पहिलो हस्तलिखित पत्रिकाका सम्पादकको सम्झनामा श्रद्धाञ्जली

आदर्श अनलाइन,बागलुङ
धवलागिरिको पहिलो हस्तलिखित पत्रिकाका सम्पादक/प्रकाशक स्वर्गिय ओमकारप्रसाद गौचनको स्मृतिमा शुक्रबार बागलुङमा श्रद्धाञ्जली सभा गरिएको छ ।

नेपाल पत्रकार महासंघ बागलुङ शाखाको आयोजना भएको कार्यक्रमा बोल्ने वक्ताहरुले स्वर्गीय गौचनको तत्कालिन समयको सोच, चेतना र जागरण अभूतपूर्व र सदैव स्मरणीय हुने बताएका थिए ।

गौचनले विक्रम सम्वत २००८ सालमा पहिलो पटक आफु सम्पादक प्रकाशक भएर ‘सही बाटो’ नामक भित्ते पत्रिका प्रकाशन गर्नुभएको थियो । यसबाट नै धौलागिरीको पत्रकारिताको जग बसेको उल्लेख गर्दै अब त्यही जगलाई बलियो बनाउने गरी समयको खरो रुपमा कोलाज बोल्ने र पेशागत जिम्मवारी निर्वाह गर्ने दायित्व अहिलेका पत्रकारहरुको भएको सहभागीको भनाई थियो ।

उनीहरुले पत्रकारितामा बिभिन्न काल खण्डमा योगदान भुमिका खेलेकाहरुबाट पुराना अनुभव लिएर अहिलेको पुस्ताका पत्रकार सञ्चारकर्मीले उर्जाको रुपमा प्रयोग गर्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङका पूर्व अध्यक्ष राजेशचन्द्र राजभण्डारी, सल्लाहकारद्धय कोपिला कंडेल, उमाकान्त शर्मा, पत्रकार महासंघ गण्डकी प्रदेश सदस्य संगम घर्ति मगर, कान्तिपुरकर्मी प्रकाश बरालले स्वर्गिय गौचन प्रति श्रद्धासुमन व्यक्त गर्दै उहाँको सामाजिक जीवन, योगदान र भुमिकाबाट पाठ लिनुपर्ने बताएका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष दिल शिरीषले राणाकालिन समयमा पनि पत्रकारिताको आधार खडा गर्ने स्वर्गीय गौचन सहित बिभिन्न कालखण्डमा भुमिका खेल्नेहरुको संस्थागत दस्तावेजिकरणका लागि ‘पत्रकारितामा धौलागिरी’ नामक पुस्तक प्रकाशन गरिने बताउनुभयो ।

कार्यक्रम शाखा अध्यक्ष शिरीषको अध्यक्षता र सचिव राम थापा अविरलको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *