बलात्कार, सरकार र संवेदनहीनता

सम्पादकीय
बलात्कार भनेको जर्बजस्ती वा बलपूर्वक यौन सम्बन्ध स्थापित गर्नु हो । कुनै व्यक्तिलाई उसको सहमति, इच्छा चाहना बिपरित योजनाबद्ध रूपले बलजफ्ती नसालु पदार्थ सेवन गरेर वा गराएर विपरित लिङ्ग प्रति यौनक्रिया गर्दछ भने त्यसलाई बलत्कार मानिन्छ । यसको शिकार बालिकादेखि किशोरी, युवती र महिलाहरु भइरहेका छन् । उसो त पछिल्ला दिनमा पुरुषहरु पनि सामुहिक बलात्कारका घटनामा परेको घटना सार्वजनिक हुन थालेका छन् । बलत्कारलाई सामान्यतः दुई तरिकाबाट हेर्न सकिन्छ । बलजफ्ती नशामा लठ्ठिएर बिना मन्जुरी डर धम्की दिएर विपरीत लिङ्गीसँग यौन सम्पर्क राख्ने बलात्कारको प्रवृत्ति छ भने अर्को पछिल्लो कानुन अनुसार इच्छाविपरीत श्रीमानले श्रीमतिसँग यौन सम्बन्ध राखेको आरोपमा पनि वैवाहिक बलात्कारको उजुरी आउन थालेका छन् । उसो त नेपाली समाजमा ‘मन मिले चमात्कार, नमिले बलात्कार’ भन्ने भनाई पनि चरितार्थ बनिरहेको छ ।

नेपालमा या बागलुङमै पनि पछिल्लो समय बलात्कार र त्यसमा बालिका बलात्कृत भएको घटना थुप्रै छन् । यस्ता बलात्कारका घटना कुनै अमुक समुदायका अज्ञात पात्रबाट होइन, त्यो पनि आफ्नै बुवा, हजुरबुवा, निकट आफन्त अभिभावकहरुबाटै बलात्कार हुने गरेको समाचारले मन अझ बढि उद्धेलित तुल्याउँछ । यसले समाज जति शिक्षित, सचेत र सभ्य बन्दै गए पनि मानिस भित्रको पुरुषवादी चिन्तन, हिंस्रक आपराधिक सोच र प्रवृत्तिहरु अझ फेरिदो शैलीमा समाजमा बिद्यमान छन् भन्ने देखाएको छ । महान्यायाधिवक्ताको कार्यालय र नेपाल प्रहरीको पछिल्लो तथ्यांकलाई हेर्दा पनि यो वर्ष दैनिक आठ बलात्कारका घटना भएका तथ्यांक सार्वजनिक छ । चालू आर्थिक वर्षको तीन महिनामा औसत दैनिक आठ बलात्कार तथा बलात्कार प्रयासका घटना भएका छन् ।

साउनदेखि असोजसम्म सात सय २२ घटना प्रहरीमा दर्ता भएका छन् । आर्थिक वर्ष ०७५/७६ मा बलात्कारपछि हत्याका ११ घटना भएका थिए । यसअघिको आर्थिक वर्ष ०७६/७७ मा दुई र चालू आवमा एक बलात्कारपछि हत्या घटना भएको प्रहरीको तथ्यांक छ । पछिल्लो ७ वर्षको तथ्यांक नियाँल्दा १४ हजार सात सय ५४ महिला बलात्कारको सिकार भएका छन् । त्यसमध्ये ६ हजार तीन सय ६३ त १८ वर्षमुनिका बालिका बलात्कृत भएका छन् ।

बलात्कार आपराधिक कार्य हो । त्यो पनि आफ्नै जन्मदाता बुवा, हजुरबुवाबाट हुने घटनाले हाम्रो समाजको सबै विश्वास, भरोसा, सँस्कारलाई ध्वस्त बनाउँछ । बलत्कार जस्तो जघन्य अपराध गर्नेलाई कुनै पनि बाहनामा कदापि उन्मुक्ति दिनु हुँदैन । यसमा सरकार र यसका निकाय संवेदनशील बन्नुपर्छ । पीडकलाई अपराध कर्म अनुसारको सजाय दिऔ । सामाजिक रुपमा बहिष्कृत गरेर बलात्कारी सोचलाई बर्जित गरौ । पीडितलाई न्यायको प्रत्याभूति र आफ्नै समाजमा हिम्मतका साथ बाँच्ने सहज बातावरण बनाऔ । यसमा यदि सरकार चुक्ने हो भने त्यसले बलात्कारका घटनालाई अझ प्रश्रय मिल्नेछ । यसमा सोचनीय पाटो के पनि छ भने नियतवश बलात्कारको आरोप लगाउने र धन,सम्पतिदेखि अरु स्वार्थ सिद्ध गर्ने प्रवृत्ति पनि पछिल्लो समय डरलाग्दो हिसावले बढेको छ । यसमा निर्दोष फसिने र दोषि जोगिने अवस्था कदापि नआओस् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *