सोलेडाँडामा सहिद पार्क

डम्मर बुढा मगर, बागलुङ
‘हेर्दा हेर्दा कान्छीले सोलेडाँडा काट्यो मायाले’ लोक गायक खड्क गर्बुजाले गाएको चर्चित गीत नसुनेको सायदै होलान् । गीत जस्तै सोलेडाँडा अहिले चर्चित बन्न थालेको छ ।

बागलुङको तमानखोला गाउँपालिकाको आकर्षक पर्यटकीय गन्तव्यको रुपमा रहेको सोलेडाँडा पछिल्लो समय धेरैको घुम्ने स्थानमा रोजाइमा पर्दै गएको छ । बागलुङको तमानखोला गाउँपालिका र म्याग्दीको मालिका गाउँपालिकाको सिमानामा रहेको सोलेडाँडा अत्यन्तै रमणीय छ ।

२६३० मिटरको उचाइमा अवस्थित सोलेडाँडाको प्राकृतिक सौन्दर्य लोभलाग्दो छ । यो हिमशृखंला र सूर्योदय/सूर्यास्त अवलोकनका लागि उपयुक्त गन्तव्य हो । चैत र वैशाखामा ढकमक्क लालीगुँरास फुल्दा सोलेडाँडाको सौन्दर्य अझ खुल्छ । सडकको सहज पहुँचले पछिल्लो समय त्यहाँ पुग्ने आन्तरिक पर्यटकको संख्या बढ्दो छ । वनभोज, रात्रि ‘क्याम्प’ र पदयात्राका लागि समेत मानिस त्यहाँ पुग्छन् ।

साेलेडाँडा, तमानखाेला

यहाँबाट देखिने हिमश्रृङ्खला र दर्जनौ प्राकृतिक मनोरम दृश्यहरुले धेरैलाई लोभ्याउने गर्छ । उच्च पहाडी क्षेत्रमा रहेको यस डाँडामा स्वच्छ हावापानीसँगै जिवजन्तुको चिरबिर आवाजले झनै मोहित बनाउँछ ।

यहाँबाट बागलुङ र म्याग्दीका विभिन्न गाउँसँगै धौलागिरी, धौलाश्री, माछापुछ्रे, मानापाथी लगायतका दर्जनौँ हिमश्रृंखलाको दृश्यावलोकन गर्न सकिन्छ । अहिले यहाँ म्याग्दी र बागलुङ दुबै तिरबाट दैनिक घुम्न आउने संख्या ठुलो रहेको स्थानीय बताउँछन् ।

सोलडाँडालाई अझ विकास गर्न अहिले पर्यटन पूर्वाधार निर्माणको काम तिव्र पारिएको छ । पछिल्लो समय सोलेडाँडामा बगैँचा सहितको सहिद पार्क, ‘पिकनिक स्पट’ लगायतका पूर्वाधार निर्माण थालेको तमानखोला गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष उदिम बहादुर छन्त्यालले बताउनुभयो ।

‘यस ठाउँमा पहिलेदेखिनै आन्तरिक पर्यटकको चहलपहल हुन्थ्यो, विशेषगरी म्याग्दी र बागलुङका मान्छेहरु घुम्न आउँथे, अहिले बाहिरी जिल्लाबाट पनि पर्यटकहरु आउन थालेका छन्,’ उहाँले भन्नुभयो ‘पूर्वाधार निर्माण गर्न थालेदेखि धेरै आउन थालेका छन्, अझ वनभोज खान बढि आइरहेका छन् ।’

आन्तरिक पर्यटकको उपस्थिति बढ्दै जान थाले तमान गाउँमा होम–स्टे संचालनको समेत तयारी गरिएको छ । ‘अहिले त बस्ने खाने राम्रो व्यवस्था छैन, तर पनि पर्यटकहरु आइराख्नु भएको छ,’ उहाँले भन्नुभयो ‘अझ उहाँहरुको लागि बस्ने खाने आरामदायी ठाउँ हुने हो भने धेरै पर्यटक भित्राउन सकिन्छ भन्ने आशा छ ।’

तमानखोला गाउँपालिकाले सोलेडाँडामा सहिद पार्क समेत निर्माण गरेको छ । जहाँ जहानिया राणा शासनको अन्त्य गर्ने क्रममा सहिद भएका प्रथम सहित लखन थापा, शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्दको शालिक राखिनेछ । यसका साथै तत्कालिन सशस्त्र द्धन्द्धमा राज्य पक्षबाट तमानखोलामा ज्यान गुमाएका स्थानीय दुर्गाबहादुर बुढा, प्रेम घर्ति, ओमकार बुढा र गंगबहादुर पुनको शालिक पनि राखिनेछ ।

तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले अहिले न्यूनतम पूर्वाधार निर्माण तयार भएको र थप निर्माण हुने चरणमा रहेको बताउनुभयो । गाउँपालिकाले हरेक वर्ष बजेट विनियोजन गर्दै पूर्वाधार निर्माण गरिरहेको उहाँको भनाई छ ।

‘अहिले हामीले न्यूनतम पूर्वाधार निर्माण गरिसकेका छौँ, थप योजनासहित अरु पूर्वाधार पनि बन्दै छन्, बिस्तारै बन्ने चरणमा पनि छन्,’ अध्यक्ष बुढा मगरले भन्नुभयो ‘पहिलेको भन्दा केही फरक चाँही भएको छ ।’

‘सहिदको त्याग, समर्पण र बलिदान प्रतिको सम्मान पनि हो, अर्को कुरा यहाँ उद्यान सहित पार्क बनाएर पर्यटन प्रर्वद्धनमा टेवा पु¥याउने उद्धेश्य पनि छ’ उहाँले भन्नुभयो ।’

सोलेडाँडा क्षेत्रमा शौचालय र खानेपानीकाका धारो निर्माण भएको छ । गाउँपालिकाले धारा र शौचालय १० लाखको लागतमा निर्माण गरेको छ । शहिद पार्कका लागि गत वर्ष ५ लाखको काम भएको र यस वर्ष ७ लाख विनियोजन गरेको अध्यक्ष बुढा मगरले बताउनुभयो । सोलेडाँडालाई अब राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा परिचित पर्यटकीय गन्तव्य सँग जोड्न पहल भइरहेको अध्यक्ष बुढाको भनाई छ ।

काठेखोलाका घोडाबाँधेदेखि लिएर ताराखोला, दुरलेक हुँदै सोलेडाँडाबाट ढोरपाटन जोड्ने सम्भाव्यता अध्ययन गरेको उहाँको भनाई छ । ‘सोलेडाँडालाई अन्र्तराष्ट्रिय स्तरमा समेत परिचित पर्यटकिय गन्तव्यसँग जोड्नका लागि सम्भाव्यता अध्ययन भइसकेको छ, गाउँपालिकाले गर्न सक्ने पहल र काम भइरहेको छ,’ उहाँले भन्नुभयो ‘प्रदेश र केन्द्र सरकारले पनि यस तर्फ ध्यान दियो र सहयोग ग¥यो भने घोडाबाँधेदेखि, ताराखोला, दुरलेक हुँदै सोलेडाँडाबाट नौँ डल्ले पहाडबाट ढोरपाटन जोडिने छ ।’

सोलेडाँडालाई आकर्षक गन्तव्यको रुपमा विकास गर्ने र स्थानीयको आयआर्जनमा समेट टेवा पुग्ने उहाँले बताउनुभयो । ‘पूर्वाधार निर्माणसँगै पर्यटकको उपस्थिति बढ्नेछ, यसले यस क्षेत्रका जनतालाई पर्यटनसँग जोडेर उनीहरुको जिविकोपार्जनमा समेत केही परिवर्तन आउने हामीले अपेक्षा लिएका छौँ’ अध्यक्ष बुढा मगरले भन्नुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *