डम्मर बुढा मगर, बागलुङ
‘गाउँमा के छ र ? गाउँमा के गरे र बस्ने ? गाउँमा न आयआर्जनको अवसर, न सुन्दर भविष्य छ ? न केही कमाई छ, न रोजगार नै ।’ यो धेरै युवायुवतीले भन्ने गरेको साझा गुनासो हो । धेरैको मनमा यही नै कुरा खेल्ने गर्छ । यसले गर्दा अहिले धेरैजसो युवायुवती विदेशमा भौतारिएका छन् भने केही विदेशिने बाध्यता र प्रतिक्षामा छन् ।
तर, जिल्लाको तमानखोला गाउँपालिका वडा नम्बर—३ का महिलाको एक समूहले गाउँमै ढाका उद्योग संचालनमा ल्याएका छन् । तमान गाउँको छेउमै एउटा घर छ । रङ्गरोगन गरेर चिटिक्क पारिएको त्यो घर बाहिरबाट हेर्दा निकै आकर्षक देखिन्छ ।
त्यस घर भित्र पस्दा वित्तिकै काठहरुबाट बनेका सिलाई बुनाइका साना, ठुला धागोका गुल्छाहरु विभिन्न प्रकारका कपडाहरु देख्न सकिन्छ । यहाँ पुग्दा साँच्चिकै कपडा उद्योगमा पुगेकै भान हुन्छ । घर भित्र लहरै सजाइएका ढाकाबाट बनेका कपडाहरुले धेरैलाई आकर्षित गर्छ ।
घरको कोठाहरु सबै कपडा र धागोहरुले भरिभराउ छन् । यो घर तमानखोला गाउँपालिका वडा नम्बर ३ तमान गाउँका महिला आमा समूहले निर्माण गरेका हुन् । कल्याण आमा समूहको भवनमा ती महिलाहरुले उद्योग संचालन गरेका छन् ।
उद्योग संचालनमा आए पछि उनीहरुको बिहान बेलुका घरको काम र दिउँसोभर उद्योगमा बित्ने गरेको छ । खाली घरको काम र बालबच्चाको स्याहार सुसारमा रहने स्थानीय महिलाहरुको दैनिकी समेत फेरिएको छ । उद्योगले उनीहरुको दैनिकीसँगै आयआर्जन हुन थाले पछि जीवनमा सहजता सहित मुहारमा चमक समेत ल्याएको छ ।
कति महिला त बच्चा समेत बोकेर उद्योगमा आउँछन् । उद्योगमा सबैले आलोपालो तान चलाउने र धागो मिलाउने काम गर्छन् ।
घरेलु तथा साना उद्योग कार्यालय बागलुङको सहयोगमा संगम म्याग्दीले तालिम दिएपछि स्थानीय महिलाहरुले उद्योग नै संचालन गरेका हुन् । तालिममा गाउँका २० जना महिला सहभागी भए पनि १४ जना महिला उद्योगमा आबद्ध रहेको कल्याण आमा समूहकी अध्यक्ष तनिमा घर्ति मगरले बताउनुभयो ।
समुहमा धेरैजसो भर्खरका महिलाहरु सक्रिय छन् भने केही बृद्ध महिलाहरु पनि आबद्ध भएर काम गरिरहेका छन् । उद्योगमा १४ जनाको समूह भए पनि उनीहरुले ११ वटा तान राखेका छन् । त्यस मध्ये केही महिलाले बुन्ने काम गर्छन् त केहीले सामान व्यवस्थापन र धागो मिलाउने गर्छन् ।
‘सीप भन्ने ठूलो चिज रैछ, सीप भयो भने जहाँ जता गए पनि काम गर्न सकिन्छ, भोकले मर्न पर्दैन,’ अध्यक्ष तनिमाले भन्नुभयो ‘सीप भएन भने भोकले मर्ने हो, हामीले सीप सिकेर धेरै फाइदा भएको छ, अहिले काम पनि राम्रो हुँदै गएको छ, यसको प्रतिफल पनि राम्रै पाउने छौँ भन्ने आशा छ ।’
उनीहरुले गत वर्ष असार महिनादेखि उद्योग सञ्चालनमा ल्याएका थिए । उद्योग सञ्चालनमा आएपछि धेरै ठाउँबाट माग आएपछि आफुहरुलाई निकै हौसला समेत मिलेको स्थानीय महिलाहरु बताउँछन् । उहाँले महिला दिदीबहिनीको लगानीमा तालिम लिएर उद्योग संचालन गरेको बताउनुभयो । घर्ति मगरले समूहका सबैले सुरुमा ६०/६० हजार लगानी गरेर उद्योग सञ्चालन गरेको भन्दै अहिलेसम्म कतैबाट सहयोग नमिलेको बताउनुभयो ।
आफूहरुले उत्पादन गरेका कपडाहरु धेरैजसो गाउँमै बिक्री भएको र बजारसम्म पु¥याउनका लागि बढि उत्पादन गर्न थालेको उहाँको भनाई छ । आमा समूहको भवनबाट उद्योग संचालन गरेको हुँदा हालसम्म घर भाडा भने तिर्न नपरेको घर्ति बताउनुहुन्छ ।
‘हामी सबै दिदीबहिनीहरुको लगानीमा उद्योग संचालन गरेका हौँ, अहिलेसम्म राम्रो भइराखेको छ,’ घर्ति मगरले भन्नुभयो ‘माग पनि ठिकठिकै छ र उत्पादन पनि ठिकै छ, अब बिस्तारै ठुला ठुला बजारहरुमा पठाउने गरि काम गरिराखेका छौँ, बजारका लागि केही समस्या हुन्छ कि भन्ने छ, बिस्तारै त्यसको पनि व्यवस्थापन हुन्छ कि भन्ने अपेक्षा राखेका छौँ ।’
आफुहरुको उद्योग ढाकाबाट सल, टोपी, गलबन्दी, इस्टकोट, झोला, खादा लगायतका कपडाहरु बनाउँदै आएको उद्योगमा आबद्ध जुनुमाया घर्ती मगरले बताउनुभयो । उहाँले संचालन भएको एक वर्षसम्ममा राम्रै चलिराखेको भन्दै उत्पादन गरेका सामग्रीहरुको बजार व्यवस्थापनमा केही समस्या भएको बताउनुभयो ।
‘हामीले उद्योग संचालन गरेको एक वर्ष भयो, केही समय कोरोनाको कारणले गर्दा अवरुद्ध भयो, अहिले फेरी सुरु गरेका छौँ,’ उहाँले भन्नुभयो ‘अझै पनि हामीले यसलाई व्यवस्थापन गरिरहेका छौँ, अरु थप कपडाहरु पनि बनाउँछौँ अझै केही थपिने छन् ।’
जुनुमाया घर्तिले अहिलेसम्म प्रशिक्षण र केही समान खर्च जुटाई सकेको र उत्पादनले राम्रो बजार पाएमा केही समयमै आफुहरु नाफामा जाने बताउनुभयो । उहाँले हालसम्म उत्पादन भएका कपडाहरु गाउँ वरपर मात्रै विक्री भएको बताउनुभयो ।
‘अहिले कम उत्पादन भएको हुँदा गाउँमै मात्रै बिक्री भएको छ, बिस्तारै उत्पादन पनि बढिरहेको छ, पछि–पछिको लागि त बजार नै चाहिन्छ,’ उहाँले भन्नुभयो ‘बजार व्यवस्थापन राम्रो हुन सकेन भने त हामीले गरेको श्रम र खर्चेको समय खेर जान्छ, लगानी समेत डुब्न सक्छ ।’
कपडा निर्माण गर्न चाहिने धागो तथा अन्य सामानहरु बुर्तिबाङ, पोखरा तथा काठमाण्डौबाट ल्याउने गरेको उनीहरुको भनाई छ । सरकारले बजार व्यवस्थापनका लागि सहयोग गरे आफूहरुलाई थप सहज हुने उद्योगमा समर्पित महिलाहरु बताउँछन् ।
‘अरु त हामीलाई अहिले खासै समस्या छैन, अब बजारको समस्या हुने देखिन्छ, उत्पादन बढिराखेको छ, बजार राम्रो भयो भने उद्योग फस्ट्याउने थियो’ उनीहरु भन्छन् ‘सरकारले कहिलेकाँही केही अनुदान दियो र बजारको चाजोपाँजो मिलाई दिन सहयोग गरे धेरै समस्या पर्ने थिएन ।’
उनीहरुलाई एउटा सल बुन्नको लागि २ देखि ३ दिनसम्म लाग्ने गर्छ । अरु कपडाहरु बुन्नका लागि १ दिनदेखि हप्ता दिनसम्म लाग्ने उद्यमीहरुको भनाई छ । उनीहरुले उत्पादन गरेको एउटा गलबन्दीको मूल्य एक हजारदेखि १५ समय सम्म पर्ने गर्छ भने एउटा सलको १२ सय देखि २ हजार पाँच सयसम्म पर्ने गर्छ ।
तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले पछिल्लो समय लोप हुँदै गएको तान बुनाई गाउँमा स्थापित उद्योगले ब्युँताएको बताउनुभयो । उहाँले उद्योग सञ्चालन भइरहेको भवन निर्माण गर्दा केही रकम गाउँपालिकाबाट सहयोग भएको भए पनि अरु सहयोग नभएको बताउनुभयो ।
‘पहिले–पहिले गाउँ–गाउँमा टोल–टोलमै पनि यस्ता खाल तान बुनाई हुने गर्थे, पुराना पुस्ताबाट नयाँ पुस्ताले नसिक्दा यसलाई जोगाउन सकिदैन कि भन्ने लागेको थियो,तर यहाँका महिलाहरुले धेरै राम्रो कामको सुरुवात गर्नु भएको छ’ अध्यक्ष बुढा मगरले भन्नुभयो ‘स्थानीय महिलाहरुलाई पर्ने समस्याको समाधान सहजीकरण हामी गर्छौँ, बजार व्यवस्थापनमा पनि हाम्रो पहल, सहयोग र समन्वय रहनेछ, निर्धक्क भएर उत्पादन गर्नुस् भनेर भनेका छौ ।’
अध्यक्ष बुढा मगरले पालिकाले यस्ता खालका सीपमुलक कार्यक्रम रहेका वर्ष गरिरहेको र सीपमुलक कार्यमा लाग्नेहरुलाई समेत प्रोत्साहन गर्दै आएको बताउनुभयो ।