स्यालुट सपना !

सम्पादकीय
नेपाली समाज पुरुषवान्दी चिन्तनले आजको दिनमा पनि ग्रस्त छ । यो समाजमा महिलाहरु अघि बढ्न अनेकौं परम्परा, संस्कार, संस्कृति, रीतिथितिका जंघार तर्न सक्नुपर्छ । त्यसैले आजको २१ औं शताव्दीमा पनि हजारौ महिला घर भित्रै सिमित छन् । यसको अर्थ यो होइन कि अब महिलाहरुले घरको काम गर्नुहुँदैन । घरको काम पनि गर्नुपर्छ र गरुन् तर आफ्नो रुची, क्षमता, योग्यता र आवश्यकताले बाहिरी संसारमा पनि आउन रमाउन चाहनेहरुका लागि पनि समाज खुल्ला हुनुपर्छ । यो पाटोमा धेरै समस्या देखिन्छ । हाम्रा सोचहरु अझै पनि संकिर्ण छन् । एकै कोखबाट जन्मिएका सन्तानमा पनि छोरा खुलमखुल्ला हिँड्न स्वतन्त्र हुन्छ भने छोरीका लागि अनेक शर्त र सिमा रेखाहरु कोरिन्छन् । जसले गर्दा लैंगिक समानको अभियान र आन्दोलन अपेक्षाकृत रुपमा उपलब्धिमा रुपान्तरित हुन सकिरहेका छैनन् ।

समाजमा बिभेदका अनेक रुप छन् । चाहे त्यो वर्गिय होस् या जातिय होस् या लैंगिक यो भौगोलिक । पिँधमा पारिएका जाति, समुदाय, वर्ग लिंग समस्यामा छन् । यद्यपी, समाजमा कायम अनेकौं विभेदका पर्खाल तोड्ने साहसी व्यक्ति पनि नभएका होइनन् । लैंगिक विभेदले धेरै महिलाहरुले उदाहरणीय काम र अवसर नपाएको गुनासो र आक्रोश सुनिरहेकै बेला म्याग्दीकी एक चेलीले पशुपति आर्यघाटमा बेवारिसे शव व्यवस्थापन गरेर आफुलाई पृथक रुपमा स्थापित गरिन् । उनलाई यो काम गर्न लैंगिक रुपमा पनि बाधा थियो, सँस्कारजन्य हिसावले पनि छोरीले यो काम गर्नुहुँदैन भन्ने मान्यता व्याप्त थियो । भौगोलिक रुपमा पनि म्याग्दी जस्तो जिल्लाबाट राजधानी छिरेर यो काम गर्नु अनौठो मात्र थिएन अभूतपूर्व कदम थियो । यसकारण नै बेवारिसे शव व्यवस्थापन गर्दै आएकी म्याग्दीकी १८ वर्षीया सपना रोका मगर ब्रिटिश ब्रोडकास्टिङ कर्पोरेसन (बीबीसी)को प्रभावशाली महिलाको सूचिमा परेकी छन् । बीबीसीले मंगलबार सन् २०२० को १०० प्रभावशाली महिलाको सूचि सार्वजनिक गरेको हो । यो सूचिमा फिनल्याण्डकी प्रधानमन्त्री, अक्सफोर्ड विश्वविश्वद्यालयले बनाइरहेको नोवेल कोरोना भाइरस (कोभिड–१९) विरुद्धको भ्याक्सिनको नेतृत्व गरेकी सारा गिल्बर्ट लगायत छन् । सपनाले तीन दर्जन भन्दा बढी बेवारिसे शव जलाइसकेकी छन् । सपनाले विनयजंग बस्नेत अध्यक्ष रहेको बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्रमार्फत लकडाउनका बेला निःशुल्क खाना खुवाउँदै आएकी छन् ।

सपना सुखी नेपाली, समृद्ध नेपालको सपना हुन् । सपना जस्ता हजारौ सपनाहरु जन्मन हुर्कन र यस्तै सत्प्रयास सत्कर्ममा लाग्ने हो भने समाजमा समानता स्वरहरु बलियो बन्छ । लैंगिक बिभेदका घटना र प्रवृत्तिहरु निरुत्साहित हुँदै जान्छन् । सपना इच्छा शक्ति हुनेहरुका लागि हर कर्म कति साहसले, कति दुस्साहसले गर्न सकिन्छ भन्ने उदाहरण हुन् । १८ वर्षका उमेरमा उनले जुन सोच, साहस र प्रत्यनले सिंगो देशलाई मात्र होइन, विश्व समुदायलाई चकित बनाउने गरी सामाजिक परोपकारी कर्म गरे । त्यसले १२ कक्षा पढ्यो १६÷१७ उमेर लागेका छोराछोरीलाई जापान, अष्टे«ेलिया, कोरिया, अमेरिका लगायतका देशमा पठाउन होडबाजी गर्नेहरुलाई पनि सोचनीय बनाइदिएको छ । म्याग्दीकी सपना आजको सपना बन्न सामान्य प्रयासले त सम्भव भएको निश्चय होइन । तर, सपना बन्न खोज्नु या सामाजिक र परोपकारी जीवन बाँच्नुपर्छ भन्ने सोच र सन्देशका लागि सपनाको कदम नेपाली समाजका लागि प्रेरणादायक र अनुकरणीय छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *