सन्दर्भ विश्व एड्स दिवस : खुल्दै बागलुङका एचआइभी संक्रमित


आदर्श अनलाइन, बागलुङ

कुनै समय डर र लाजका कारण समाजमा खुल्न नसकेका बागलुङका एचआइभी एड्स सङ्क्रमितहरु पछिल्लो समय खुल्न थालेका छन् ।

धौलागिरी अस्पतालको एआरटी (एन्टी रेक्टो ट्रिटमेन्ट) सेन्टर र यसका क्षेत्रमा काम गर्दै आाएका गैरसरकारी संंस्था सँगको प्रभावकारी समन्वयमा बागलुङमा रहेका एचआइभी सङ्क्रमित खुल्न थालेका हुन् ।

धौलागिरी अञ्चल अस्पताल बागलुङमा २०६३ सालमा स्थापना भएको एआरटी सेन्टरले एचआइभी एड्स भए नभएको पहिचान गर्ने, सङ्क्रमितलाई परामर्श, परीक्षण तथा नियमित रुपमा औषधी उपचार र संक्रमितको गोपनियतिलाई कायम राखेका कारण सङ्क्रमित खुल्ने दर बढेको हो । एआरटी सेन्टरमा अहिले खुलेर आएका संक्रमित संख्या ४ सय ७ पुगेका छन् । जसमध्ये १६४ जनाले बागलुङ सेन्टरबाट नियमित औषधी उपचार गाईराखेका छन् भने अन्यले कुस्मा, म्याग्दीबाट सेवा लिइरहेको छन् । बाँकी सक्रमित परामर्शका लागि आइराखेका हुन्छन् ।

एचआइभी सङ्क्रमित पनि अरु मानिस सरह बाँच्न सक्छन् भन्ने उद्देश्यका साथ एआरटी सेन्टरले एचआइभी एड्स प्रभावित गाउँ–गाउँमा पुगेर नमुना संकलन गरी गोप्य रुपमा उपचार तथा परामर्श दिन थाले पछि सङ्क्रमित खुल्न थालेको धौलागिरी अस्पतालमा सञ्चालित एआरटी सेन्टरका प्रमुख परामर्शदाता प्रदिप आचार्यले बताउनुभयो । “सेन्टरले सङ्क्रमित आमाहरुबाट जन्मेका बालबालिकालाई अस्थायी रुपमा पोषण गृहमा समेत राखेर स्यारसुसार गर्दै आइरहेकोे छ,” आचार्यले भन्नुभयो “सङ्क्रमित भएकी भन्ने लागेमा निर्धक्क भएर परीक्षणमा आउन सक्नुहुनेछ, हामीले गोप्य रुपमा औषधी उपचार र परामर्श दिनेछौ ।”

धौलागिरी अस्पतालमै रहेको एआरटी सेन्टरलाई धौलागिरी पोजेटिभ समूह र एड्स हेल्थ केयर फाउण्डेशन तथा स्थानीय तहले सहयोग गर्दै आएका छन् । एचआईभी सङ्क्रमितलाई उचित परामर्श, नियमित औषधी उपचार, बाटो खर्च र पोषण लगाएतका सेवा सुविधा उपलव्ध गराउदै आएको एड्स हेल्थ केयर फाउण्डेशनका प्रतिनिधि सुस्मा क्षेत्रीले जानकारी दिनुभयो । पहिले पहिले एचआइभी एड्स भने पछि डराउने, खुल्न हिच्किचाउने प्रवृत्ति अधिक रहे पनि अहिले त्यसमा उल्लेख्य परिवर्तन आएको क्षेत्रीको भनाई छ ।

सेन्टरको तथ्याङक अनुसार, पछिल्ला वर्षमा क्रमशः सक्रमितको संख्या बढ्दो छ । वर्षमा २० देखि २५ जनाको संख्यामा संक्रमितको संख्या थपिदै जानुले संक्रमितहरु विस्तारै खुल्दै आउन थालेको पाइएको धौलागिरी अस्पताल बागलुङका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा.रविनबाबु पौडेलले बताउनुभयो । जिल्लामा हाल सम्म ६४ जना संक्रमितहरुको मृत्य भईसकेको छ । नेपालभरमा कुल संक्रमितको संख्या ३१ हजार २० छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *