शिवशरण ज्ञवाली
विगत एक वर्षदेखि ‘म ताक्छु मुढो बन्जरो ताक्छ घुँडो’ भइरहेछ । महामारी होस् या नहोस्, छुट्टी होस् या नहोस् मेरो यात्रा दिल्लीतिर चलिरहेकै छ । रोग लागेपछि दुख मनाऊ गर्नुको कुनै अर्थ छैन । सचेत हुँदाहुँदै, स्थापित अस्पतालमा पुग्दापुग्दै पनि समयमा व्यथा पत्ता लगाउन नसक्नु मेरो र मेरो पारिवारिक क्षमताभित्रको कुरा थिएन । अर्कैको भरको कुरा थियो । आजभोलि त निर्मततापूर्वक सही निर्णय क्षणक्षणमा लिने ल्याकत देखाउन परिरहेछ । अरु सब कुरा गौण रोग प्रमुख बनेर आउँदो रहेछ । हामी दुवैजना सरकारी जागिर खाँदा नाम निस्कियो कि निस्किएनमा मुटुको घड्कन बढाएर उमेर घटाएका मान्छे थियौँ । आजकाल हामी उसको स्वास्थ्य रिपोर्ट राम्रो आयो कि आएनमा त्यसैगरी मुटुको घड्कन बढाउँछौँ । कामना त गर्छौ अरुलाई यस्तो नपरोस् तर मनमनले भन्छु तपाईं हामी कैयौँ शरीरमा क्यान्सर लिएर हिडिरहेका छौँ र कुन दिन ढल्छौँ थाहा पाउने छैनौँ । त्यसकारण तपाईं आफै तपाईंको डाक्टर बन्नुहोस् भन्ने सन्देश दिन्छौँ ।
पोहर दिल्ली पुग्दाको दिन मैले देखेका नेता भनेको त्यहाँका अरबिन्द केजरीवाल थिए । बाटामा ब्यानरहरु र बोर्डहरुमा उनले स्वास्थ्य सम्बन्धी सन्देश दिएका थिए । घाइतेलाई अस्पताल पु¥याइदेऊ, उपचार सरकारले गर्छ भन्ने महत्वपूर्ण सन्देशमा केजरीवाल साक्षात् भइरहेका थिए । दुर्घटनाका घाइतेलाई नउठाउने अमानवीयताका विरुद्ध उनी बोलिरहेका थिए । दिल्लीमा उसको उपचार चलिरहँदा ज्वाई, दाईहरु, मामामाइजु, आमाबुबा, ट्याक्सी चालकहरु सबैसँग हामी दिल्लीको राजनीतिका बारेमा पनि कहिलेकाही छलफल गथ्र्यौ किनकी त्यहाँ चुनाव नजिकिएको थियो । बुझ्दै जाँदा थाहा पाएका थियौँ, दिल्लीमा निश्चित मात्रामा पानी र बिजुली निशुल्क छ । चुनाव प्रचार दिनप्रतिदिन बढ्दो थियो । केजरीवालले शिक्षालाई चुनाव प्रचारको मुख्य मुद्दा बनाएका थिए । शायद दक्षिण एसियामै पहिलो नेता उनी होलान् जसले शिक्षालाई राजनीतिको मुद्दा बनाए । हालै अमेरिकी पहिलो महिला भारत आउँदो पनि उनले तिनलाई सरकारी विद्यालयमा पु¥याएको समाचार पनि सुनियो । यस्तै स्वास्थ्य, वातावरण, शिक्षा आदिआदि ससाना कुराहरु उनका मुद्दा बनेको प्रष्टै थाहा हुन्थ्यो । हामी बस्दाबस्दै दिल्लीमा महिलाहरुका लागि निशुल्क बस सेवाको व्यवस्था भएको कुरा पनि थाहा पायौँ । त्यतिमात्रै होइन, हर सरकारी गाडीमा महिलाको सुरक्षाका लागि प्रहरीको समेत व्यवस्था गरिएको रहेछ । कसैकसैले बढी प्रचार मात्रै हो भने पनि केजरीवालले वास्तविक परिवर्तन गरेको भन्नेमा धेरै मानिसहरु सहमत थिए । हामी आइटियोबाट रोहिणी ओलामार्फत बुकिङ् गरेको ट्याक्सीमा आउँदै थियौँ । ट्याक्सीवालालाई सोध्यौँ, चुनाव कसले जित्छ ? उनले केजरीवालले जित्ने र अघिल्लो पटकको तुलनामा केही सिट घटेपनि सरकार आपको एकलौटी बन्ने बताएका थिए । नभन्दै त्यस्तै भयो । दाईहरु पनि केजरीवाललाई भोट हाल्ने कुरा गर्नुहुन्थ्यो । हाम्रोजस्तो गरिबी राष्ट्रवाद त्यहाँ हुँदोरहेनछ । नेपालीहरुले पनि भोट हाल्न पाउँदा रहेछन् ।
हाम्रोमा नेताहरु कोट दौरा सुरुवालमा दैनिक सफाचट नदेखिइ हुँदैन । कार्यक्रममा गए भने उनीहरुका लागि सधै तिहार हुन्छ । गलाभरी नअटाउने गरेर माला लगाइएको हुन्छ । यो ठूलो कुरा त होइन तर प्रवृतिलाई यसले सजिलै चित्रण गर्दछ । जतिसुकै जनताका कुरा गरे पनि सामन्ती संस्कृति नै उनीहरुको हुँदोरहेछ । तर तपाई केजरीवाललाई कही पनि कोटमा देख्नुहुन्न । हल्का नीलो रङ्को सर्ट, हल्का कालो रङ्को स्वेटरमा देख्नुहुन्छ । यसपालि पवन दाईले केजरीवालले मफलर लगाए भने दिल्लीमा जाडो सुरु भएछ भन्ने बुझिन्छ भन्नुभयो । पोहरका प्रचारमा पनि उनले कही पनि भड्किला पोशाक लगाएको पाइएन । मैले सधैँ उनले आम मानिसले लगाउने पोशाक नै लगाएको पाएँ । माला त टाढाको कुरा देखियो । आमजनताले लगाउने पोशाक र नेताले लगाउने पोसाकमा नेपालमा सधै अन्तर हुन्छ । तर केजरीवाल आम जनताकै पोशाकमा प्रचारमा देखिए । तब न उनी भाजपाको दबदबा र केन्द्रीय सरकार भएको भारतको राजधानी दिल्लीमा पटकपटक एकलौटी वर्चस्व कायम गर्न सफल भए । बिडम्बना वैकल्पिक शक्ति भनेर लागेका नेपालका साना राजनीतिक दलहरु पनि अन्य दलकै सिकोमा आफूलाई वैकल्पिक भनेर दाबी गरिरहेका छन् तर आमजनताका मुद्दामा उनीहरुको पनि कुनै दिलचस्पी छैन । आमजनताका ससाना कुराहरु उनीहरुका मुद्दा छैनन् । विवेकशीलले प्रयत्न गरेको थियो । साझासँगको साझेदारीसँगै ऊ पनि हरायो ।
कोरानाका कारण दिल्लीमा लामो समय जान सकिएन । केजरीवालको फेसबुक पेज मैले पनि लाइक गरेको थियो । आज पनि केजरीवाल हर अस्पतालमा पुगिरहेका छन् । डाक्टरहरुसँग छलफल गरिरहेको देखिन्छ । हरेक अस्पतालमा कोरानाका बिरानीलाई समस्या परे दिल्ली सरकारलाई सम्पर्क गर्न अनुरोध गरिएका सूचनाहरु टाँसिएका छन् । हामी जाने राजिव गान्धी क्यान्सर हस्पिटलमा पनि त्यस्तो सूचना टाँसिएको थियो । अस्पतालको बाहिर ठूलो बोर्डमा केजरीवाल स्वयं कोरानाविरुद्धको स्वास्थ्य सन्देश लिएर उपस्थित थिए । लकडाउनको अन्त्य गर्दै केजरीवालले कोरानासँगै जिउन सक्नुपर्ने बताएका थिए । पवन दाई भन्नुहुन्थ्यो भारतमा लकडाउन हटाउनेमा केजरीवाल सबैभन्दा अगाडि थिए रे ! पछि अरुले उनकै सिको गरेछन् । हाम्रोमा मजदुर गरिबहरुलाई खाना ख्वाउँदा सरकारी तवरबाट इज्जत गएको कुरा आउँछ तर केजरीवालले लकडाउनको बेला सडकमा लाइन लगाएर खाना बाँडे रे ! त्यतिमात्रै होइन घर खाना लिएर जानेलाई समेत उनले डेक्ची भरेर खाना दिए रे ! यसपालि दिल्ली प्रवेश गर्दा नगर्दै ठूलाठूला होडिङ् बोर्डमा केजरीवालले कोराना विरुद्ध मास्क लगाउने सचेतताका सन्देश दिएको देखिन्थ्यो । हाम्रोमा नेताहरुले यस्ता सन्देश दिन सरकारी प्रवक्तालाई लगाउँछन् । यतिमात्र होइन वातावरणसँग सम्बन्धित नयाँ सन्देश पनि केजरीवालले दिएका रहेछन् । रातो लाइटमा गाडीको चाबी बन्द गर्न उनले अनुरोध गरेको कुरा यसपालि देखे मैले ।
हामी दिल्ली पुग्दै थियौँ । हाम्रो चालकलाई मैले चिनियाँ मास्क दिएको थिएँ । उनले मुख छोपे नाक नछोप्ने नाक छोपे मुख नछोप्ने मास्क लगाएका थिए । कोरानाका विरुद्ध मास्क लगाऊ भन्दै सुनौलीमा मैले उनलाई मास्क दिएको थिएँ तर उनले त्यो मास्क खासै लगाएनन् । दिल्ली प्रवेशका बेला भने उनले त्यो मास्क लगाए । अलिअलि नेपाली बुझ्ने उनले यहाँ कडा कारबाही हुन्छ माक्स लगाउनुपर्छ भन्थे । भारतका अन्य राज्यमा माक्स लगाएको पाइएन तर दिल्लीमा भने माक्सका बारेमा बहुत कडा गरिएको रहेछ । एक प्रहरीले हाम्रो गाडीलाई पनि जबरजस्ती रोके अनि गाडीभित्र सबलाई हेरेर छाडिदिए । कोराना विरुद्ध माक्स ऐलान अहिले केजरीवालले गरिरहेका रहेछन् । हामी पनि त्यही माक्सका भरमा दिल्लीदेखि गाउँसम्म आइपुग्यौँ । हामी त्यहाँ छँदा पाँच सय जरिबाना भन्ने थाहा पाइएको थियो । केजरीवालले त्यसलाई बढाएर दुई हजार बनाएको समाचार केही दिनमा आइहाल्यो । त्यहीकारण होला हरेक मानिसले माक्स लगाएको छ । हाम्रोमा न नेताले नै लगाउन सक्छन् न हामी नै लगाउँछौँ । त्यहीकरण यति सानो र सुन्दर मुलुक, जनसंख्या र जनघनत्व समेत कम भएको मुलुकमा समेत हामीलाई कोरानाले पछ्याइरहेको छ । अझ बागलुङ गुल्मी जस्ता कम जनघनत्व भएका जिल्ला सदरमुकाममा समेत कोराना अनियन्त्रित हुन पुगेको छ । केही मानिसहरु अझै पनि यस्ता छ न उनीहरुको घुमफिर एकदिन रोकियो न कहिल्यै तिनीहरुले माक्स लगाए । ठूला बनी टोपलेर कमजोरहरुलाई दिएको सजायमा उनीहरुले मनोरन्जन गरेका छन् । उनीहरुलाई कारबाही गर्ने हैसियत कसैको भएन ।
म दिल्लीमा भएका बेला मित्र मुकेश राजभण्डारीसँग कुराकानी भयो । उहाँले केजरीवालका बारेमा जिज्ञासा राख्नुभयो । यो लेखाइ राजभण्डारीप्रति नै समर्पित छ । हाम्रोमा जस्तो राजनीतिको अतिचासो दिल्लीजस्तो अति व्यस्त शहरमा त त्यति धेरै हुँदोरहेनछ । त्यहाँका मान्छेहरु राजनीतिक कुरा त्यति धेरै गर्दैनन् । तिनीहरुलाई त्यति धेरै फुर्सदै हुँदोरहेनछ । तापनि केजरीवालका बारेमा कतै न कतै चर्चा भने भयो नै । केजरीवालले ससाना मुद्दाबाट आफ्नो राजनीतिलाई स्थापित गरेको महसुस भयो । उनी हङ्कङ, सिगापुर वा अमेरिकाका कुरा गर्दा रहेनछन् । जनताका दैनिक समस्यासँग उनी जोडिन पुगेका रहेछन् । दुई सय युनिटसम्मको बिजुली पानी निशुल्क गर्नु त्यसैको उदाहरण हो । सवारी साधनको अति चाप भएको दिल्लीमा उनले दुर्घटनाबाट हुने घाइतेहरुको उपचारको कुरा गर्दा रहेछन् । प्रदुषणले पीडित दिल्लीलाई त्राण दिन जनताले गर्न सक्ने कुरा उनले आह्वान गर्दा रहेछन् । रातो बत्तीमा आफ्नो गाडी बन्द गर्न अनुरोध गर्नु त्यसैको उदाहरण हो ।
केजरीवालको सबैभन्दा महत्वपूर्ण मुद्दा भनेको शिक्षा रहेछ । सार्वजनिक शिक्षामा उनले उल्लेख्य परिवर्तन ल्याएका समाचारहरु त्यहाँका मिडियामा आएकै छन् । साथसाथै निजी स्कुललाई पनि उनले आफू सत्तामा आएदेखि शुल्क बढाउन दिएका छैनन् रे ! चुनावको प्रमुख एजेन्डा नै शिक्षा बनेको छ । महिलाहरुका लागि इन्डिया त्यति सहज र सुलभ देश मानिदैन । ठूलाठूला घटनाहरु त दिल्लीमै हुन्छन् । त्यसको सुरक्षाका लागि बसमै सुरक्षाकर्मीको व्यवस्था उनले गरेका रहेछन् । दिल्लीजस्तो सानो राज्यमा पनि दुई करोड जनसंख्या रहेछ । तसर्थ जनघनत्व पनि संसारकै सबैभन्दा बढी होला । त्यस्तोमा अहिले माक्सका आधारमा केजरीवाल कोरानाविरुद्ध लडिरहेका छन् । हर मान्छेलाई माक्स लगाउन बाध्य बनाउनु चानचुन कुरा होइन होला । तसर्थ मेरो अनुभवमा केजरीवाल गरेको कुरा भनेको एकदम सानो, मामुली कुरा हो, जुन प्रत्येक जनताको दैनिकीसँग सरोकार राख्दछन् । तिनै साना कुरामा उनले आफ्ना मुद्दा स्थापित गरेका छन् । शिक्षा, स्वास्थ्य, वातावरण, बिजुली, पानी, यातायात आदिआदिमा सरकार भेटिदो रहेछ । तसर्थ सिक्न टाढा जानुपर्दैन । दिल्लीलाई हेरे पुग्दछ । त्यही समाजवादको प्रयत्न छ । त्यही जनतासँग त्यहाँका मुख्यमन्त्रीको सामिप्यता र तादाम्यता छ । केजरीवालको ऐनामा जनता आफ्नो अनुहार हेर्दा रहेछन् । जय नेपाल !