मध्पहाडी लोकमार्गमा ध्यान जाओस्

सम्पादकीय
राष्ट्रिय गौरवको आयोजना मध्येको एक हो पुष्पलाल मध्यपहाडी लोकमार्ग । यस मार्गले बागलुङ जिल्लाको पश्चिम क्षेत्रमा ठुलो विकासको उभार नै ल्याइदियो । चाहे त्यो गलकोट होस् या बडिगाड होस् या बुर्तिबाङ बजार होस् या निसीखोला । मध्यपहाडी लोकमार्ग निर्माण भए सँगै दुर्गम भनिएका गाउँ ठाउँहरु एकाएक दुर्गमता तोड्दै नयाँ सम्भावना र अवसरको गाउँ शहर बने । जसले पहिले स्थापित भएका शहर, बजार र केन्द्र भन्दा अझ बढी सम्भावना र अवसर बोकिरहेका छन् । यसकारण मध्यपहाडी जिल्लाको पश्चिम क्षेत्रका नागरिकका लागि लाइफ लाइन बनेर आइदिएको छ । यद्यपी, यो लोकमार्ग निर्माणको काम अझै बाँकी छ । मध्यपहाडी लोकमार्गको कुल १ हजार ७ सय ७६ किलोमिटर मध्ये बागलुङ खण्डमा मात्रै १ सय ४२ किलोमिटर दुरी पर्छ । जसमा जिल्लाको अधिकांश ग्रामिण क्षेत्रको सडक खण्डमा कालोपत्रे भइसकेको छ । अहिले सरर सवारी गुड्छन्, तर मध्यपहाडी लोकमार्ग आयोजनाको बागलुङ बजार खण्डको २५ किमी सडक वर्षौदेखि अलपत्र बनिरहेको छ ।

मध्यपहाडी लोकमार्गको अहिले अलपत्र परिरहेको बागलुङ बजारदेखि घोडाबाँधे सम्मको सडक मार्फत दैनिक हजारौ सवारी साधन र यात्रुहरु आवत जावत गर्छन् । लोकमार्ग समयमै स्तरोन्नति सहित कालोपत्रे नहुँदाको सकस र सास्तीको सीमा छैन । दुर भनिएका गाउँघर भएर गएको लोकमार्गमा सहज रुपमा सरर् आरामदायी यात्रा गर्ने सुविधा छ । तर, जिल्ला सदरमुकाम सँगै जोडिएको खण्डको दुर्दशाले सिंगो देश, सरकार र जनप्रतिनिधिलाई गिज्याइरहेको छ । यस खण्डमा बर्खायाममा हिलाम्मे र हिउँद याममा धुलाम्मे भएर यात्रा गर्नुपर्ने बिवशता कहिले सम्म ? त्यो अनिश्चियको भुमरीमा छ । बागलुङ बजार–अक्षेते खण्डको १३ किमी सडक निर्माणको जिम्मा लिएको सिद्धिसाई कन्स्ट्रक्सन र अक्षेते–घोडाबाँधे सम्मको १२ किमी सडकको जिम्मा लिएको सुर्य कन्स्ट्रक्सनको काम धेरै वर्ष पहिलेदेखि सन्तोषजनक छैन । दुवै निर्माण कम्पनीले पटक–पटक आयोजना कार्यालय र भौतिक योजना मन्त्रालयमा सिधा पहुँच राख्दै म्याद थप गर्दै कामै नगरी समय गुजार्दै आएका छन् । जिल्ला सदरमुकाम नजिकै लोकमार्गको काम अलपत्र भए पछि लोकमार्ग आयोजना कार्यालय, सरकार, सांसद र स्थानीय जनप्रतिनिधि प्रति नागरिकको गुनासो र आक्रोश तिव्र छ । दैनिक हजारौ नागरिक यात्रा गर्ने सडक वर्षौदेखि बेहाल हुँदा सरकारदेखि सांसद सम्म जनताले सत्तोसराप गरिरहने क्रम जारी छ ।

मध्यपहाडी लोकमार्ग आयोजना गौरवको आयोजना हुनुको अर्थ या महत्व बागलुङ जिल्लावासीले अनुभूति गर्ने अवसर पाउन सकेका छैनन् । अरु योजना, आयोजनाहरु जे जसरी वर्षौदेखी अलपत्र पर्छन्, या कमसल गुणस्तरको हुन्छ या जे जस्ता पात्र र प्रवृत्तिका कारण बेवास्ता, चरम लापरवाही हुन्छ ? अहिले त्यही नियती मध्यपहाडी लोकमार्ग आयोजनाले भोगिरहेको छ । यस्तो अवस्था हुँदा पनि गौरवको आयोजना कार्यालय र सरकार मुकदर्शक जस्तो देखिरहेको छ । जिल्लाका सांसददेखि जनप्रतिनिधि र स्थानीय प्रशासकहरु लाचार जस्ता देखिन्छन् । उनीहरु भन्दा ठेकेदार कति हो कति शक्तिशाली जस्तो आभाष हुन्छ । हुन त यो देशमा नेता, सांसदहरुलाई ठेकेदारहरुले नै घुमाइरहेको कैयन परिदृश्य र समाचार आउँछन् । यो नौलो नभए पनि आयोजनाको वर्र्षौदेखि अलपत्र बागलुङ खण्डको कामलाई गति दिने बिषयमा अब पनि सरकार र यसका निकाय मुकदर्शक नबनोस् । यहाँका नागरिकले धेरै धैर्यता कायम गरिसकेका छन् । त्यो धैर्यताको बाँध टुट्ने अवस्था नआओस् । तत्काल निर्माण कम्पनीलाई जवाफदेहि बनाएर काम सम्पन्न गर्ने अवस्था निर्माणमा सबैको भुमिका प्रभावकारी होस् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *