अबको विकल्प ‘स्वयम् सचेतता’

सम्पादकीय
कोरोना भाइरस (कोभिड १९) संक्रमणको जोखिम कायमै छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भयावह सुरु भएको ९ महिना पुरा हुन लाग्यो । तर, यसको रोकथाम प्रयास अपेक्षाकृत रुपमा सफल हुन सकेन । नियन्त्रण त धेरै टाढाको कुरा भो । चाहे नेपाल सरकारले देशव्यापी रुपमा गरेको लकडाउन होस् या जिल्ला तहमा स्थानीय प्रशासन र पालिकाहरुले गरेको निषेधाज्ञा होस् । यो विकल्प पनि बिफल प्रायः भइसकेको छ । नागरिक अब यस्ता विकल्पले काम नगर्ने निष्कर्षमा पुगिसकेका छन् । व्यवहारतः त्यो देखिएको पनि छ ।

देशमा आजसम्म १७ लाख नागरिकको पीसीआर परीक्षण गरिएकोमा २ लाख २७ हजार त संक्रमणको शिकार बनिसकेका छन् । १४ सय १२ जनाले कोरोना भाइरसकै कारण मृत्यु बेहोर्न बाध्य भएका छन् । बागलुङमा मात्रै ८ सय २१ जना संक्रमित भएका छन् । ८ जनाले कोरोनाकै कारण अकालमै मृत्युको कोखमा पुग्न बिवश बनेका छन् । यद्यपी ७ सय ३४ जनाले कोरोना जितेर घर फर्किएका छन् । यो कुल संक्रमित संख्याको ८९ प्रतिशत हो । यसले के देखाउँछ भने यो भाइरसबाट भयभित हुन आवश्यक छैन । यो रोग लागे पनि उच्च मनोबल सहित उचित खानपानबाट जित्न सकिन्छ । अरु दीर्घ रोगहरु भएको हकमा अहिले बढी चूनौती देखिएको छ । मृतक संख्या अहिले जुन देखिन्छ, त्यसमा पनि करिब ९९ प्रतिशत यस्तै पूर्ववत समस्या भएको देखिन्छ । यो पाटोमा भने हामी अझ बढी सचेत र संवेदनशिल बन्नुपर्ने देखिन्छ ।

देशका हर क्षेत्र कोरोनाबाट थलिएका छन् । नागरिकहरु आजित भएका छन् । आखिर कोरोनाबाट कहिले सम्म भाग्ने ? कहाँ भाग्ने ? विश्वका हर समुदायमा कोरोना भयावहले विश्व अर्थतन्त्र प्रभावित छ । मानिसहरुको दैनिकी, भविष्य अनिश्चित र अन्यौलता तर्फ उन्मुख छ । अब के हुने हो ? यसको प्रश्न सँग स्वयम् चिकित्सकहरु सँग पनि अनुत्तरित छन् । यद्यपी, कोरोना भाइरस बिरुद्धको भ्याक्सिन खोप बनिरहेको खबर आइरहेको छ । बेला बेला खोपकै बारेमा पनि अनेक प्रश्न, अविश्वास र संशय पैदा भइरहेको परिप्रेक्ष्य एकातिर छ भने अर्को तर्फ खोप आउने अवस्थामा पनि कहिले आउँछ र कति संख्यामा आउँछ भन्ने बिषय पनि गम्भीर छ । यसकारण अब कोरोनाबाट डराएर या भागेर फाइदा छैन । अब यो सँग हर समय सचेत र सुरक्षित भएर सामना गर्नुमै हर नागरिकको हितमा छ । कोरोनाबाट बल्लतल्ल जोगिने अवस्थामा पनि जिविकाले मानिसहरु थला पारिरहेको छ । लाखौ, करोडौं लगानी गरिएका क्षेत्र ठप्प प्रायः हुँदा त्यसकै तनावले उद्योगी व्यवसायी ग्रस्त छन् । मजदुरहरु जागिरबाट हात धुनुपर्ने बाध्यतामा छन् । यस्तो संकटमा हामी सबै सचेत, स्वास्थ्य सुरक्षाका हिसावले सुरक्षित र संवेदनशील बनौ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *