जसले बोके १ सय ८० संक्रमित

आर्दश अनलाइन, बागलुङ
कोरोना कहरमा सुरुको समय अत्यन्तै कठिन थियो । कोरोना संक्रमित मात्रै होइन, कोरोनाको आशंका गरिएकालाई समेत अस्पताल ल्याउन एम्बुलेन्स चालकले नमानेको अवस्था थियो ।

नेपालकै छैठाैँ संक्रमितको रुपमा रहनुभएका बागलुङ नगरपालिका–३ का ६५ वर्षीया महिलालाई लिन गत चैत्र दोस्रो हप्ता अस्पतालबाट हिँड्न थालेको रेडक्रसको एम्बुलेन्स चालकनै फरार भए पछि स्वास्थ्य कार्यालयका सवारी चालकले संक्रमितलाई अस्पताल ल्याएका थिए ।

यस्तो घटना पुनः काठेखोला गाउँपालिका–५ मा आरडिटी पोजेटिभ देखिएका एक महिलालाई बोक्न रेडक्रस बिहुँ शाखाका एम्बुलेन्स चालक मानेनन् । सुरुमा केही असहज परिस्थितिमा एम्बुलेन्स चालक संक्रमित बोक्न नमानेपछि नेपाल रेडक्रस सोसाइटी बिहुँ शाखा र पैयुपाटा स्वास्थ्य चौकीको एम्बुलेञ्सले कोरोना संक्रमित बोक्न थालियो ।

तर, चालकको अभावै खड्किए पछि बागलुङ नगरपालिकाका हलुका सवारी चालक कमल कार्कीलाई मानवीय भावना पैदा हुन थाल्यो । र स्वतःस्फूर्त रुपमा कोरोना संक्रमितलाई बोक्न थाल्नुभयो ।

गत चैत महिनाको पहिलो सातासम्म बागलुङ नगरपालिकाका नगर प्रमुखको सवारी चलाउँदै आउनुभएका काठेखोला गाउँपालिका–७ रेशका ४० वर्षिय कमल कार्कीले नगरपालिकाकै अर्का सवारी चालकलाई नगर प्रमुखको सवारी चलाउन दिएर आफुले संक्रमितलाई एम्बुलेन्समा बोक्दै आउनुभयो भने अन्य समयमा नगरपालिकाको अर्को सवारीमा स्वाब संकलनमा जाने स्वास्थ्यकर्मी बोक्दै आउनुभएको थियो ।

१७ वर्षदेखि नगरपालिकामा काम गर्दै आउनुभएका कमल कार्कीले १४ वर्ष देखि नगरपालिकाको सुरुमा कार्यकारी अधिकृतको सवारी र पछिल्लो नगर प्रमुखको सवारी चलाउँदै आए पनि गत चैत्र देखि उहाँले एम्बुलेन्स र नगर स्वास्थ्यकर्मीको सवारी चलाउँदै आउनुभएको छ । अहिले सम्म १ सय ८० जना संक्रमित र दुई संक्रमितको शव एम्बुलेन्समा बोकी सकेको चालक कार्कीले बताउनुभयो ।

‘सुरुमा एम्बुलेन्स चालक संक्रमित बोक्न नमानेको कुरा मैले सुनेको थिए, संक्रमितले चालक नपाएर दुःख पाएको थाहा भएपछि मेयर सापको सवारी चलाउदै आएको म एकाएक एम्बुलेन्स चलाउन थाले’ सवारी चालक कार्कीले भन्नुभयो ‘आखिर चालकले सवारीनै चलाउने हो, संकटमा मानवीय सेवा गर्नुपर्छ भन्ने कुरा मनमा आए पछि संक्रमित बोक्न थालेको हुँ ।’

नगरपालिकाको चालक रहेका कार्कीले नगरपालिकाको स्वास्थ्य शाखाको सवारी समेत चलाउदै आउनुभएको छ । उहाँले नगरपालिकामा कन्ट्याक्ट ट्रेसिङ मार्फत स्वाब संकलन गर्न जाने स्वास्थ्यकर्मी र क्वारेन्टिनमा खाना पु¥याउनका लागि समेत नगरपालिकाको सवारी चलाउदै आउनुभएको छ ।

‘संक्रमित बोक्ने बाहेक मैले कोरोना नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मीलाई गाउँमा पु¥याउने काम गर्दै आएको छु’ कार्कीले भन्नुभयो ‘आँफु सुरक्षित भएर संक्रमित बोक्दा संक्रमण सर्ने जोखिम हुँदैन ।’ पीपीइको प्रयोग गरेर संक्रमित बोक्दा संक्रमण नसर्ने भएकाले अन्य चालकलाई समेत नडराउन उहाँले सुझाव दिनुहुन्छ ।

उहाँले नगरपालिकाको चालकले पाउने तलब भत्ता बाहेक फ्रन्टलाइनमा खटिने जोखिम भत्ता र संक्रमित बोकेको भत्ता समेत पाउदै आउनुभएको छ । एक पटक संक्रमित बोकेमा बागलुङ नगरपालिकाले दुई हजार पाँच सय रुपैयाँ दिदै आएको कार्कीले बताउनुभयो ।

अन्य समय भन्दा पीपीई लगाएर सवारी चलाउदा निकै समस्या हुने कार्कीको अनुभव छ । उहाँले
बलेवाको अमलाचौर, भकुण्डे, पैयुपाटा, विहुँ सम्म पुगेर संक्रमितलाई एम्बुलेन्स मार्फत धौलागिरी अस्पताल ल्याउदै आउनुभएको छ । निकै जोखिमपूर्ण काम रहेको भन्दै एम्बुलेन्स चालकले हात धोएको समयमा आफुले जागिर भन्दा पनि संकटमा मानवीय सेवा र दायित्व सम्झेर सहयोग मात्रै गरेको कार्कीको भनाई छ ।

‘धेरैबेर पीपीई लगाएर सवारी चलाउन निकै समस्या हुन्छ, दिशा पिसाव समेत रोकेर राख्नु पर्ने हुन्छ’ उहाँले भन्नुभयो ‘जागिर मात्रै खाने भए त मलाई कुनै दुःख गर्नु पर्ने थिएन, सरर एसी गाडीमा मेयर सापलाई बोक्दा सहजै हुन्थ्यो तर संकटको घडीमा केही सेवा गरौं भन्ने लागेर एम्बुलेन्स चालक भए ।’

एउटै एम्बुलेन्समा ८ जना सम्म कोरोना संक्रमित एकै पटक बोकेको अनुभव समेत कार्कीसँग छ । बागलुङ जिल्लाको अन्य स्थानीय तहमा भन्दा बागलुङ नगरपालिकामा धेरै संक्रमित भएका कारण आफुले जिल्लामै सबै भन्दा बढी संक्रमित बोकेको उहाँको भनाई छ ।

सुरुमा गाउँबाट समेत संक्रमितलाई जिल्ला सदरमुकाम स्थित धौलागिरी अस्पतालमा उपचारका लागि ल्याउन पर्ने भएकाले आफुले धेरै संक्रमित बोक्ने अवसर पाएको उहाँको भनाई छ । तर, अहिले सम्म सुरक्षित भएर एम्बुलेन्स चलाएका कारण आफुलाई कोरोना संक्रमण नभएको उहाँको भनाई छ ।

परिवारसँग छुट्टै बस्नुको पीडा पनि
संक्रमित बोक्न थालेपछि कार्की अधिकांश समय परिवारबाट अलग्गै बस्दै आउनुभएको छ । संक्रमित बोकेको अवस्था र संक्रमणको जोखिम लागेमा नगरपालिकाको स्वास्थ्य शाखामै बस्दै आउनुभएका कार्की पीसीआर रिपोर्टका आधारमा मात्रै परिवार सँग बस्दै आउनुभएको छ ।

‘चैतदेखि यता धेरै समय परिवार सँगै छुट्टै बस्दै आएको छु’ कार्कीले भन्नुभयो ‘आफुलाई लागिहाले पनि परिवारलाई नसरोस् भन्नका लागि अधिकांश समय छुट्टै बस्दै आएको छु ।’

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *