पाक्ने बेलाका सुन्तलामा औंसे किराको प्रकोप

आदर्श अनलाइन, बागलुङ

जिल्लाका सुन्तला कृषक अहिले चिन्तित भएका छन् ।

सुन्तला पाक्ने समयमा सुन्तला धमाधम बोटबाट झर्न थाले पछि सुन्तला किसानहरु यतिवेला निराश बन्न थालेका छन् ।

सुन्तलाबाटै वार्षिक ६ लाख रुपैयाँ आम्दानी गर्दै आउनुभएका बागलुङ नगरपालिका–८ सिगानाका अनन्तबहादुर खड्का अहिले सुन्तला झरे पछि चिन्तित मुद्रामा हुनुहुन्छ । ८ रोपनी क्षेत्रफलमा सुन्तला खेती गर्दै आउनुभएका खड्काले अहिले बोटबाट आधा सुन्तला आंैसे किराको प्रकोपले झर्न थालिसकेको बताउनुभयो । “पाक्ने बेलाका सुन्तला भकाभक झर्न थालेको छ” खड्काले भन्नुभयो “बिक्री गर्नका लागि बजारको बन्दोबस्त मिलाउँदै गरेको अवस्थामा सुन्तला झरे पछि यो वर्ष आम्दानी थोरै हुने देखेको छु ।”

यसपटक सुन्तलाको आम्दानी गर्ने बेलाका सुन्तला झर्न थालेपछि बागलुङ जिल्लामै राम्रो सुन्तला पाइने सिगानाका सुन्तला किसान टोपबहादुर खड्का, रामबहादुर खड्का लगायतका किसान मर्कामा परेका हुन् । बगानमा पाक्ने बेलाका सुन्तला भुइभरी झरे पछि किसान मर्कामा परेका छन् । “बोटमा भन्दा भुईमा धेरै सुन्तला हुन थाल्यो” सुन्तला कृषक रामबहादुर खड्काले भन्नुभयो “मुख्य आम्दानीको रुपमा रहेको सुन्तला झरे पनि नगरपालिका, सुन्तला जोन र कृषि ज्ञान केन्द्रले ध्यान नदिदाँ समस्या भयो ।” सुन्तला धेरै उत्पादन हुने काठेखोला गाउँपालिकाको बिहुँ, बागलुङ नगरपालिकाको भकुण्डे, तित्याङ लगायतको स्थानमा समेत सुन्तला पहेलो भएर झर्ने समस्या देखिएको काठेखोला गाउँपालिका–६ बिहुँका वडा अध्यक्ष युक्तप्रसाद कंडेलले जानकारी दिनुभयो ।

आधिकारिक रुपमा किसानको गुनासो नआएको प्रधानमन्त्री आधुनिकरण परियोजना सुन्तला इकाई म्याग्दीका प्रमुख सुधिर थापाले जानकारी दिनुभयो । “अहिले कर्मचारी अभाव छ, काम गर्न सकिएको छैन, त्यसैले गुनासो नआएको होला” थापाले भन्नुभयो, “गत वर्ष केही किसानको समस्या तत्कालै समाधान गरेका हौं, अहिले त्यस्तो गुनासो आएमा औषधी प्रदान गर्नेछौं ।” थापाका अनुसार, किसानले पनि समयमै औषधी तथा स्याहार सुसार गर्नुपर्ने र आंैसे किरा लागेमा सही व्यवस्थापन गर्नुपर्दछ ।

बागलुङ जिल्लाको बिहुँ, सिगाना, भकुण्डे, दमेक लगायतका सुन्तलाका पकेट क्षेत्रमै सुन्तला पहेँले भएर किरा परेर झर्न थालेको छ । यस क्षेत्रमा सुन्तला सँगै जुनार, मौसम, भोगटे, निबुवा, बिमिरो, कागती, ज्यामिर लगायतका फलफुलमा यो रोगको संक्रमण फैलिएको छ । पाक्ने समय नहुँदै पहेलो हुने र झर्ने समस्याले सुन्तला खेतीमा गम्भीर समस्या आएको बागलुङ नगरपालिका–८ सिगानाका वडा अध्यक्ष राजन जिसीले जानकारी दिनुभयो । उहाँले रोग पहिचान र रोकथाममा तत्कालै सम्बन्धित निकायले कदम नचाल्ने हो भने सुन्तला किसानले ठूलो क्षति बेहोर्नु पर्ने बताउनुभयो ।

सबै भन्दा बढी सुन्तला झर्ने अवस्था बागलुङको सिगानामा बढी आएको किसान बताउँछन् । अहिले पहेलो भएर झरेको सुन्तला औंसे किराकै प्रकोपका कारण भएको कृषि ज्ञान केन्द्र पर्वतका सूचना अधिकारी विश्वास काफ्लेले जानकारी दिनुभयो । अहिले झरेको सुन्तलाको फल सही व्यवस्थापन गर्न नसके अर्को वर्ष झनै समस्या हुने भएकाले किसानलाई झरेको सुन्तलाको सही रुपमा व्यवस्थापन गर्न आवश्यक रहेको काफ्लेको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *