नेकपा रमिता होइन,काम देखाऊ

सम्पादकीय
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आजको दिन सम्म मुलुकको सबै भन्दा ठुलो पार्टी हो । नेकपा नेतृत्वको दुई तिहाई बहुमतको सरकार छ । देशमा नयाँ संघीय अभ्यास सुरु हुँदाको तीन तहको सरकारमा कम्युनिष्ट बाहुल्यता छ । तर, यथास्थितिलाई छिचोलेर देशमा नयाँ परिवर्तनको शंखघोष गर्ने प्रतिवद्धता व्यक्त गरेका कम्युनिष्ट पार्टी र नेताहरु अहिले आन्तरिक विवादको रसतालमा डुबेका छन् । र सुखी नेपाली, समृद्ध नेपालको नारा र एजेण्डा अलपत्र पर्ने बिन्दुमा छ । हतार हतार निर्वाचनमा बाम तालमेल गरेर मैदान उत्रिएका तत्कालिन नेकपा एमाले र एकिकृत माओवादी केन्द्रबाट निर्वाचनमा ऐतिहासिक सफलता पाए सँगै पार्टी एक भएर नेकपा बने पनि एकता धर्मराएको छ ।

हुन त नेपाली राजनीतिमा मात्र होइन,अन्र्तराष्ट्रिय राजनीतिमा पनि सत्ता र शक्तिको संघर्ष सर्वत्र हुन्छ । नेपाल जस्तो देश मात्र यसबाट मुक्त हुने अवस्था रहेन । र त नेपालमा पुराना धेरै व्यवस्था फेरिए पनि अवस्था र प्रवृत्तिमा उल्लेखनीय परिवर्तन हुन सकेन । जसको प्रत्यक्ष उदाहरण नेपाली राजनीतिको पछिल्ला घटनाक्रमले प्रष्ट पारेको छ । आम नागारिकको कम्युनिष्ट नेतृत्वको शक्तिशाली सरकार बन्दा स्वभाविक अपेक्षा बढी थियो । समयक्रमले कम्युनिष्ट नेताहरु आन्तरिक विवादको अश्वस्थ प्रतिस्पर्धामा होमिदाँ निराशा छाएको छ । गुनासो र निराशा यति सम्म कि कम्युनिष्ट पार्टीकै नेता कार्यकर्तामा समेत तिव्र गुनासो र आक्रोश अभिव्यक्त छ । पार्टी राजनीति या अन्तर पार्टी राजनीतिमा स्वश्थ बहस हुनु राम्रो कुरा हो । अहिलेको विवादको जड विधि र पद्धति मान्ने कि नमान्ने हो या कुनै कुत्सित विचार, कुण्ठा र स्वार्थले ग्रस्त भएर भइरहेको हो ? यो प्रष्ट पारिनुपर्छ ।

नेकपामा अहिले जुन स्तरको विवाद छ । यो कुनै चामत्कारिक र अस्वभाविक विवाद कदापी होइन । यो ढिलोचाँडो कम्युनिष्ट पार्टी भित्र हुने नै परिघटना थियो । प्रयाप्त सैद्धान्तिक, राजनीतिक बहस नभइकन गरिएको चुनावी तालमेल र दुई नेताले जर्बजस्त लादेर गरिएको एकताको जग कति कमजोर थियो भन्ने अहिले छरपष्ट भएको छ । नेकपा कतिबेला र कहिले बिभाजित हुन्छ ? अनिश्चयको भुमरीमा छ । अर्को गम्भीर पाटो दुई पार्टी एक भए पनि तलदेखि माथि सम्म एकताको भावना, मर्म सहित पार्टी संरचना र गतिविधि चलिरहेका छैनन् । सरकारकै प्रतिपक्ष दल यतिबेला नेपाली काँग्रेस या अरु दल खोज्नुपर्दैन, नेकपाकै नेता कार्यकर्ता त्यो भुमिकामा देखिन्छन् । उसो त सरकार पनि पार्टीको नीति, सिद्धान्त बिधि अनुसार सञ्चालन भइरहेको प्रतित हुँदैन । अहिले सरकार र नेकपाकै शीर्ष तहका नेताका बीचमा जे जस्ता गतिविधि भइरहेको छ, यो कोरोना संकटको कठिन घडीमा नागरिकको सुरक्षालाई सुनिश्चित गर्न एकतावद्ध भएर लाग्ने बेलाको लोकलाजको दृश्य हो । अतः नेकपा अब पनि रमिता होइन, काम देखाउन लागोस् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *