बागलुङमा बढ्यो पर्यटकीय स्थलमा चहलपहल


आदर्श अनलाइन, बागलुङ

कोरोना भाइरस (कोभिड १९) का कारण गत वर्षदेखि संकटमा परेको बागलुङको पर्यटन पुनः जुर्मुराउन थालेको छ ।

बन्दाबन्दीकै समयमा जिल्लामा आधा दर्जन नयाँ पर्यटकीय गन्तव्य पहिचान गरिएको छ । कोरोना र यसका कारण गरिएको बन्दाबन्दीमा घर आसपासमा खुम्चिएका नागरिक अहिले फेरि घुम्न निस्किने प्रचलन बढेको छ ।

पछिल्लो समय गाउँ गाउँमा होम स्टेको विकास, पर्वत–बागलुङ जोड्ने विश्वकै लामो दाबी गरिएको झोलुङ्गे पुल निर्माण हुनु, बुद्ध हिल, सोलेडाँडा, कालिलेक, डुडेलेक, बेलढुंगा, हाँडिकोट जस्ता नयाँ पर्यटकीय गन्तव्यको पहिचान, पूर्वाधार विकास, प्रचार प्रसार र प्रर्वद्धन सँगै पर्यटकको चहल पहल हुन थालेको हो ।

कोरोनाका कारण आवागमन ठप्प प्रायः बनेका बागलुङको भकुण्डे, सर्वसिद्धि धाम पञ्चकोट, प्रसिद्ध बागलुङ कालिका भगवति मन्दिर, शालिग्राम संग्रहालयमा पछिल्लो समय आन्तरिक पर्यटकको आवागमन र चहल पहल बढ्न थालेको होटल व्यवसायी संघ बागलुङका अध्यक्ष निलेश राजभण्डारीले जानकारी दिनुभयो । “कोरोनामा शुन्य भएको पर्यटन क्षेत्रमा केही आशा र उत्साहको परिदृश्य देखिन थालेको छ, नयाँ गन्तव्यको पहिचान, पूर्वाधार विकास, प्रचार प्रसार र प्रर्वद्धन गर्न सके छिट्टै जिल्लामा पर्यटन चहल पहल बढ्नेछ”अध्यक्ष राजभण्डारीले भन्नुभयो ।

दशैंको केही दिन अघि मात्रै बागलुङको पर्यटन प्रर्बद्धनमा लागेका युवाहरु जिल्लाको जैमिनी नगरपालिका स्थित हाँडीकोट टापु पुगेका थिए । घुमन्ते र पर्यटन क्षेत्रमा कलम चलाएका र प्रर्बद्धनमा सक्रिय युवा तथा पत्रकारहरु हाँडिकोट पुगेपछि अहिले हाँडीकोट चर्चामा छ । त्यस क्षेत्रमा अहिले आन्तरिक पर्यटकहरु दैनिकजसो आउने क्रम बढेको स्थानीय तिलक क्षत्रीले बताउनुभयो । सोही समूहका युवाहरु पुनः दशैं पछि नयाँ पदमार्गको पहिचान र प्रर्वद्धन गर्ने उद्धेश्य सहित काठेखोला गाउँपालिकाको वडा नम्बर ३ धम्जा ओखले र म्याग्दीको बेनी नगरपालिका ३ भकिम्लीको सीमानामा अवस्थित बेलढुङ्गाबाट ताराखोलाको डुडेलेक, तमानखोलाको सोलेडाँडा बराह ताल हुँदै ढोरपाटन सम्म एक हप्ताको पैदल यात्रा गरे । जसलाई उनीहरुले मगर सामुदायिक पदमार्ग नामाकरण गरे । यस पदमार्गमा मगर समुदायको अधिक वस्ती, सँस्कार संस्कृति, खानपान, स्वागत सत्कार सबै हिसावले मगर सामुदायिक पदमार्ग नामाकरण गरिएको फोटोग्राफर आरके अदिप्त गिरीले बताउनुभयो । अब लामो सफर गर्न चाहनेहरुलाई यस रुट मार्फत पदयात्रा गर्ने अवसर हुनेछ ।

‘पहिला गृह जिल्ला अनि स्वदेशका चार किल्ला’ भन्ने नारा सहित कारोना कहरकै बीचमा बागलुङको स्थापित र नयाँ सम्भावनाका गन्तव्यमा पुगेर पर्यटन प्रर्बद्धनात्मक अभियान चलाइरहेको पर्यटन अभियन्ता एवम् घुमन्ते टोलीका सदस्य खिम बहादुर क्षेत्रीले बताउनुभयो । “बन्दाबन्दीकै बीचमा बागलुङका नयाँ पुराना पर्यटकीय गन्तव्यमा पुगियो, समाचार, सामाजिक सञ्जाल र युट्युवको माध्यमबाट धेरै प्रचार प्रसार प्रर्बद्धन गरेर यो बीचको समय उपयोग गरियो” क्षत्रीले भन्नुभयो “सामाजिक सञ्जालबाटै युवाहरु बागलुङ जिल्लाका पर्यटकीय गतिविधि प्रति आर्कषित भइरहेका छन्, यसको प्रभावले गर्दा पर्यटकीय गतिविध बढ्दै गएको छ ।”

बन्दाबन्दीकै बीचमा बागलुङ नगरपालिका भित्रै बुद्ध हिलले पनि पहिचान सँगै राम्रै चर्चा पायो । बागलुङ नगरपालिका वडा नम्बर–६ र ७ को सिमानामा पर्ने बैजनीको पाखोमा रहेको बुद्धको आकृति भएको पहाडले पहिचान पाएसंगै अहिले दैनिक १ सयको हाराहारीमा पर्यटक पुग्ने गरेको बागलुङ नगरपालिका–६ का वडा अध्यक्ष खिमराज सापकोटाले बताउनुभयो ।

स्थानीय तहले पर्यटकीय क्षेत्र प्रति चासो देखाउनु, पर्यटकीय क्षेत्र भ्रमणमा युवा पुस्ताको आर्कषण तथा बढ्दो सामाजिक सञ्जालको प्रयोगले पर्यटन क्षेत्रको प्रर्बद्धनमा सहज भएको धौलागिरी पर्यटन प्रर्वद्धन विकास समितिका अध्यक्ष खिमानन्द कंडेलले जानकारी दिनुभयो । उहाँले ताराखोला गाउँपालिका, गलकोट नगरपालिका र काठेखोला गाउँपालिकाको संगम स्थलका रुपमा रहेको कालिलेक, पाण्डवखानीको पञ्चधारा जस्ता नयाँ स्थानहरुको समय कोरोना कहरका बीचनै बाहिर आएको बताउनुभयो ।

विश्वकै लामो दाबी गरिएको बागलुङ नगरपालिका–१ रामरेखा र पर्वतको पाङ अदुवाबारी जोड्ने पुल अवलोकनका लागि बाहिरी जिल्लाबाट समेत पर्यटक आइरहेका छन् । सरकारले लामो समयदेखि मठ मन्दिर, धार्मिक गतिविधिमा रोक लगाए पनि पछिल्लो समय कालिका मन्दिर दर्शनमा आएका भक्तजनलाई सामाजिक दुरी कायम गरी दर्शन गर्ने व्यवस्था मिलाएको बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितका अध्यक्ष राजु खड्काले बताउनुभयो । “दर्शन गर्न आएकालाई फर्काउन पनि समस्या भयो, पर्यटकीय क्षेत्रमा चहल पहल शुरु भइसके पछि कालिका मनिदर दर्शन गर्न आउनेको संख्यामा समेत विस्तारै वृद्धि भएको छ” बागलुङ पर्यटन विकास समितिका अध्यक्ष समेत रहनुभएका खड्काले भन्नुभयो “कोरोनाले खुम्चाएको पर्यटन क्षेत्रमा पछिल्लो समय आन्तरिक पर्यटकको चहल पहल भइरहेको छ ।”

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *