमिल्ने बरु प्रज्ञा–सारथिकै विशेषांक भन्न सकिने सल्लाह दिनुभयो । सोही सल्लाह बमोजिम क्याम्पससँग जोडिएका नितान्त व्यक्तिगत अनुभव संकलन गरेर लेखरचना माग्न थाल्यौँ । सँगसँगै विज्ञापन पनि उठाउन थालियो । समाजका गन्यमान्यहरुसँग पनि लेखरचना मागियो । प्राध्यापकहरुलाई आत्मपरक लेख्नका लागि आग्रह गरियो । क्याम्पससँग जोडिएका कथाकुथुङ्ग्री मागियो । आत्मपरक शैलीमा लेखिएका रचनाहरु पनि आए । शोध ढाँचाका केही रचनाहरु पनि आए । क्याम्पससँग जोडियो भने सबैलाई स्थान दिने भन्नेमा पुग्यौँ । पहिलो प्रयास भएका कारणले गर्दा हामी सबैलाई समेट्ने प्रयत्नमा थियौँ । आभ्यासिक साहित्यिक रचनाजस्तो बनाउने कोसिस थियो हाम्रो । शायद त्यसमा सफल भइयो कि जस्तो लाग्छ । महेशसरले विरोधाभाषपूर्ण कुरा आए भनेर भन्नुहुन्थ्यो भन्ने सूचना सरोज सरले दिनुभएको थियो । आत्मपरकतामा दाबीप्रतिदाबी हुन्छ । सम्झना बिर्सना हुन्छ । सम्पादकले त्यो काट्नु मिल्दैन । कतिपय ठाउँमा प्रश्नचिन्ह राखिदिएर जस्ताको तस्तै छाडेका छौँ । त्यो विरोधाभाष, दाबी आदिलाई सत्यताको कसीमा दाँज्ने काम अनुसन्धानकर्ताको हो । अर्को कुरा हामी कहाँ सम्पादक भइसकेका छौँ र ? सम्पादकको कैंची त निकै धारिलो हुन्छ । त्यसले सम्पादकीय स्वतन्त्रता बचाउन मद्दत पनि गर्दछ भने सत्ताको गुणगान पनि गाउन सकिन्छ । तसर्थ सम्पादकीय ल्याकत विकास भइसकेको छैन, हामीमा । कामचलाऊ हो । हामी काम चलाऊ सम्पादक हौँ ।
पुस्तक कस्तो बनाउने नाम के राख्ने भन्नेमा निक्र्यौलमा हामी अन्तिम समयमा मात्रै पुग्यौँ । आएका सबै रचनाहरुको अनुगमन ग¥यौँ । क्याम्पससँग नजोडिएका रचनालाई स्थान दिएनौँ । त्यसरी अनुगमन गर्दा प्रज्ञा–सारथिको क्याम्पस विशेषांक नाम राख्ने निष्कर्षमा हामी पुग्यौँ । तसर्थ यो ऐतिहासिक तथ्यमा आधारित रचना होइन, आत्मपरकतामा आधारित भावनात्मक तरल रचना नै हो । थोरै भए पनि पठनीय सामग्री उत्पादन गर्न सकिन्छ कि भन्ने प्रयत्न मात्रै हो । नम्बरबाट बाहिर निस्कन खोजेको मात्र हो । सिर्जनाको आभ्यासिक रचना हो पनि भन्न सकिन्छ । कोमल भावनाको अभिव्यक्ति हो । तसर्थ यसमा दाबी प्रतिदाबी हुनु अस्वभाविक होइन ।
यही सिर्जनात्मक अभाव खड्किएको परिवेशमा हामीले यो रचना निकाल्यौँ । बहस आआफ्नै तरिकाले चलिरहोस् । रचनात्मक सुझाव प्राप्त भइराखोस् । हामीलाई थप रचनात्मक बनेर अगाडि बढ्न सहयोग गरोस् । सिर्जनात्मक बनाओस् । यही अपेक्षा छ । हामी प्रज्ञा–सारथिका अनुसन्धनात्मक र सिर्जनात्मक दुई प्रकाशनहरु सँगसँगै लाने प्रयासमा छौँ । पदीय हैसियत र जसअपसको भागिदार जोसुकै किन नहोस्, त्यसमा हामीलाई मतलब छैन । केवल एउटा मान्छेले धेरै फरक ल्याउँछ । यही प्रेरणा छ ।